जहाँ बन्छन् नेपाली जातजाति र भेषभुषालाई प्रतिबिम्बित गर्ने गुडिया (तस्बिरहरू)

ललितपुर । पाटनको हाखा चुसिका नानी गल्ली सुरु हुने मोडको दुई घर पार गरेपछि पुगिन्छ, सिस्टर्स क्रियसन एण्ड क्याफे । मानिसहरूले यो क्याफेलाई मकैको कोयाबाट पुतली वा गुडिया बनाउने ठाउँको रूपमा पनि चिन्छन् ।

पहिला तीन दिदी बहिनीको संयुक्त प्रयासबाट सुरु भएको मकैको कोयाबाट गुडिया बनाउने कलालाई व्यावसायिक रूपमा अझै पनि निरन्तर चलाइरहेकी छिन् लक्ष्मी नकर्मीले ।

२० वर्षको हुँदा एक म्यागेजिनमा अमेरिकामा केही मानिसहरूले मकैको कोया (कर्न हस्क) बाट गुडिया र विभिन्न कलाकृति बनाउने गरेको पढेकी लक्ष्मीले त्यहीँबाट प्रेरित भएर आफ्ना दिदी बहिनीहरूसँग मिलेर यसको सुरुवात गरिन् । ‘नेपालमा सजिलै पनि पाइन्छ मकैको खोया र यसको सुत्ला पनि यत्तिकै फालिएको हुन्छ । मैले म्यागेजिनमा यसको उपयोग भएको देखेपछि हामी दिदीबहिनी मिलेर त्यसबाट गुडिया र विभिन्न आकृति बनाउन सुरु गर्‍यौँ ।’ लक्ष्मीले भनिन् ।

सुरुवाती दिनमा गुडिया बनाउँदा केही गल्ती भएको भए पनि उनले तिनै गल्तीबाट सिक्दै आफ्नो कलालाई निखार्दै ल्याइन् । मकैको सुत्ला र खोयाबाट गुडिया बनाउन थालेको ३ दशक भइसक्दा अहिले उनको कला निकै तिखारिएको छ । ‘मलाई सधैँ नयाँ नयाँ कुरा परीक्षण गर्न मन पर्छ । मैले विशेषतः नेपाली जातजाति र तिनको भेषभुषालाई प्रतिबिम्बित गर्ने गरी गुडियाहरू बनाउने गरेको छु । कहिलेकाहीँ ग्राहकहरूको अर्डर अनुसार पनि मैले बनाउने गरेको छु ।’

सुरुवाती समयमा ३ दिदीबहिनीले संयुक्त रूपमा सुरु गरेको भए पनि विवाह पश्चात् उनले मात्रै यसलाई प्रत्यक्ष रूपमा निरन्तरता दिएकी छिन् । उनका २ दिदीबहिनी अप्रत्यक्ष रूपमा भए पनि उनको यस व्यवसायमा जोडिएका छन् ।

अहिले उनको यो व्यवसायमा ५ जना सहयोगी छन् । ती मध्ये अधिकांशले बोल्न र सुन्न सक्दैनन् । उनीहरू सबैलाई यहीँ लक्ष्मीले नै तालिम दिएर दक्ष बनाएकी छिन् । ‘सुरुवाती समयमा त मलाई अलिक गाह्रो भएको थियो तर अहिले निकै सहज र छिटो छिटो काम गर्न सक्छु मैले पनि ।’ विगत सात वर्षदेखि यहीँ काम गर्दै आएकी संगीता सुनुवारले सांकेतिक भाषामा बुझाइन् ।

यहाँ बन्ने गरेका गुडियाको मुख्य विशेषता भनेकै पुनः प्रयोग गर्न मिल्ने वस्तुको प्रयोग नै हो । काठको धुलो, मकैको खोया र सुत्ला, कपडा, लोक्ता कागज, तार लगायतका वस्तु प्रयोग गरेर गुडिया बनाउने गरिन्छ । यहाँ मुख्यतया: जातीय भेषमा रहेका गुडियाहरू बन्ने गरेका छन् ।

जसलाई तयार गर्न एकजनालाई २ दिनसम्मको समय लाग्छ तर कार्यविभाजन गरेर काम गरिने हुँदा एक घण्टा भन्दा पनि कम समयमा एउटा सानो गुडिया तयार हुन्छ । ‘आफ्नो कला र संस्कृतिलाई कहिल्यै पनि मासिन वा हराएर जान नदिनको लागि जातीय भेषभुषालाई विशेष ग्राहयता दिएको छु । मैले सुरुवाती समयमा गुडिया बनाएर साथीहरूलाई गिफ्ट दिनको लागि लग्थे तर साथीहरूले सित्तैमा केही पनि लिन हुन्न भनेर केही रुपैयाँ दिन्थे । पछि बिस्तारै मैले यसलाई व्यवसायकै रूपमा अघि बढाएँ ।’ नकर्मीले भनिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *