खुला सिमानाले राष्ट्रिय सुरक्षामा चुनौती

सरकारले खुला सिमाना हुनु देशको राष्ट्रिय सुरक्षामा चुनौतीको रूपमा रहेको बताएको छ ।

गृह मन्त्रालयले राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले माग गरे बमोजिमको लिखित विवरण पठाउँदै नेपालको छिमेकी दुई देशसँग खुला सिमाना हुनु राष्ट्रिय सुरक्षामा चुनौती भएको बताएको हो ।

सोमवार बसेको समितिको बैठकमा समिति सचिव सीता काफ्ले वाग्लेले गृह मन्त्रालयले पठाएको विवरण पढेर सुनाउनुभएको थियो । सो विवरणमा खुला सीमानाका कारण मानव बेचबिखन, हातहतियार ओसारपसार लागुऔषध ओसारपसार र सीमा पारीबाट अपराधिक व्यक्ति, समूह प्रवेश गरी लुटपाट एवं अन्य अपराधिक घटना घटाउने चुनौती रहेको उल्लेख गरिएको छ ।

त्यस्तै सीमा पारी अपराध गरेर सीमा वारी आइ लुक्ने प्रवृत्ति रहेको र भन्सार नभएका बिन्दुहरूबाट चोरी, निकासी, तस्करी हुने गरेको पनि उल्लेख गरिएको छ । खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा शरणार्थीहरूको प्रवेश र तेस्रो देशका नागरिकहरूको अवैध घुसपैठ हुने गरेको पनि जनाइएको छ ।

सरकारले सीमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको परिचालन गरेको जनाएको छ । नियमित रूपमा सीमावर्ती समकक्षीहरूसँग बैठक गरी अन्तरसीमा अपराध नियन्त्रण लगायतका विषयमा समन्वय गरिएको उल्लेख छ ।

त्यस्तै सीमा स्तम्भहरूको नियमित रूपमा अनुगमन गरी भत्किएका, बिग्रिएका सीमा स्तम्भहरूको मर्मत सम्भार गरिएको सरकारको विवरणमा बताइएको छ । सशस्त्र प्रहरी बल नेपालबाट १४ हजार २१२ जनशक्ति सीमा सुरक्षार्थ परिचालन गरिएको र हालसम्म भारततर्फ २४२ र चीनतर्फ ८ गरी जम्मा २५० स्थानमा बिओपी स्थापना भई सञ्चालनमा रहेको स्पष्ट पारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =