मकालु फिचर

एयरहोस्टेस बन्न चाहन्थिन्, तर बेस गिटारिस्ट बनिन्

माथिदेखि तलसम्म कालो पहिरन लगाउँथिन् । हातमा कालै रङ् को ब्रास्लेट अनि आँखा भरी कालो गाजल पोत्थिन् । अनि यस्तो हुलियामा गितार बोकेर म्युजिक क्लास जान्थिन् । 

चिने जानेका मान्छेको नजरमा उनी संगीतकर्मी थिइन् । तर समाजको नजरमा उनी ‘बिग्रिएकी ट्यापे केटी’ थिइन् । 

उनी अर्थात् छब्बीस वर्षीय रेनु स्याङ्बो । 

स्कुल पढ्दा भने रेनुलाई म्युजिक क्षेत्रमा लाग्छु भन्ने सोच आएको थिएन । स्कुलका साथीहरू ले अटो भर्ने गर्थे । कसैले उनलाई पनि अटो भर्न दिएको थियो । त्यो लहरमा उनले आफूलाई बन्न चाहेको कुरा लेख्ने ठाउँमा लेखेकी थिइन् ‘एयर होस्टेस बन्ने ।’ 

तर उनले हिँड्ने बाटोको योजना अर्कै थियो । 

उनी कक्षा छ सातमा पढ्दा स्कुलमा हरेक शुक्रवार ‘गुड फ्राइडे’ मनाइन्थ्यो । नाचगान हुन्थ्यो । रमाइलो हुन्थ्यो । 

एक शुक्रवार साथीहरूले उनलाई पनि लाउन लगाए । उनले धेरथोर गाउन जान्दथिन् भन्ने उनीहरूलाई थाहा भइसकेको थियो । उनले त्यहाँ ‘तेरी ओर’ बोलको हिन्दी गीत गाइन् । सबैले मन पराए । राम्रो लागेको प्रतिक्रिया दिए । 

त्यसपछि त उनले हरेक “गुड फ्राइडे” मा अनिवार्य गीत गाउनुपर्ने हुन थाल्यो । त्यही बहानामा उनको सङ्गीत प्रतिको लगाव विकास हुँदै गयो । 

उनी दश कक्षामा पढ्दै गर्दा उनका दाइले दसैँ तिहारको उपलक्षमा आयोजना हुँदै गरेको एउटा म्युजिकल प्रोग्रामको लागी अडिसन हुँदै छ भनेर खबर गरे । उनलाई अडिसन दिन प्रेरित गरे । म्युजिक सम्बन्धी पढेको वाला ज्ञान नभए पनि उनी त्यसमा गइन् । त्यहाँ अडिसन दिनेमा उनी एक्लै केटी भइन् । 

आफूमात्र एक्लो केटी भएकोमा उनलाई ‘म त क्या खतरा, क्या युनिक’ भएझैँ लागेको थियो । त्यही हौसलाले उनलाई अडिसनमा डर लागेन । 

उनी छानिइन् । बागबजारमा भएको एक स्ट्रिट कन्सर्टमा गीत गाउने मौका पाइन् । अल्ब्राटस ब्यान्डको ‘फर्की फर्की नहेर मलाई’ भन्ने गीत गितार बजाउँदै रेनुले गाउँदा त सारा मान्छे लट्ठ भए । उफ्री उफ्री उनीसँगै गाउन थाले । त्यो सफलताले उनको आत्मविश्वास अझै बढ्यो । आफूले गाएको सुनेर झुमेका मान्छेहरू हेर्दा रमाइलो पनि लाग्यो । 

एउटा अवसरले अर्को अवसर ल्यायो । त्यसपछि रेनुलाई ‘द इमोर्टल ब्यान्ड’ बाट अफर आयो । त्यही ब्यान्डका सदस्यले नै रेनुलाई बेस गितार बजाउन सिकाए । गितार घर लगेरै सिक्छौ भने पनि सिक भने । उनले सिकिन् पनि । 

बेस गितार सिक्दै गर्दा यो अरू भन्दा एकदम भिन्नै लाग्यो । अरूबेला पनि गीतमा बेस त सुनिरहेकी हुन्थिन् । तर बजाउँदा त्यसलाई अर्कै तरिकाले बुझेको जस्तो भयो । बजाउन पनि रमाइलो लाग्यो । ब्यान्डमा संलग्न भएर उनले गाएको पहिलो गीत जसुन मार्जको ‘आइ एम योर्स’ थियो। 

ब्यान्डबाट पहिलो प्रस्तुति दिने बेलासम्ममा उनलाई प्रस्तुति दिन डर लाग्न छोडिसकेको थियो । अनि गाइसकेपछि एकदम गर्व महसुस भइरहेको थियो । उनले बेस गितार बजाउन थाल्नासाथ अडियन्सको ध्यान उनी तिर आइहाल्थ्यो । प्रस्तुति सकिएपछि सबैले तिमि त कस्तो खतरा बजाउँदो रहेछौ भन्थे । त्यस्ता हरेक प्रतिक्रियाले थप बजाउने हौसला थप्दै गयो । 

यसै पनि बेस गितार बजाउनेको सङ्ख्या रिदम वा लिड बजाउनेको भन्दा कम हुन्छ । त्यसमा पनि केटी । उनीहरूको सङ्ख्या अरूको भन्दा कम नै हुने गर्थ्यो । त्यसैले मान्छेहरूको ध्यान उनमा थप पर्दै जान थाल्यो । 

उनले बजाउने कलालाई अझै निखार्न क्लास लिने निर्णय गरिन् । गौशालाको नेपाल म्युजिक सेन्टरमा गएर भर्ना गरिन् । क्लासमा पनि केटी उनी मात्र थिइन् ।

कक्षामा त केही अप्ठ्यारो हुँदैन थियो । तर केटी मान्छे गिटार बोकेर बाटोमा हिँडिराख्दा भने केही मान्छेहरूले घुरेर पनि हेर्थे । आफ्नै उमेर जतिका केटाहरूले जिस्काउने पनि गर्थे । उनी तीनलाई बेवास्ता गर्थिन् ।

अडियन्स बाट सकारात्मक प्रतिक्रिया पाए पनि उनको सङ्गीप्रतिको लगावलाई समाजले अझै पनि सकारात्मक नजरले हेर्न सकेको थिएन । समाज त उनले फर्मल लुगा लगाएर १० देखि ५ बजेसम्मको अफिसमा काम गर्ने सुरक्षित पेसा गरेको हेर्न चाहन्थ्यो । तर  उनले आफू के गर्दै छु भनेर राम्ररी बुझेकी थिइन्, आफूलाई पनि राम्ररी चिनेकी थिइन् र आफ्नू सिप र कलामा विश्वास थियो । त्यसैले उनलाई समाजका यस्ता भनाइले पनि केही असर पुर्‍याएन । घर परिवारका सदस्यले रेनुको साङ्गीतिक यात्रामा हरपल साथ दिएको भएर पनि सजिलो भयो ।

त्यसपछि उनलाई अर्को अवसरले पछ्यायो ।

‘गोर्खाली गर्ल्स’ भन्ने ब्यान्ड सिपालु र आत्मविश्वासी सदस्यको खोजीमा थिए । ब्यान्डले रेनु फेला । उनी ब्यान्डको हिस्सा बनिन् । यही ब्यान्डमा रहेर उनीहरूले निकालेको १९७४ एडीको ‘गुराँसै फुल्यो’ गीतको कभर भर्सन कान्तिपुर टेलिभिजनमा फिचर भयो । उनका स-परिवारले आँखा भरी खुसीका आँसु पारेर हेरे । नातेदारहरुले समेत उनकी आमालाई ‘तिम्रो छोरी ले त कति प्रगति गरेकी’ भनेर फोन गरे ।

उनको कन्सर्टमा प्रस्तुति दिने क्रम अझै फैलिँदै गयो । काठमाडाैँबाहेक सिमरा, पोखरा, बुटवल, चितवन, रुपन्देही, बेलबारीलगायतका ठाउँहरूमा उनले रेनुले प्रस्तुति दिइसकेकी छन् ।

त्यसक्रममा उनको सीपको प्रभाव अरूसम्म पनि पुग्न थालिसकेको छ । 

एक दिन बेसको स्ट्रिङ् फेर्न रेनु गितार सेन्टरमा पुगेकी थिइन् । त्यहाँ अरू केही मान्छेहरू पनि थिए । ती मध्ये केहीले उनलाई चिनेका रहेछन् । ‘तपाइ त गोर्खाली गर्ल्सको बेशिष्ट हैन?’ भनेर सोधिहाले । उनीहरूले उनीसँग फोटो खिचे । अटोग्राफ पनि मागे । ‘बिग फ्यान दिदी’ भने । त्यो पल उनका लागी अविस्मरणीय बन्यो । ‘मलाइ पनि मान्छेले चिन्दो रहेछ है’ जस्तो लाग्यो । 

ठमेलको पर्पल हेजमा प्रस्तुति दिन विपुल क्षेत्री आएको बेलाको कुरा । उनी रेनु र उनको समूहले बजाइरहेको इलेक्ट्रिक प्यागोडा भन्ने ठाउँमा डिनरका लागी आएका थिए । प्रस्तुति सकिएपछि उनीहरूको नजिक आए अनि ‘तपाईँ त कस्तो राम्रो बेस बझाउनु हुँदो रहेछ । यसलाई निरन्तरता दिइरहनु’ भने । 

त्यो पल पनि रेनुका लागी सपना झैँ थियो । 

रेनु स्याङ्बो आज नेपालको सङ्गीत क्षेत्रमा एक व्यावसायिक बेस गिटारिस्ट बनेकी छिन् । पुरुषको संलग्नता बढी हुने गरेको म्युजिकल ब्यान्डहरू मा महिलाहरुपनि संलग्न भई अगाडी बढ्न सक्छन् भनेर साबित गरेकी छिन् उनले ।  

तर सबै थोक राम्रो भइरहँदा पनि उनलाई बेलाबेला भविष्यको चिन्ताले घरीघरी सताइरहन्छ । साङ्गीतिक क्षेत्र सरकारी जागिर जस्तो भरपर्दो र सुरक्षित हुँदैन । यसमा घरी के हुन्छ घरी के । ब्यान्ड बन्छ अनि केही समयपछि बन्द हुँदै गर्छ, केही टुङ्गो हुँदैन । 

तर उनले जे जस्तो स्थिति आए पनि आफैँ यही क्षेत्रमा लागिरहने र मेहनत गरिरहने सोचेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *