नेकपा एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो बैठक

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि सुरू हुने भएको छ।

न्युज एजेन्सी नेपालका अनुसार शनिबार काठमाडौ‌ंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो।

त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ।

दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेण्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्वपूर्ण निर्णय गर्ने पनि उनले बताए।

‘हामी पोलिटब्युरो बैठक भोलिदेखि सुरू गरिरहेका छौं। यसका एजेण्डाहरू हामीले पहिले नै तय गरेर पठाइसकेका छौं। भोलि र पर्सीको पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार नै हाम्रो मुख्य विषय बनेको छ,’ उनले भने।

यस्तै आइतबार बेलुकी ६ बजे समाजवादी मोर्चाको बैठक पनि बस्ने उनले बताए।

नेकपा एकृकीत समाजवादी आगामी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। सम्मानित नेता झलनाथ खनालले नेतृत्वका लागि आफ्नो दाबी हुने-नहुने भन्ने कुरा महाधिवेशन हलले नै तय गर्ने उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =