विश्व स्तनपान सप्ताह

स्तनपान गराउनकै लागि आमाले रोजगारी त्याग्नुपर्दैन : डा. पावना कायस्थ (भिडिओ वार्ता)

काठमाडौँ । विश्व स्तनपान सप्ताह आज मंगलबारदेखि शुरु भएको छ । स्तनपानको महत्त्वबारे जानकारी दिन हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । यस वर्ष ‘स्तनपान गराऔँ, काम गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

कार्यस्थलमा स्तनपान गराउन सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकताबारे यस वर्षको नारा तय गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले सरकार र रोजगारदातालाई आमाहरूलाई स्तनपान गराउन आवश्यक समय, ठाउँ र समर्थन प्रदान गर्ने परिवार अनुकूल नीति लागू गर्न आह्वान गर्दै आएको छ ।

स्तनपानलाई शिशुको सबैभन्दा प्राकृतिक, पुरानो र पहिलो खोपसमेत भन्ने गरिन्छ । दूधमा रोग निरोधक तत्त्व हुन्छ, जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ । केएमसी अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ तथा पोषणविद् डा. पावना कायस्थका अनुसार शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ । शिशुलाई ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ ।

स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने डा. कायस्थले बताइन् । शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि स्तनपान महत्त्वपूर्ण हुने उनको भनाइ छ । कुपोषण घटाउन स्तनपानले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताइन् ।

मकालुखबरसँग कुरा गर्दै उनले आमाको दुध जम्मा गरेर पनि बच्चालाई खुवाउन सकिने बताइन् । दुहेर राखेको चार घन्टासम्म दुध त्यत्तिकै खुवाउँदा कुनै फरक नपर्ने उनको भनाई छ ।

हेर्नुहोस् अन्तर्वार्ता

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *