अगुवाहरूले नै मिटरब्याजी पीडितसँग पैसा असुल्छन्

वोदेवर्साइन (सप्तरी) । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा व्याप्त मिटरब्याजी समस्या समाधानमा जुटी रहँदा मिटरब्याजी पीडित सङ्घर्ष समितिकै केही व्यक्तिहरूद्वारा आफूहरू थप पिडामा परेको सप्तरीका मिटरव्याज पीडितहरूको आरोप रहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा गठित उपसमितिले पीडक र पीडित दुवै पक्षलाई मिलाएर बोलाएर छलफल गरिरहँदा सङ्घर्ष समितिबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले नै पीडितको भन्दा पीडकको पैरवी गर्न थालिएकोले आफूहरू थप पिडामा पर्न गएको मिटरब्याजी पीडितहरूले गुनासो रहँदै आएको छ ।

मिटर व्याज पीडित सङ्घर्ष समितिका सचिव तथा छलफल तथा मिलापत्र उपसमितिको प्रतिनिधि समेत रहनुभएका छेदी पासवानले पीडितको घरघर गई रकम असुल्ने गरेको पीडित मध्येका बोदेवबर्साइन वडा २ का मोहम्मद उस्मान मिया बताउनुहुन्छ । उहाँका अनुसार मेरो उजुरी को क्रमसङ्ख्या ११४१ रहेको छ । मलाई १५ दिन अघि नै छलफलमा बोलायो ।त्यहाँ आउँदा सङ्घर्ष समिति बाट प्रतिनिधि रहनुभएका छेदी पासमानले म पीडितको पक्षमा बोल्नु भन्दा पहिलेदेखि नै मेरो पीडकले बोल्ने भाषा बोलेर मेरो छलफललाई निष्कर्ष विहीन बनाउँदै आएका छन् ।

पासमानको भनाइ उदृत गर्नुहुँदै पीडित उस्मान भन्नुहुन्छ ३१ लाख रुपैयाँको कहिले डेढ त कहिले सवा करोड माग्दै आएको छ । पाँच वर्षदेखि पैसा तिरेर पनि मेरो साढे चार कठा जग्गा समेत फिर्ता दिँदैन । यसै विषयमा छेदीसँग आग्रह गर्दा विपक्षीलाई बलियो बनाउन खालका क्रियाकलाप तथा मानसिकता देखाउँदै आएका छन् । छलफल गर्नुभन्दा थोरै पैसा खर्च गरेर प्रहरी प्रशासनलाई नै मिलाउन छेदीले मेरो पीडक अग्रवाललाई उस्काउदै आएको हो । पीडित उस्मानले भन्नुभयो ।

शम्भुनाथ नगरपालिका वडा नम्बर ६ निवासी सदिना खातुन छोराहरू विदेश पठाउन गाउँकै गोपाल प्रसाद साहसँग १४ कट्ठा जग्गा धितो राखी ऋण लियो । छोराले विदेशबाट पैसा पठाउँदै साहुको पैसा चुक्ता गर्दै आएको प्रमाणसहित जिल्ला प्रशासन कार्यालय सप्तरी पुग्नुभएकी सदिना खेत फिर्ता नदिँदा आफू बिचल्लीमा परेको बताउनुभयो । सबै सम्पत्ति डुबाई हाल्यो भनेर छोराबुहारी पनि बुढेसकालमा हेला गर्दै आएको खातुनले सुनाउनुभयो । दिनदेखि राजविराजको कुनै गल्ली चाहार्न बाँकी छैन तर कसैले न्याय नदिएको बुधवार पत्रकारहरूसँग भक्कानिँदै सदिनाले भन्नुभयो ( आफ्नो मुद्दा चाँडै टुङ्ग्याइदिने नाममा छेदी पासवानले पटक–पटक गरी रु २० हजार लिएको हो । सबै मिलेर मेरो समस्या समाधान गरिदिएपछि म सबैलाई पैसा दिन्छु भनेर मैले थप भनेकै छु तर पैसा लिएर पनि काम गरिदिएन ।उहाँले भन्नुभयो ।

यस विषयमा मिटरब्याजी पीडितका प्रतिनिधि छेदी पासमान भन्नुहुन्छ ( मैले पीडितको पक्षमा काम गरिरहँदा मेरै पार्टीका केही व्यक्तिहरूले मसँग राजनैतिक प्रतिशोधको लागि झुटो आरोप लगाएको हो ।पासमान राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश कमिटीका सदस्य समेत हुन ।

सिडिओ र प्रहरीमा मुद्दा मिलाइदिने नाममा पीडितका अगुवाहरूले नै पीडितसँग रकम असुल्न थालेको गुनासाहरू पटक पटक बाहिर आएपछि यस्ता क्रियाकलाप नगर्न नगराउन भन्दै सबै पक्षलाई सचेत हुन जिल्ला प्रशासन कार्यालयले गत साता लिखित सूचना नै जारी गरिएको हो । र त्यसो गरेको लिखित प्रमाण सहित म कहाँ आयो भने त्यस्तालाई कारबाही गर्न कुनै कसर बाँकी नछोड्ने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भन्नुभयो ।

मिटर ब्याज पीडितको तर्फबाट अनलाइनमा समेत दर्ता भएको सप्तरीमा एक हजार सात सय ७९ उजुरी परेका छन् । जिल्ला प्रशासन कार्यालयद्वारा गठित उपसमितिले साउन नौ गते सम्ममा ७२ वटा मुद्दा मिलापत्र गरिसकेका छन् । ९६ वटा सहमति भएको र छलफलमा सात सय ६० वटा उजुरी छलफलमा रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो । –गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =