र्‍यापर लाउरेले दिए पोखराका मेयरलाई महानगर चलाउने टिप्स

पोखरा । चर्चित र्‍यापर आशिष रानामगर (लाउरे)ले पोखराका मेयरलाई महानगरपालिका व्यवस्थित रुपमा सञ्चालन र विकासका लागि ‘टिप्स’ दिएका छन् । उनले ११ बुँदे सुझाव पठाएर आफू पनि पोखराको विकासमा सहयोग गर्न तयार रहेको बताए । महानगरको सडक देखि सरसफाइसम्म दयनीय भएको भन्दै उनले सुधारका लागि सुझाव दिए ।

‘पोखरा नेपालको सुन्दर, सफा र पर्यटकीय सहर भनेर चिनिन्छ तर पोखराको प्रवेशद्वार रंगशाला नजिकैको बजारबाट कुहिएको माछा र तरकारीको दुर्गन्धले पर्यटकलाई नराम्रो माहोल बनाएको छ । उनीहरुले फोहोरजति बेवास्ता गरेर सडकमै फालेका छन्,’ उनले भने । लाउरेले सडकमा जताततै खाल्डाखुल्डी भएकोले दुर्घटना बढेकोमा सचेत गराए ।

‘भित्री टोल र गल्लीको सडक अवस्थालाई केही समयको लागि अलग राखौँ, उनी भन्छन्, ‘मुख्य बजारका सडकको अवस्था दरार र खाल्डाले भरिएको छ,’ ‘ती भत्किएका सडकको मर्मत सम्भार गर्दा प्राधिकरणले राति देखिने ‘सावधानी’ चिन्ह कहिल्यै राखेन । जसले गर्दा धेरै दुर्घटना, गम्भीर चोटपटक र मृत्युसमेत हुने गरेको छ ।’

चोकहरुको डिजाइन र नियम भ्रमित खालको भएकोले सुधार गर्न लाउरेको सुझाव छ ।

पोखरामा नगरबसले गरेका बदमासीमा उनले ध्यानाकर्षण गराएका छन् । ‘कुनै बस स्ट्यान्ड छैन । सार्वजनिक बसहरूले यात्रु ओराल्ने ठाउँमा रोकिएर समस्या, ट्राफिक जाम र दुर्घटनासमेत गराउँछन्,’ अघि भने, ‘३० पोखराका लगभग हरेक सडक बत्ती नेपाली नागरिकको भविष्य जस्तै धमिलो छन् । कुनै पनि सडक बत्तीहरू रातको समयमा सुरक्षित र निर्धक्क भएर सवारी साधन चलाउन पर्याप्त उज्यालो छैन ।’

मेयर धनराज आचार्यलाई पोखराका प्रत्येक टोलमा खेल मैदान वा जनस्वास्थ्य तथा फिटनेस सेन्टर खोल्न आग्रह गरेका छन् । यसबाट युवाहरूलाई खेलकुद र फिटनेसमा संलग्न गराउँदा भविष्यमा राम्रो खेलाडी उत्पादन हुन सक्ने लाउरेको तर्क छ ।

‘यो सानो पहलहरूले भविष्यका खेलकुद च्याम्पियनहरूलाई जन्म दिन सक्छ र सबैभन्दा महत्वपूर्ण कुरा यसले समाजमा लागुऔषधको समस्या, युवाहरूमाझ हुने गिरोह हिंसा उन्मूलन गर्नेछ,’ उनले भने । लाउरे आफैँ पनि लागूऔषधमा फसेर निस्किएका थिए ।

पोखरा कला र संगीतको महत्वपूर्ण थलो भएकोले त्यसको संरक्षण र विकासमा पनि उनको जोड छ ।

‘नेपाली कला, संगीत र मनोरन्जनको क्षेत्रमा पोखराले महत्वपूर्ण योगदान र उदाहरण दिँदै आएको छ,’ उनी अघि भन्छन्, ‘जसलाई हाम्रो सरकारी क्षेत्रबाट कहिल्यै मान्यता नदिइएका पोखरेलका दिग्गज कलाकारहरू छन् । सरकारको तर्फबाट कला, संगीत र मनोरञ्जनका लागि एउटै प्रेक्षागृह वा कन्सर्ट हल खोलेर सानो सहयोगले ठूलो फरक पार्न सक्छ । हामी कलाकारको हैसियतले सरकारलाई कर तिरिरहेका छौँ ।’

प्रदेश सरकारले पनि युवाहरुको रचनातत्मकतामा ध्यान दिनुपर्ने र समाज सेवामा केन्द्रित गराउनुपर्नेमा उनको जोड छ । केही समयअघि युवाहरुले प्लाष्टिकबाट रोड पीच गरेको प्रसंगसहित उनले नवप्रबर्तनका कार्यक्रममा सरकारलाई केन्द्रित रहन सुझाव दिएका छन् । उनले नेपालका रत्न, तारा र महापुरुषहरुको नाममा फेवाताल किनारमा शालिक वा मूर्ती बनाउन सकिने सुझाव दिए ।

यस्तै प्रयोग अमेरिकाको हलिवुड वाक अफ फेम स्ट्रीटमा गरिएको छ । ट्राफिक प्रहरीले अँध्यारो कुनामा चेकजाँच गर्दा दुर्घटना निम्तिन सक्ने भन्दै खबरदारी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *