भ्रष्टाचारविरोधी सरकारको कदमले जनतामा नयाँ आशा पलाएको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले भ्रष्टचारबिरुद्ध र सुशासनको पक्षमा गरेका महत्वपूर्ण कामहरूले जनतामा नयाँ आशाको रक्तसञ्चार गराएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले सरकारले पछिल्लो समय गरेका भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा चालेको कदमहरूले जनतामा नयाँ आशासहितको नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै गएको बताएका हुन् । आइतबार काठमाडौँमा आयोजित स्वर्गीय माधवप्रसाद मरहट्ठाको स्मृतिमा लेखिएको पुस्तक ‘माधव सर’को लोकार्पण कार्यक्रममा बोल्दै उनले ७ महिनाको अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरूले इमानदार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर पनि अघि बढ्न सकिन्छ भन्ने विश्वास आफूलाई दिएको बताए ।

प्रधानमन्त्री दाहालले सरकारको भ्रष्टाचार विरोधी अभियानमा दृढतापूर्वक साथ दिएको भन्दै आम नागरिकप्रति आभार पनि व्यक्त गरे ।

उनले भने ‘वर्तमान सरकार नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुसार बदलिएको व्यवस्था अनुसार जनताको दैनिक जीवन र अवस्था पनि बदल्न सामाजिक न्याय, सुशासन र समृद्धिको एउटा नयाँ यात्रातर्फ अगाडि बढ्ने जमर्को गरिरहेको छ । र, यस्तो सन्दर्भमा सरकार गठनको ७ महिनाको अवधिसम्म पुग्दा जेजति मेहनत भएको छ । जे जति प्रयासहरू भएको छ । यसबाट जे जति उपलब्धिहरू हासिल हुँदैछन । त्यसले देश र जनताको पक्षमा इमानदार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर जान सकिन्छ भन्ने विश्वास दिलाउँदै गएको छ । पछिल्लो समय भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरू गरिएका छन् । यसले जनतामा नयाँ आशाको रक्तसञ्चार गरेको छ । नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदैछ । यस सन्दर्भमा सरकारको भ्रष्टाचार विरोधी अभियानमा दृढताका साथ सहयोग र ऐक्यबद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा आभार पनि व्यक्त गर्न चाहन्छु । र, माधव मरहट्ठा जस्ता बहुआयामिक व्यक्तित्वका धनीको प्रेरणा पनि यस सन्दर्भमा महत्वपूर्ण रहेको कुरा म प्रस्टसँग यहाँ राख्न चाहन्छु ।’

प्रधानमन्त्री दाहालले सरकारले नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुसार नेपाली जनताको दैनिक जीवन र अवस्था बदल्ने जमर्को गरिरहेको समेत दोहोर्याए । त्यस अवसरमा उनले मरहट्ठाले माओवादी जनयुद्धको बीजारोपण, घोषणा, विकास र त्यसको शान्तिपूर्ण रूपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उनले मरहट्ठालाई नेपालको कम्युनिष्ट आन्दोलनका एक बौद्धिक व्यक्तित्व एवं राजनीतिक नेताहरूका पनि गुरुको रूपमा चित्रण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 6 =