मोर्चा बनाएर प्रचण्ड-माधवले राम्रो गर्नुभयो, ओलीलाई पनि पत्राचार गर्नुस् भनेको छु : बामदेव गौतम

काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिस्टहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले यस्तो बताएका हुन् ।

उनले समाजवादी मोर्चा बनाउनु राम्रो भएपनि एक/दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए । नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको उनको भनाई छ । ‘सबै कम्युनिस्टहरू एकतामा आऔँ । मोर्चाको उद्देश्य नेपाली जनताको समृद्धिलाई बनाऔँ । नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवाद, कृषि, उद्योग धन्दाको क्षेत्रबाट कहाँबाट सुरु गर्न सकिन्छ, सामाजिक रूपबाट, सामाजिक सहमतिको उत्पादनका साधनमाथि जति सकिन्छ त्यति क्षेत्रबाट ठोस कार्यक्रमका साथ हामी सबै लागौँ । त्यो नेपालका कम्युनिस्टहरूले मात्रै स्थापना गर्न सक्छन् । त्यस्तो समाजवाद निर्माण गर्न सक्छन्,’ गौतमले भने ।

उनले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिस्टहरू एउटा मोर्चामा आउन जरुरी रहेको बताए । ‘हामीले पनि त्यो संविधान बन्दा अनेकौँ समस्या झेलेर हामीले राखेको लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवाद हामीले राखेर, कम्युनिस्टहरूको समाजवाद प्राप्तिको निम्ति एउटा मोर्चामा आबद्ध हुनुपर्छ,’ गौतमले अगाडि भने, ‘जसको लागि प्रचण्ड, कमरेड माधव नेपाल र अरू-अरू मिलेर सुरु गर्नुभएको छ, राम्रो काम गर्नुभएको छ तर दुई तीन वटा पार्टी मिलेर मोर्चा बनाउने काम नगर्नुस् । सबै मिल्नुपर्छ, सबैलाई ल्याउन सक्नुपर्छ ।’

आफूले मोर्चामा सबैलाई जोड्न आग्रह गरेको पनि उनले बताए । ‘मैले प्रचण्डलाई भने, कमरेड यसमा सबैलाई जोड्नुपर्छ । नेकपा एमालेका अध्यक्ष र सबैजना, मोहन वैद्यलाई पनि पत्राचार गर्नुस्, नेकपा (माओवादी केन्द्र) बाट फुटेकालाई पनि आबद्ध गर्नेगरी आज आवश्यकता छ, समाजवादको । समाजवाद नै निर्माण गर्ने हो, जति सकिन्छ त्यत्ति सामाजिक उत्पादनका लागौँ । पुनः कम्युनिस्टहरू एक ठाउँमा हुनुपर्छ । कमरेड पुष्पलालले भन्नुभएको, देख्नुभएको सपना साकार पार्ने हो भने पहिलाकै बाटोमा जानुपर्छ । जसरी पनि त्यो लागू गर्नुपर्छ । त्यसरी मात्रै शक्ति आर्जन गर्नसक्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =