बीमा दाबी गर्न आफ्नै टिपरमा आगजनि, तीन जना पक्राउ

बीमा रकम लिनका लागि आफ्नै टिपरमा आगो लगाएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा टिपर धनी रामेछापको मन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने प्रदीपकुमार खत्री टिकाथली बस्ने भीमसेन खत्री र सिन्धुलीका घर भई टिकाथली नै बस्ने रंगबहादुर बुढाक्षेत्री रहेको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ।
प्रदीपकुमार खत्रीले मासिक किस्ता तिर्ने गरी १३ लाख रुपैयाँमा १३ महिनाअघि किनेको बा ३ ख २८९४ नम्बरको टिपरमा आफैं आगजनी गरेको प्रहरीको आरोप छ।
टिपर ४ महिनाअघि ठेचोस्थित नख्खुखोला करिडोरमा बिग्रिएको थियो ।
टिपर बनाउन धेरै पैसा लाग्ने भएपछि प्रदीपकुमारकै योजनामा साउन १२ गते राति भीमसेन र रंगबहादुरले पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
त्यसको भोलिपल्ट उनीहरु आफैंले टिपरमा आगोलगाउनेलाई खोजी गरी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका थिए। तर पछि अनुसन्धान गर्दै जाँदा घटनामा उनीहरुकै संलग्नता देखिएको प्रहरीको भनाई छ।
पक्राउ परेका ३ जनालाई अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले ७ दिनको म्याद दिएको छ।








