देशमा सुशासन छैन, दण्डहीनताले सीमा नाघ्यो : शेखर कोइराला

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित लाओस् राईद्वारा लिखित पुस्तक राष्ट्रवाद की राष्ट्रप्रेम नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा दण्डहीनताले सीमा नाघेको बताए । उनले राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरूमा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताए ।
उनले देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझाँई, लोकप्रियतावादीका रूपमा नेताहरूले आफूलाई स्थापित गरिरहेको बताए । उनले लोकरिझाईंको राजनीतिले देशलाई बिगारी सकेको बताए । उनले लोकरिझाँईको राजनीति भविष्यमा देशका लागि घातक हुने बताए । नेता कोइरालाले देशमा भ्रष्टाचार अन्त्य गर्नैपर्ने बताए ।
उनले भने ‘अहिले विश्वमै हेर्नुभयो भने राष्ट्रियताको आडमा लोकरिझाँई भन्छन् नि, लोकप्रियतावादी, पपुलिजमका कुरा गरेर हामी आफूलाई स्थापित गर्न खोजिरहेका छौँ । दुनियाँमा नै । ट्रम्पले गरेको हेर्नुभयो नि, उ अमेरिका जस्तो शक्तिशाली देशको राष्ट्रपति थिए । अरू सबै देशको, चारैतिर हेर्दै जानुस् । पपुलिजमले धेरै कुरा दमन गर्दछ । त्यो क्षणिक होला, त्यो धेरै दिन नचल्न सक्छ । तर त्यसले देशलाई बिगारिसकेको हुन्छ, कमजोर बाइसकेको हुन्छ । अहिले नेपालमा पनि लोकरिझाईंको कुराले गर्दा नेताहरूले त्यो हाम्रो पार्टीमा पनि छ, अन्य पार्टीमा पनि छ, सबै पार्टीमा छ । लोकरिझाईंका कुराले गर्दा हामीजस्ता मानिसहरू अलमलमा परिरहेका छौँ । लोकरिझाईंमा जसरी उसले प्रस्तुत गरेको हुन्छ त्यही कुरा सत्य हो भन्ने जस्तो अडियन्सलाई लागेको हुन्छ । त्यसले भोलिका दिनमा देशको निम्ति घातक हुन्छ । नेपालको राजनीतिक परिस्थिति नाजुक भइरहेको छ । त्यो लोकरिझाईंको हिसाबले पनि होला, लोकतन्त्रलाई बदनाम गर्ने हिसाबले पनि गरिराखेको हुन्छन्, अन्य क्षेत्रहरू हेर्नुस्, आर्थिक क्षेत्र भन्नुस्, शैक्षिक क्षेत्र हेर्नुस्, सामाजिक, सांस्कृतिक कुनै क्षेत्र पनि अछुतो देखिँदैन । यस्तो बेलामा हामी लोकतन्त्रवादीहरू जुनसुकै पार्टीका होऔँ, लोकतन्त्रमा विश्वास गर्नेहरूले केही कुरा बुझ्नै पर्छ । भ्रष्टाचार हामीले अन्त्य गर्नैपर्छ । फाइनान्सियल एक्सन टाक्सफोर्सले अहिले जुलाई २० तारिख भइसक्यो, अक्टोबरसम्म फेरि नेपालको बारेमा कुरा गर्छन् । नेपाललाई ग्रे लिस्टमा राख्ने की नराख्ने भन्छन्, मनि लाउण्डरिङ, सम्पती शुद्धीकरण, त्यसमा हामी कसरी अघि बढ्ने, हाम्रा ऐन कानुन कसरी बनाउने रु भन्ने कुरामा सूक्ष्म रूपले हेरिरहेको छ । यो अत्यन्त गम्भीर विषय हो । तेस्रो कुरा दण्डहीनता । दण्डहीनता त चरम सीमामा पुगिसक्यो, त्यसलाई कानुन बनाएर लग्नुपर्छ । ऐन लगिरहेका छौँ, संसदमा । राजनीतिक मुद्दा वा जुनसुकै मुद्दा भनेपनि अदालतले निर्णय गरिसकेका मुद्दालाई हामीले राजनीतिक मुद्दा हो भनेर, छुट दिन थाल्यौँ, छोड्न थाल्यौँ भने दण्डहीनता यसरी बढ्छ कल्पना गर्न सक्दैनौँ, नेपालमा ०६२÷६३ पछि नै बढेको हो दण्डहीनता, अहिले चरमसीमामा पुग्न लागिसक्यो । हरेक विषयलाई राजनीतिक बनाइरहेका छौँ , त्यसले गर्दा हामी अन्तर्राष्ट्रिय समुदायमा हाम्रो महत्व अत्यन्त घटेर गएको छ । देशमा सुशासन छँदै छैन भनेपनि हुन्छ । नक्कली भुटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी यिनीहरूलाई निचोडमा पुर्याउन सकेनौँ भने अप्ठ्यारो परिस्थितिमा हामी पुग्छौँ ।’
नेता कोइरालाले नेपालमा २०६२ र ०६३ पछि नै दण्डहीनताका घटनाहरू बढ्दै गइरहेको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी लगायतका अनियमितताका प्रकरणहरू निचोडमा नपुर्याएसम्म देशको स्थिति अप्ठ्यारो रहने बताए ।








