एमालेले सत्तामा आउन सदन अवरोध गर्‍यो : अर्थमन्त्री डा. महत 

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री प्रकाशशरण महतले नेकपा एमालेले सदनलाई बन्धक बनाएकोमा आपत्ति जनाएका छन् । जनकपुरधाममा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सदन छलफल र बहस गरेर समस्या समाधान गर्ने थलो हो । धेरै ऐनहरु बनाउनु छ । संघीय कानून नबनेर समस्या आइरहेको छ । तर एमालेले सदनमा छलफल नै हुन दिएन ।’

एमालेले राजीनामा मागेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘सरकार बन्ने बनाउने कुरा संसद्को सर्वाधिकार हो । सरकार बाहिर बस्नै नसक्ने मनस्थितिमा पुग्नु ठिक होइन । जनताले म्यान्डेड अनुसार सरकार चल्न दिनुपर्छ ।’

कांग्रेस प्रतिपक्षमा रहँदा कहिल्यै बहाना बनाएर सदन अवरुद्ध नगरेको दाबी गर्दै मन्त्री महतले सदनमै छलफल र बहस गरेर कुनै पनि समस्या समाधान गर्न सकिने कुरामा विश्वास गर्नुपर्ने बताए ।

उनले कोशी–मरिन डाइभर्सन गरेर मधेशलाई समृद्ध गर्नेतर्फ लागेको बताए । उनले तराई मधेशका हरेक क्षेत्रमा पानी पुग्यो भने एकसय गुणा उत्पादन बढ्ने विश्वास व्यक्त गरे । उनले भने– मधेशका जनताको समस्यामा सरकार गम्भीर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *