टाउको खोलामा, शरीर जङ्गलमा भेटिएका व्यक्ति भारतीय नागरिक रहेको खुल्यो

काठमाडौँ । हत्या गरी फालिएको अवस्थामा भेटिएको युवाको पहिचान भएको छ । खोलामा टाउको र जङ्गलमा शरीर शनिवार भेटिएपछि उनको पहिचान भएको हो ।

शुक्रबारमात्रै परिवार आएर सनाखत गरेपछि मृतक भारतको सितामाढी मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राज रहेको प्रहरीले जनाएको छ । अभिषेकको टाउको काटिएको शरीर शनिबार साँझ लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौरदेखि पूर्वतर्फको जङ्गलमा फेला परेको हो ।

टाउको भने दुई दिनअघि सर्लाहीको लखन्देही पुलमुनि फेला परेको थियो । बिहीबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–४, सासापुरस्थित लखदेन्ही पुलमुनि युवकको काटिएको टाउको फेला परे पनि पहिचान खुल्न सकेको थिएन । राजमार्ग छेउमै फालिएको अवस्थामा युवकको सड्न लागिसकेको शरीर फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

एसपी सुवेदीले युवकको आपराधिक गिरोहबाट हत्या भएको हुन सक्ने बताए । ‘खोलामा टाउको र जङ्गलमा शरीर ल्याएर फालेको देख्दा युवकको पेशेवर व्यक्तिहरूबाट हत्या भएको जस्तो देखिन्छ,’ एसपी सुवेदीले भने, ‘हामी घटनाको सम्बन्धमा सूक्ष्म ढङ्गबाट अनुसन्धानमा जुटेको छौँ ।’ ।

परिवारका अनुसार अभिषेक अन्य साथीसँगै घुम्न भन्दै साउन २० गते सिता मढीबाट सर्लाहीतर्फ आएका थिए । सँगै घुम्न आएका उहाँका साथीहरू अहिले सम्पर्कविहीन छन् । उनीहरूको भारतीय प्रहरीसँग समन्वय गरी खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *