व्यक्ति एक: नागरिकता दुई देशको, दोहोरो सेवासुविधा 

जनकपुरधाम । धनुषाको एकजनाले दोहोरो नागरिकता लिएको खुलेको छ । नेपालको नेपाली नागरिक रहेको उनले भारतीय नागरिकता समेत लिएको खुलेको हो ।

धनुषाको औरही गाउँपालिकाकी रोजिया कुमारी कवारीले नेपाली र भारतीय दुवै नागरिकता लिई दोहोरो सेवासुविधा लिइरहेको देखिएको छ । औरही गाउँपालिका वडा नं. १ झिटकहियाकी हदिश कवारीकी छोरी कवारीले भारतीय र नेपाली दुवै नागरिकता प्रयोग गरिरहेको भेटिएको हो ।

कवारीले २०४४ पुष ९ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट वंशज अविवाहित नागरिकता लिएको अभिलेख छ । जिल्ला प्रशासन कार्यालय धनुषाबाट उनले प्राप्त गरेको नागरिकताको नम्बर ७११२२४७२ रहेको छ । पछि उनको विवाह भारतमा भयो । उनको विवाह भारतको मधुवनी जिल्ला हरलाखी प्रखण्डका महिद मियाँसँग भएको थियो । विवाहको केही वर्षपछि उनको पति महिदको मृत्यु भयो । २०४४ मा अविवाहित नागरिकता बनाएकी उनले २०४६ मा पतिको मृत्यु भएको भनि माइती पालिकामा मृत्यु दर्ता गरिन ।

नेपालमा रोजिया कुमारी कवारी नामले नागरिकता लिएकी उनले भारतमा रोजिया खातुन नामले आधार कार्ड र मतादाता परिचय पत्र समेत प्राप्त गरिसकेका छन् । भारतमा उनले प्राप्त गरेको मतदाता परिचय पत्रको क्रम संख्या १९६ तथा परिचय पत्र नम्बर ३१-८०-१९७ BR-१३-०७५-०००२६३ रहेको छ । भारतीय अभिलेख अनुसार उनले भारतमा पञ्चायत आम निर्वाचन २०१६ मा मत समेत खसालेको देखिएको छ ।

२०४४ मा अविवाहित नागरिकता बनाएकी कवारीले २०४६ जेठ ४ मा पतिको मृत्यु भएको भनि २०६३ फागुन १७ मा माइतीमा मृत्यु दर्ता गराएको देखिन्छ । तत्पश्चात् औरही गाउँपालिका वडा नं. १ को कार्यालयबाट २०७५ फागुनमा मृत्यु दर्ताको प्रतिलिपि लिई कवारीले २०७६ साउन १ देखि सामाजिक सुरक्षा भत्ता अन्तर्गत विधवा भत्ता प्राप्त गरिरहेकी अभिलेखबाट देखिएको छ ।

औरही गाउँपालिकाबाट भारतीय पतिको बनाइएको मृत्यु दर्तामा नागरिकता प्रमाण पत्र थाहा नभएको उल्लेख छ भने पतिको बुवाको नाम बतहु कवारी तथा हजुरबुवाको नाम थाहा नभएको उल्लेख छ । दर्ता नं. २९ रहेको मृत्यु दर्ता प्रमाण पत्र २०६३ फागुन १७ मा तत्कालीन गाविस सचिव शशिकान्त ठाकुरले उपलब्ध गराएका छन् भने २०७५ फागुनमा औरही गाउँपालिका वडा नं. १ का वडा सचिव देवेन्द्र रायले जारी गरेका छन् ।

एक छोरा र एक छोरी रहेकी कवारीले छोराछोरी दुबैलाई नक्कली बुवा खडा गरी नेपाली नागरिकता दिलाएकी छिन् । स्थानीयहरूका अनुसार कवारीले आफ्ना भाइलाई छोराछोरीको बुवा बनाई नागरिकता दिलाउन सफल भएकी छिन् । कवारीले किर्ते गरी नेपाली नागरिकता लिई दोहोरो नागरिकता लिएकोले कानुन अनुसार कारबाही हुनुपर्ने स्थानीयहरूले माग गरेका छन् ।

वडाध्यक्ष अशेश्वर यादव र पालिकाको सामाजिक सुरक्षा शाखा हेर्ने पञ्जिकाधिकारी मकेश्वर यादवको मिलोमतोमा कवारी परिवारले दोहोरो सेवासुविधा प्राप्त गरिरहेको बुझिएको छ । उनीहरूले अभिलेख नभिडाई आर्थिक चलखेलमा लागि उनीहरूलाई सम्पूर्ण सेवासुविधा प्रदान गरिरहेको स्थानीयहरूको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *