गौर हत्याकाण्डको छानबिन नगर्ने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनले गौर हत्याकाण्डको छानबिन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ शीर्ष नेताहरूको बैठकले गौर हत्याकाण्डबारे छानबिन नगर्ने निर्णय गरेको हो।
गौर हत्याकाण्डका पीडितले १० लाख रुपैयाँका दरले राहत पाइसकेको र मृतकलाई शहिद घोषणा गर्ने प्रक्रियामा रहेकाले अब छानविन नगर्ने निर्णय गरेको हो।
बैठकपछि जानकारी दिँदै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘गौर हत्याकाण्डाको बारेमा पनि कुरा उठेको छ। जसपाका साथीहरूले गठबन्धनमा यस्तै रहँदै जाने हो भने सरकारमा रहने नरहने शंकास्पद कुरा व्यक्त गरेको देखिन्छ।’
उनले भने, ‘गौर हत्याकाण्डमा चारवटा प्रतिवेदनका फरक(फरक रिजल्ट छन्। मानव अधिकारले एउटा भनेको छ अरुले अर्कै भनेको छ। मारिएका परिवारले राहत १० लाखका दरले पाइसकेका छन्। राज्यबाट पाउनुपर्ने राहत पाइसकेका छन्। यसलाई कानुनसम्बत ढंगले अगाडि बढाउने कुरा भएको छ।’
उनले गौर हत्याकाण्डमा मारिएका केहीलाई शहिद घोषणा गरिसकेको र केही हुने क्रममा रहेको बताए।








