एटम बम बनाउने वैज्ञानिकको पश्चाताप सुनाउने सिनेमा

कुनै पनि नयाँ फिल्मबारे चर्चा गर्दा कस्तो रहेछ भनेर चर्चा गरिन्छ । तर, क्रिस्टोफर नोलनको फिल्म आउँदा कस्तो रहेछ सँगसँगै कसरी बनाएछन् भन्ने चर्चा पनि चल्ने गर्दछ । त्यस्तै चर्चाले घेरिएर संसारभरका हलमा अहिले उनको नयाँ फिल्म ओपनहाइमर चलिरहेको छ । 

आफ्नो प्रयोगात्मक शैलीका कारण परिचित नोलनले यस फिल्ममार्फत् आफ्नो पहिचान थप स्थापित गरेका छन् । उनी कुनै पनि कथा सरल तरिकाले भन्न चाहँदैनन् । अत्यन्तै सरल देखिने मानिसको पनि उसका जीवनका आयामहरूलाई नियाल्ने हो भने त्यो बाहिरबाट देखिए जस्तो सरल हुँदैन । शङ्कर लामिछानेको शब्दमा भन्नुपर्दा मानिसको जीवन प्याज जस्तै पत्रै पत्रले जेलिएको, अनन्त दुर्गन्ध र गहिराइले भरिएको हुन्छ । ओपनहाइमर त झनै मानवीय भावनाको सूक्ष्मता र विचारबारे विराटतामा जेलिएर बाँचिरहेको वैज्ञानिकको कथा हो । सरल तरिकाले ओपनहाइमरको कथा भन्दा त्यो पूर्ण त हुँदैन थियो नै, त्यसले उनीमाथि न्याय पनि गर्दैनथ्याे । त्यसैले उनले कहिले ब्याकग्राउन्ड स्कोर, कहिले मौनता त कहिले भिज्वल्सको मार्फत कथा भन्ने कोसिस गरेका छन् । 

नोलनले हिरोसिमा र नागासाकी नदेखाइकन रोबर्ट ओपनहाइमरको आँखाबाटै त्यहाँको बीभत्स नरसंहार देखाउन सफल भएका छन् । सिनेमाको सबैभन्दा बलियो पक्ष यसमा भएको साउन्डको प्रयोग हो । तर, आइम्याक्समा खिचेको हुनाले नेपालका हलहरूमा कतिपय दृश्यहरूमा आवाज कम भएको महसुस हुन्छ । पात्रहरूले बोलेको संवाद बुझ्न कतै कतै कठिन पनि भएको थियो । 

सिनेमाको भिज्वल्स अत्यन्तै कलात्मक छ । सिजिआइको प्रयोगबिना नै नोलनले ट्रिनिटी टेस्टको सुटिङ गर्दा एटम बमको विस्फोट देखाएका छन् । 

यो सिनेमा अमेरिकी वैज्ञानिक जुलियस रोबर्ट ओपमहाइमरको जीवनमा आधारित छ । उनी ती वैज्ञानिक हुन जसले एटम बम बनाएको कारण करिब एक लाख चालीस हजार व्यक्ति मारिए । यो सिनेमाको पटकथा ओपनहाइमरले किन र कसरी एटम बम बनाउने म्यान ह्याटन प्रोजेक्टको नेतृत्व लिए, कसरी यो प्रोजेक्टलाई अगाडि बढाइयो, कसरी एटम बम बनाउने प्रयोगहरू भए, बम बनेपछि त्यसको प्रयोगप्रति उनको धारणा कस्तो थियो, त्यसपछि उनलाई संसारले कसरी हेर्‍यो लगायत प्रश्नहरूको सेरोफेरोमा दौडन्छ । 

त्योसँगै यस सिनेमा मार्फत निर्देशकले ओपनहाइमरको व्यक्तिगत जीवन र उनको अरू वैज्ञानिकसँगको सम्बन्धलाइ पनि राम्ररी नियालेका छन् । उनले ओपनहाइमरलाई ग्रीक माइथोलोजीको प्रोमिथियसको रूपमा देखाउन खोजेका छन् । जसरी प्रोमिथियसले भगवानबाट आगो चोरेर मानिसलाई दिए र आफू अनन्तकालसम्म यातना भोग्नुपर्ने श्रापबाट प्रताडित भए त्यसै गरी ओपनहाइमरले पनि एटमको विज्ञान पत्ता लगाएर मानव सभ्यतालाई दिए तर सधैँ भरी त्यसले निम्त्याएको विनाश र त्रासबाट प्रताडित हुनुपर्‍यो । प्रोमिथियसले जुन ज्ञान (आगो) भगवानबाट चोरेर मानिसलाई बाँडेका थिए त्यही आगो रुपी ज्ञान नै इतिहासको विभिन्न कालखण्डमा कहिले मानिसका निम्ति वरदान त कहिले अभिशाप हुँदै आएको छ । 

फिल्मको सुरुवाती चरणमा एउटा दृश्य देखाइन्छ जहाँ ओपनहाइमर स्याउको दानामा पोटासियम साइनाइड बिख रोपेर हिंड्छ्न तर त्यो बिख भएको स्याउ अर्को पात्रले खाने बेलामा ओपनहाइमरले त्यसलाई खोसेर फालिदिन्छन् । पछि उनले मानव सभ्यता ध्वस्त पार्ने एटम बम निर्माण गर्छन् तर त्यसको प्रयोग नहोस् भन्ने उनी चाहन्छन् । तर, यति बेला उनले पहिला स्याउ खोसेर फाले जसरी उनले बनाएको एटम बम फाल्न सक्दैनन् । त्यो उनको निर्णय र नियन्त्रणभन्दा बाहिर पुगिसकेको हुन्छ । 

‘फादर अफ एटम बम’ भनेर चिनिएको व्यक्ति जसको सृजनाले दोस्रो विश्व युद्ध रोक्यो त्यस्तो व्यक्ति पनि भावनात्मक रूपमा कति कमजोर हुँदो रहेछ भन्ने उदाहरण यो सिनेमाले पेस गरेको छ । सँगै कसैको हातमा आफूले गर्ने काममाथि जति सन्तुलन हुन्छ त्यसको परिणामप्रति हुँदैन भन्ने पनि देखाएको छ । ओपनहाइमरको आफ्नो व्यक्तिगत जीवन र सम्बन्धहरूमा अत्यन्तै कमजोर र अनअर्गनाइज्ड देखिन्छन् ।

फिल्ममा आइन्स्टाइन र ओपनहाइमरबिचको संवाद गज्जबसँग देखाइएको छ । सुरुमा ओपनहाइमरले आइन्स्टाइनलाई पोखरीको छेउमा भेट्दै गर्दा एटम बम पड्कँदा विश्व नै ध्वस्त हुनसक्ने गरी अनन्तकालसम्म चल्न सक्ने चेन रियाक्सनको क्याल्कुलेसन हेरिदिन आग्रह गर्छन् । पछि १९४७ मा एटम बम पड्किसकेपछि ओपनहाइमरले आइन्स्टाइनलाई फेरि त्यही ठाउँमा भेट्छन् र उनले एटम बम बनाएर संसार ध्वस्त हुने चेन रियाक्सन सुरु गरिसकेको भन्दै पश्चात्ताप गर्छन् । एटम बमको विस्फोट भन्दा पनि त्यसको निर्माण गर्न चलेको दौडबाट सृष्टि ध्वस्त हुने खतराबारे ओपनहाइमर चिन्तित हुन्छन् । 

नोलनले फिल्मको कास्टिङमा अत्यन्तै सोच विचार गरेको देखिन्छ । पटकथा लेखिसकेर पढ्न बस्दा उनलाई रोबर्ट ओपनहाइमर अगाडि आएर हेरिरहेको जस्तो अनुभूति भएको र उनलाई हेरिरहेका गाडा निला आँखा देखेपछि उक्त भूमिकामा किलियन मर्फीलाई लिने निश्चित गरेको कुरा सार्वजनिक रूपमा भनेका थिए । सिनेमामा रोबर्ट ओपनहाइमरको भूमिकामा देखिएका किलियन मर्फिले आफ्नो तौल घटाउन अत्यन्तै थोरै आहार गर्ने, ओपनहाइमरको जीवन र जगत प्रतिको दर्शन बुझ्न भागवत गीता पढ्ने लगायत थुप्रै दृढताका साथ पात्रको शारीरिक नक्कल र मनस्थितिमा प्रवेश गरेका छन् । रोबर्ट डाउने जुनियरले सिनेमाको खलपात्र अर्थात् तत्कालीन अमेरिकी अर्थमन्त्री लिविस स्ट्राउसको भूमिका कुशलतापूर्वक निभाएका छन् । 

त्यसैगरी म्याट डेमन, रामी मालिक, ग्यारी ओल्ड्म्यान इमिली ब्लन्ट जस्ता मूर्धन्य अभिनेता/अभिनेत्रीले आफ्नो भूमिका अर्थपूर्ण रूपमा निभाएका छन् । सिनेमाको उत्तरार्द्धमा रोबर्ट ओपनहाइमर र लिविस स्ट्राउसबिचको टकराब देखाइएको छ । स्ट्राउसले व्यक्तिगत कुण्ठा र आरिसले ओपनहाइमरलाई बदनाम गर्ने प्रयासले झुटा मुद्दा दायर गरेर फसाउँछन् तर ओपनहाइमरप्रति लगाइएको झुटो मुद्दा स्थापित गर्न सक्दैन । उक्त मुद्दाका कारण ओपनहाइमरको व्यक्तित्वमाथि थुप्रै प्रश्न उठ्छ । उनले आफ्नो धमलिएको छवि सफा पार्न आजीवन प्रयास गर्छन् तर पनि त्यो पर्याप्त हुँदैन । 

यो सिनेमाले उनीमाथि भएको अन्यायलाई थोरै भए पनि न्याय दिन्छ । समग्रमा यो सिनेमाले इतिहासको अत्यन्तै विवादित तथा विख्यात व्यक्तिको जीवनको उतारचढाव, उसको कर्म, उसको सृजना र त्यसको प्रभावलाई विभिन्न आयामहरूबाट देखाउने कोसिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *