भारत र पाकिस्तानसँग खेल्नु हाम्रो लागि खुसीको पर्व : क्रिकेटर सन्दीप लामिछाने

काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गरेका छन् । सोमबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तान प्रस्थान गरेका हुन् ।

उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए । सो क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एसिया कपमा सम्पूर्ण नेपालीहरूको भरोसा क्रिकेटर लामिछानेमाथि रहेको बताए । उनले सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रूपमा बलियो बनेको बताए । सिंगो देशले गरेको भरोसा सन्दीपबाट पूरा हुने उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘पाकिस्तानसँग, भारतसँग नेपाली क्रिकेट टिमले खेल्दैछ । त्यहाँ सन्दीपको उपस्थिति देशले महत्त्वपूर्ण रूपमा लिइरहेको छ । त्यसैले पनि केही प्राविधिक विषयवस्तुहरूसँग जोडिएर उहाँ टिमसँग जान सक्नुभएको थिएन । आज सिंगो देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ, त्यो भरोसा सन्दीपबाट पूरा हुनेछ । सन्दीपको इन्ट्रीसँगै टिमले पूर्णता पाएको छ ।’

पाकिस्तान उड्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै क्रिकेटर लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए । उनले एसिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिबद्धता जनाए । पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुसीको पर्व भएको उनको भनाई छ ।

उनले भने, ‘टिमले अहिले राम्रो पर्फमेन्स गरिरहेको छ । पाकिस्तानमा पनि अभ्यास गेम खेलेको थियो । म फिट छु, खेल्नका लागि रेडी छु । एसिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ । यो हाम्रो लागि खुसीको पर्व जस्तै हो । किनभने सधैँ यस्ता टिमसँग खेल्न पाउँदैनौँ । अब निरन्तर कसरी खेल्ने भन्नेबारेमा छलफल गर्नुपर्छ ।’

क्रिकेटर लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भरतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने बताए । नेपालले एसिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *