मकालु रिभ्यु

निरङ्कुश सैन्य शासकलाई मृत्युदण्ड दिलाएका वकिलको कथा भन्ने सिनेमा

के कुनै समयमा गरेको अमानवीय अत्याचारलाई दबाएर राख्न सकिन्छ ?

यो फिल्मले त्यसको जवाफ दिँदै भन्छ ‘सकिन्न ।’

किन सकिन्न भने त्यो अमानवीय व्यवहारले कुनै मान्छेलाई चोट पुर्‍याएको हुन्छ । कुनै मान्छेले आफूलाई पुगेको चोट बिर्सँदैन । वा त्यो व्यवहारले कुनै व्यवस्थालाई चोट पुर्‍याएको हुन्छ । आफूलाई पुर्‍याएको चोट कुनै पनि व्यवस्थाले बिर्सिँदैन । 

यो फिल्ममा एक व्यवस्था र मान्छे दुबैलाई चोट पुगेको छ । व्यवस्था अर्थात् प्रजातन्त्र । मान्छे अर्थात् अर्जेन्टिनाका जनता । 

फिल्मको प्रसङ्ग अर्जेन्टिनाको हो । 

सन् १९७६ देखि १९८३ सम्म अर्जेन्टिनामा निरङ्कुश सैन्य शासन थियो । सन् १९८३ मा पहिलोपल्ट प्रजातन्त्रले जित्यो । आफू बाँच्न पाएपछि प्रजातन्त्रले आफूलाई दबाएर पहिलाको शासनले गरेका अमानवीय व्यवहार बिर्सिएन । बरु ती सबैको विरुद्ध मुद्दा हाल्यो । 

फिल्ममा सरकारी पक्षबाट मुद्दा लड्ने जिम्मा वकिल हुलियो सिसर स्ट्रासेरालाई दिइएको छ । उनले त्यो केस लिनु साधारण कुरा थिएन । उनी त्यस्तो पक्षसँग लड्दै थिए जसले लगभग एक दशक निरङ्कुश शासन चलाएका थिए । अनि त्यस्तो केस विरुद्ध लड्दै थिए जसलाई सैन्य अदालतले कुनै सजाय दिन इन्कार गरेको थियो । 

अनि अवस्था यस्तो थियो कि उनको पक्षमा लड्ने गरी टिममा आउन कोही पनि वकिल तयार थिएनन् । 

फिल्ममा एउटा दृश्य छ जहाँ उनी र उनको पक्षमा भएका एक जना प्रोफेसर आफ्नो पक्षमा लड्ने को को हुन सक्छन् भनेर कुरा गरिरहेका हुन्छन् । कुरा गर्दै गर्दा थाहा हुन्छ उनीहरूको वरपर कोही पनि हुँदैनन् । सबै कुनै न कुनै रूपमा सैन्य शासकहरूको गुलाम गरिसकेका मान्छे हुन्छन् । 

यसरी हेर्दा एउटा बिग्रिएको व्यवस्थाले राज्यको प्रणालीलाई कुन हदसम्म बिगारेको हुन्छ भन्ने पनि फिल्मले देखाउँछ । अनि सँगै साधारण मानिसको पक्षमा बोल्ने मुद्दाको पक्षमा बोल्न कति कम मान्छे हुन्छन् पनि देखाउँछ । 

उनको परिवार हुन्छ । सानो छोरा पनि हुन्छ । त्यो मुद्दा उनले जितिहाले पनि हुनसक्ने सम्भावित खतरा टरिपनि हाल्दैन । उनलाई धेरै मार्ने धम्कीहरू पनि आइरहेका थिए । तर पनि उनी रोकिँदैनन् ।

जुनसुकै क्षेत्रको होस् एउटा इमानदार मान्छे यदि आफ्नो पेसागत निष्ठामा अडिग रह्यो भने उसले जस्तोसुकै लडाई पनि पार लगाउन सक्छ भन्ने पनि यो फिल्मले देखाउँछ ।  

कुनै पनि वकिल नपाएपछि उनीहरू भर्खरै कानुन पढिसिद्ध्याएका अनि धेरै कामको अनुभव नभएकाहरूलाई नै लिएर टिम बनाउँछन् । उनीहरू आफ्नो पढाइको क्रममा कति धेरै सरकारी कार्यालयहरूमा काम गरिसकेका हुन्छन् । उनीहरू पुरै देश भरी छरिएर सैन्य शासकका क्रूरताका विरुद्ध प्रमाण जुटाउन थाल्छन् । पहिला बोल्न नमानेका मान्छेहरू पनि बोल्न थाल्छन् । उनीहरूको आवाजले मान्छेहरूलाई पनि आवाज दिन थाल्छ । 

फिल्ममा केही दृश्य छन् जहाँ पहिला बोल्न नमानेकाहरू बोल्छन् । उनीहरू पहिला किन बोल्न नमानेका थिए भन्ने कुरा उनीहरू बोलेपछि थाहा हुन्छ । उनीहरूलाई त्यसभन्दा अगाडि राम्रोसँग सुनिएको थिएन । उनीहरूले जे भोगे त्यो अन्यायपूर्ण थियो भन्ने कोणबाट कसैले सोचिदिएको थिएन । 

फिल्मले यी सबै दृश्यमार्फत भन्छ यदि मानिसहरूले पाएका दुःखलाई मनन गरेर उनीहरूलाई सुनिएको छ ह है भन्ने महसुस पार्ने हो भने धेरै वटा मुद्दाहरूले मानिसको पक्षमा फैसला सुन्न सक्छ । धेरै मुद्दाहरू प्रमाण नपाएर कमजोर हुन्छन् किनकि त्यसका प्रमाणहरू आफ्नो कुरा खेर नजाओस् भन्ने चाहन्छन् । 

अनि सँगै फिल्मको एउटा संवादमा वकिल भन्छन् ‘यदि सिनियरले मानेनन् भने जुनियरले गर्छन् ।’ यो संवादले नयाँ पीढीको न्यायप्रतिको सचेतनालाई पनि प्रतिबिम्बित गरेको छ । 

मुद्दाको बहस हुने दिन पनि अदालतमा बम छ भन्ने हल्ला पनि फैलाइन्छ । तर वकिल न्यायाधिसलाई नडराउन मनाउँछन् । त्यो क्षणलाई क्यामेरामा रेकर्ड गरिन्छ । विश्वभर देखाइन्छ पनि । पीडितहरूले बोलेको कुरालाई संसारले देख्न पाउँछ । त्यसपछिको दृश्यमा वकिललाई अर्जेन्टिनाका राष्ट्रपतिले बोलाउँछन् । उनीहरूको भोगाइले आफूलाई छोएको बताउँछन् ।

फिल्मको सबैभन्दा महत्त्वपूर्ण क्षण तब आउँछ जब उनी आफ्नो मुद्दाको क्लोजिङ रिमार्क दिन्छन् । उनी त्यस बेला भन्छन् कि यो केस केही सैन्य अधिकारीका विरुद्ध मात्र हैन । यो त्यो सबै व्यवस्थाका विरुद्ध हो जसले मान्छेलाई क्षति पुर्‍याउँछ । मानिसको आधारभूत अधिकारलाई कुण्ठित गर्छ । 

उनले त्यस बेला ‘फेरी यस्तो नहोस्’ भनेको कुरा महत्त्वपूर्ण छ । त्यो कुरा केवल त्यो केश वा अर्जेन्टिना वा दक्षिण अमेरिकामा मात्र सान्दर्भिक नभएर संसारभर नै छ । संसारमा धेरैतिर आज पनि निरङ्कुशता छ । त्यसले अधिकांश स्थानमा मान्छेलाई मान्छे गनेको छैन । फरक मत राख्नेलाई कि त मारिरहेको छ । कि त देश छोडेर भाग्ने बनाएको छ । त्यसले साधारण मान्छेको कुरालाई सुनेको छैन । साधारण मान्छे भएर उनीहरूको पीडालाई महसुस गरेको छैन । 

त्यो व्यवस्था आफ्नो सानो घेराको नजिक छ । त्यो घेराभन्दा बाहिरको सत्यलाई उसले सत्य नै मानेको छैन । 

यो फिल्मका वकिलले मुद्दा जित्छन् । अमानवीय व्यवहार गर्ने सैन्य अधिकारीहरूलाई मृत्युदण्ड दिइन्छ ।

कुनै समयमा आफूले गरेको अत्याचारले उनीहरूको पनि जीवन लिन्छ । 

नेपालमा पनि सङ्क्रमणकालीन न्यायका कति धेरै काम बाँकी छन् । उ बेला अमानवीय कामहरू गरेकाहरू आज पनि धेरैतिर घुमिरहेका होलान् । उ बेला कसैलाई जानीजानी पीडा दिएकाहरू आज पनि पीडितहरूकै अगाडि हाँसिरहेका होलान् । उनीहरूलाई पनि यो फिल्ममा सैन्य अधिकारीलाई मृत्युदण्ड दिएजस्तै गर्नुपर्छ भनेको हैन तर कम्तीमा तीनलाई नेपालको प्रचलित कानुन अनुसार सजायको भागिदार भने बनाउनुपर्छ । 

आफूले जे गर्दा पनि बचिने रहेछ भन्ने कुरा थाहा हुनु भनेको निरङ्कुश व्यक्तिको लागि स्वर्ग हुनु हो । त्यस्ता व्यक्तिले स्वर्ग पाउँदा देशमा भएका साधारण मान्छेहरू नर्कमा नै बसिरहनुपर्छ । यसले देशलाई पक्कै पनि फाइदा गर्दैन ।

के कुनै समयमा गरेको अमानवीय अत्याचारलाई दबाएर राख्न सकिन्छ ?

यो फिल्मले मृत्युदण्ड पाएका सैन्य अधिकारीहरूको कथा मार्फत त्यसको जवाफ दिँदै भन्छ, 

‘सकिन्न ।’

ट्रेलर हेर्ने लिंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *