एमालेको लगातारको अवरोधले राष्ट्रियसभा सर्‍यो

एमालेद्वारा चौंथो पटक पनि राष्ट्रियसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आज चौंथो पटक पनि राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ ।

आईतबार राष्ट्रियसभा बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म आफूहरूले संसद् अवरुद्ध पार्ने काम बन्द नगर्ने अडान लिएपछि राष्ट्रियसभा बैठक पुनः स्थगित हुन पुगेको छ ।

बैठकमा बोल्दै एमालेकी सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म आफूहरूले संसद् अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने अडान राखे । उनले प्रधानमन्त्री दाहाल संसदमा आएर सो विषयको स्पष्टीकरण दिन लायक नरहेको जिकिर समेत गरे । सांसद न्यौपानेले नेपालको सरकार बनाउन भारतलाई खुला आमन्त्रण गर्ने गरी अभिव्यक्ति दिने प्रधानमन्त्री दाहालले कसरी आफूले सो कुरा बोलेको होइन भनेर भन्नु भएको हो ? भनी प्रश्न समेत गरे ।

उनले भने, ‘हामी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुख्य पात्र भएर गरिरहनु भएको प्रहसनको नाटक हेरिरहेका छौँ । वास्तवमा पाष्ट हिष्ट्री सम्झन मन लाग्दैन । विगतमा पनि जनयुद्ध गर्दैगर्दाखेरी उहाँ र एक जना नेताले भारतलाई लेखेको पत्र पछि सार्वजनिक भएको थियो । उहाँ धेरै ढाँट्नु हुन्छ देशलाई । धेरै ढाँट्नु हुन्छ नेपाली जनतालाई । उहाँ स्वाधीनताको विरुद्धमा धेरै पटक उभिनु भएको छ । उहाँका यस्ता कर्तुतहरू विगतमा पनि धेरै देखिए । मैले दृष्टान्तका लागि मात्रै विगतका केही कुरा जोडदैछु । एमसीसीको विरुद्धमा यहाँ बोल्नु भयो । तर एमसिसी बोर्डलाई पत्र लेख्नु भो । एमसिसी पास गर्ने प्रतिबद्धता जनाएर, बाचा जनाएर पत्र लेख्नु भयो । गठबन्धनका दुई नेता मिलेर प्रतिविद्धतासहितको पत्र लेख्नु भो । यति समयसीमा पास गर्छौ भनेर लेख्नु भयो । तर यहाँ सो प्रस्तावमा पारित गराउनु भयो । त्यही समयमा कार्यकर्तालाई उफार्नु भयो । मैले यो दृष्टान्त किन दिँदैछु भने उहाँ नाटक गर्न धेरै सिपालु हुनुहुन्छ । उहाँले स्वाधीनताको विरुद्ध, यो देशको राष्ट्रियताको विरुद्धमा, स्वाभिमानका विरुद्धमा पटक पटक धावा बोल्नु भएको छ । भारतलाई नेपाल सरकार बनाउन खुला रूपमा आमन्त्रण गर्नु भएको छ । यो भन्दा केही वर्ष अगाडि पनि । यो भन्दा अगाडि भारतका निम्ति कम्र्फटेवल सरकार बनाउनका लागि भारतलाई खुला रूपमा सहयोग माग्नु भयो । र, आमन्त्रण गर्नु भयो । यो यो दल भयो भनेर भारतका निम्ति कम्र्फटेवल हुन्छ भनेर । हुँदै जाँदा उहाँले त्यस्ता गल्तीहरू धेरै गर्नु भयो । म धेरै वर्ष अगाडिका कुरा गर्दिन । केही समय अगाडि भारतमा जाँदे गर्दाखेरी पनि उहाँले धेरै राष्ट्रघाती सहमति गरेर आउनु भएको छ । हामीले यही सदनमा कुरा उठायौँ–इपिजीको बारेमा तपाई बोल्नु भयो कि भएन प्रधानमन्त्रीज्यू । के कुरा राख्न भयो ? भारतमा गएर भन्दै गर्दा यही सम्मानित सदनमा उत्तर दिनु भयो–मैले इपिजीको बारेमा केही कुरा उठाएको भए वातावरण बिग्रन्थ्यो भनेर । म खत्रक्कै परिन्छ कि भनेर त्यो कुरा उठाईन भनेर भन्नु भयो । उहाँले ग्रेटर भारतको नाममा भारतले नक्सा प्रकाशन गर्दै गर्दा त्यो नेपालको भूमि, नेपालको माटो समेटिएर प्रकाशन गरेको नक्सा हेरेर आउनु भयो । उहाँलाई दुखेन, अलिकति पनि पीडा भएन । उहाँलाई अलिकति पनि पोलेन । त्यसै गरेर फुकोट कर्णाली नेपाल आफैँले बनाउने भनेर मन्त्रीपरिषद्ले निर्णय गरेको कुरा उहाँले भारतलाई सुम्पेर आउनु भयो । यस्ता राष्ट्रघाती काम गर्दाखेरी प्रधानमन्त्रीज्यू तपाईले पुर्खाहरुको इतिहास सम्झनु भएन ? यो देश बलभद, भक्ती थापा, अमर सिंहहरुले गरेको योगदान सम्झनु भएन ? त्यसैले तपाईले म दुर्लभ प्रधानमन्त्री हुँ भनेर जसरी भन्नु भएको छ । दुर्लभ प्रधानमन्त्रीले गर्ने यस्तै हर्कत हो । राष्ट्रियताको विरुद्ध, स्वाधीनताको विरुद्ध कति पटक सहने ? पछिल्लो दिनमा उहाँले जे गर्नु भयो । म भन्न चाहन्छु–प्रधानमन्त्रीज्यू तपाईका धेरै कर्तुतहरू पछि खुल्दै जान्छन । बरु तपाईले अहिले नै एकमुष्ट रूपमा यो संसदमा आएर होइन, संसदलाई त तपाईले धेरै अपमान गर्नु भयो । संविधान च्यात्नु भयो । कानुन च्यात्नु भयो । संसदलाई अपमान गर्नु भयो । संसदले बनाउने होइन प्रधानमन्त्री भन्ने सन्देश दिनेगरी छिमेकी देशले बनाउने हो भन्ने सन्देश गरी प्रस्तुत हुनु भयो । संसदमा होइन बाहिर कसैको पुस्तक विमोचनमा गएर बरु एकमुष्ट रूपमा भन्नुस प्रधानमन्त्रीज्यू, तपाईले यो देशमा राजनीतिक हस्तक्षेपका निम्ति को कोलाई प्रयोग गर्नु भएको छ, क–कसलाई पत्र पठाउनु भएको छ । भोली भविष्यले खोज्ला । बरु किस्ता बन्दीमा बनेर कति पटक विवादित हुनुहुन्छ ? एकैपटक भनिदिनु होला । त्यसैले म भन्न चाहन्छु–अव तपाईले संसदलाई जवाफ दिन आवश्यक छैन । किनभने तपाईँको कुरा प्रष्टसँगले आईसकेको छ । तपाईले प्रष्टसँग भन्नु भएको छैन र ? बाहिर भाषण गर्दै हुनुहुन्छ अझ मैले बोलेको होइन भनेर । प्रष्टसँग तपाईले बोलेको, तपाईकै सस्वर आएन र प्रधानमन्त्रीज्यू । तपाईले भन्नु भएको यही होइन र–मलाई प्रधानमन्त्री बनाउनका निम्ति धेरै मेहनत गर्नु भयो । प्रितम सिंहले मलाइ प्रधानमन्त्री बनाउन धेरै पटक भारत जानु भयो भनेर प्रष्टसँग तपाईले भन्नु भएको होइन ? अनि मैले बोलेको होइन भन्ने नैतिकता छैन प्रधानमन्त्रीज्यू । देश नैतिकताले चल्छ, कानुनले चल्छ । किनभने यो स्वाधीनताको विषय हो । राष्ट्रियताको विषय हो । यो सामान्य विषय होइन । त्यसैले तपाई यो संसदमा आएर जवाफ दिन लायक प्रधानमन्त्री हुुनुहन्न । र, प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य पनि हुुनुहुन्न । त्यसैले एउटा मात्रै समाधान भनेको तपाईँको बहिर्गमन हो । तपाईँको बहिर्गमन नहुँदासम्म हाम्रो माग जारी रहन्छ ।’

सांसद न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहालले यस अघि पनि पटक पटक राष्ट्रघाती काम गरेको उल्लेख गर्दै अव सैह्य नहुने चेतावनी समेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + six =