माओवादी बैठकमा सुनकाण्डको चर्चा : कुन नेताले के भने ?

नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी केन्द्रीय कमिटी बैठकमा नेताहरूको आचरण, जीवनशैली र क्रियाकलामाथि केन्द्रीय सदस्यहरूले गम्भीर प्रश्न उठाएका छन् । उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिव वर्षमान पुन लगायत नेताहरूले अनुसन्धान प्रक्रियामा सघाउन उनीहरूले सुझाव दिएका हुन् ।
शुक्रबार बैठकमा बोल्दै केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफू संलग्न रहेको छैन भनी विज्ञप्ति जारी गरेर नहुने जिकिर गर्दै सीआईबी निवेदन दिनुपर्ने बताएका थिए ।
‘सुनकाण्डमा महरा लगायतका नेताहरूको नाम जोडिएका छन् । उहाँहरूले अब म निर्दोष छु भनेर पन्छिन पाउनुहुन्न । कम्तीमा उहाँले मलाई अनुसन्धानको घेरामा तानियो र ममाथि छानबिन होस् भनेर निवेदन दिनुपर्छ । उहाँहरूले म निर्दोष छु भनेर हुँदैन, निर्दोष हो वा होइन अनुसन्धान गर्ने निकायले भन्दिनु पर्छ । निर्दोष भए सफाइ पाउनुपर्छ, नभए दण्डित हुनुपर्छ । यो बोझ पार्टीले बोक्न सक्दैन,’ दाहाले केन्द्रीय समिति बैठकमा भने ।
पार्टीले नेताहरूलाई माफिया, तस्करीसँग सम्बन्धन राख्न नभई जनताको राम्रो काम गर्न पठाएको उनको भनाइ थियो ।
यसै गरी केन्द्रीय सदस्य हिमाल शर्मा, माधव सापकोटा, सरल सहयात्री पौडेल लगायत केन्द्रीय सदस्यहरूले नेताहरूको आचरण ठिक नहुँदा पार्टी निरन्तर बदनाम र कमजोर हुँदै गएको आरोप लगाए । शनिबार बैठकमा बोल्दै पौडेलले विचारलाई केन्द्रीकरण गर्ने र विधिलाई व्यवस्थित नगरेसम्म पार्टी रूपान्तरण नहुने जिकिर गरे । पार्टी रूपान्तरणका लागि पहिला नेतृत्व रूपान्तरण हुन जरुरी रहेको धारणा राखे ।
‘नेताहरूले विधि र प्रक्रिया मात्र भनेर हुँदैन, त्यसअनुसार व्यवहारमा लागु हुनुपर्छ । नेतृत्व रूपान्तरण ठिक नभएसम्म पार्टी रूपान्तरण हुन सक्दैन । मङ्सिरमा विधान सम्मेलन गरी यी सबै विषयको हल खोजिनुपर्छ’, उनले भने ।
केन्द्रीय सदस्य सापकोटाले बैठकमा सुशासनको सम्बन्धमा गम्भीर छलफल भइरहेको बताए । नेताहरूको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरूमाथि पनि प्रश्न उठेको उनको भनाइ छ । अनुसन्धानको दायरामा ल्याउनुपर्ने गरी अहिलेसम्म कुनै उजुरी नआएको उनले बताए । यद्यपि सो प्रकरणमा संलग्न भएको प्रमाणित भएमा जोसुकै भए पनि कारबाही गर्ने प्रधानमन्त्रीले बचन दिएको उनको भनाइ छ ।
अहिलेसम्म हाम्रा कुनै नेताविरूद्ध पक्राउ पुर्जी जारी भएको छैन । मिडियाले समाचार बनाएको भरमा पक्राउ गर्ने कुरा भएन । प्रधानमन्त्रीज्यूले यो प्रकरणमा संलग्न रहेका प्रमाणित भए जोसुकै भए पनि छोड्दिन भनिसक्नुभएको छ । क्विन्टल सुन प्रकरणमा छानबिनको लागि सरकारलाई सबैले सहयोग गर्नुपर्छ ।
अर्का केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बाहिर चर्चामा आएजस्तै माओवादी नेताहरू संलग्न भएको पुष्टि भए कसैलाई नछाड्ने भनाइ राखे ।
‘सुन प्रकरणमा ज–जसको नाम बाहिर आएको छ, उनीहरूमाथि छानबिन होस् । सत्य तथ्य सरकारले बाहिर ल्याउनुपर्छ’, उनले भने, ‘हाम्रै पार्टीका नेता नेता तथा कार्यकर्ता भए पनि छाड्नुहुन्न । अपराध कर्म गर्नेलाई सजाय हुनुपर्छ । नेता बचाउने कि पार्टी बचाउने भन्ने कुरा अहम् सवाल बनेको छ ।’
यसै गरी केन्द्रीय सदस्य नारायणी शर्माले सरकारले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दा पार्टी भित्रकै मान्छे परे पनि छोड्नु नहुने बताए । उनले उपाध्यक्ष महराको सम्बन्धमा प्रश्न उठेको भन्दै सम्बन्धित निकायले आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेकोमा विश्वास व्यक्त गरे । सबुत, प्रमाण फेला परेका कसैलाई पनि सरकारले नबचाउने उनको भनाइ छ ।
‘भ्रष्टाचारलाई खतम गरी सुशासनको स्थापना गर्नको निम्ति यदि पार्टीभित्र पनि कोही मान्छे, कुनै नेता वा जो कोही भए पनि छोड्नु हुँदैन । यसमा सरकार निर्मम ढङ्गले लाग्नुपर्छ’, उनले भने ।
रामकुमार शर्माले भ्रष्टाचारीलाई सरकारले कारबाही गर्न ‘फायर’ खोलिसकेपछि पछि हट्न नहुने बताए । सरकारले थालेको अनुसन्धान प्रक्रियामा पार्टी भित्रकै मान्छे दोषी देखिए पनि कारबाही गर्नुपर्ने माग केन्द्रीय समितिमा उठेको जानकारी दिए ।
‘वर्षमान पुनले म लगायत कुनै पनि व्यक्तिमाथि यदि प्रश्न उठ्छ र शङ्का सरकारलाई लाग्छ भने छानबिन गरोस् । दोषी ठहरियो भने हामी कारबाही भोग्न तयार छौँ भनिसक्नुभयो । केन्द्रीय सदस्यहरूले पनि सरकारको तर्फबाट फायर खोलिसकेपछि हाम्रो पार्टीको होस् वा बाहिरको भए पनि जो–जो दोषी छ, उनीहरूलाई कारबाही गर्नुपर्छ भनेर बोलेका छन्’, उनले भने ।
त्यस्तै अर्का केन्द्रीय सदस्य मुक्ति प्रधानले माओवादीको शीर्ष नेताहरू नै सुन प्रकरणमा जोडिए कारबाही हुने धारण राखे । राष्ट्रघाती काम गर्नेविरूद्ध सरकार कडा रूपमा प्रस्तुत हुनुपर्ने भनाइ राखे ।
‘सुशासनलाई ठोस र मूर्तरूप दिन सरकारले राम्रो कामको सुरुवात गरेको छ । यो प्रकरणमा हाम्रा पार्टीका शीर्ष नेताहरू संलग्न भएको प्रमाणित भए उनीहरूलाई छाडिन्न । यसमा ढुक्क भए हुन्छ । प्रमाणसहित आउनुपर्छ । कसैलाई छोड्ने छुट छैन । यो राष्ट्रघाती काम हो । नेपाली जनतालाई सुशासन, समृद्धि, सामाजिक न्यायको प्रत्याभूति दिनका लागि पार्टी र सरकार निर्मम हुन जरुरी छ’, प्रधानले भने ।
केन्द्रीय सदस्य रामनारायण बिडारीले नेताहरू पार्टी हितभन्दा पनि व्यक्तिगत धन दौलत जोड्नतिर ध्यान गएकाले माओवादी आन्दोलन बदनाम र कमजोर भएको तर्क गरे ।
‘नेताहरूको ध्यान देश, जनता, पार्टीप्रति कम र माफिया, तस्कर, धनाढ्यतर्फ बढी गएको देखिन्छ’, बिडारीले भने, ‘यस्ता कार्यले पार्टी दुब्लाउँदै गएको छ । नेता मोटाउँदै गए । अन्ततः पार्टी बदनाम हुने र जनताबीच नाङ्गिने अवस्थामा आयो । यदि दोषी देखिए सरकारले कारबाही गरी पार्टीलाई बचाउनुपर्छ ।’
नेताहरूले आचरण सुधारका लागि अहिलेसम्म आयआर्जन भएका धन सम्पत्तिको स्वघोषणा गर्नुपर्ने उनको भनाइ छ ।








