किन छुट्टिन चाहन्छ पोखराबाट लेखनाथ ?

पोखरा । भूगोलका हिसाबले देशकै ठूलो महानगरमा साबिकको पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका र नजिकका गाउँ विकास समितिहरू गाभिएका छन् ।

२०७३ सालमा महानगरपालिका घोषणा हुँदा धेरैको अपेक्षा थियो, आफ्नो क्षेत्रमा महानगरको सुविधा पुग्नेछ र विकास हुनेछ । स्थानीय तह बनेपछि पोखराले दुवै कार्यकाल लेखनाथ क्षेत्रबाट मेयर पायो । पहिलो कार्यकाल साबिक कालिका गाविसका मानबहादुर जिसी मेयर बने । दोस्रो कार्यकाल साबिक भरतपोखरी गाविसबाट धनराज आचार्य मेयर बनेका छन् ।

तैपनि लेखनाथ बासी महानगरको कामबाट सन्तुष्ट छैनन् । उनीहरूले पोखराबाट साबिक लेखनाथलाई छुटाएर पूरानै नगरपालिका स्थापित गर्ने अभियान सुरु गरेका छन् । महानगरबाट हेपिएको, विकासमा पछि पारिएको र अधिकारको प्रत्यायोजन तल्लो तहमा नभएको गुनासो उनीहरूको छ । लेखनाथवासीले हाल १ लाख हस्ताक्षर अभियान चलाएका छन् । पटक पटक त्यस क्षेत्रका अगुवाहरूले सत्ता सञ्चालकहरूलाई भेटेर लेखनाथ छुट्याइदिन आग्रह पनि गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखनाथ उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले भेटेर लेखनाथ र पोखरा छुट्टाछुट्टै बनाइदिन माग गरे । पोखरा आएका सबै शीर्ष नेताहरूसँग लेखनाथवासीले भेट्छन् र लेखनाथ छुट्याउन माग गर्छन् । विकासले नछोएकोले बाध्य भएर नगरपालिका छुट्याउन दबाब सिर्जना गरेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बताए । ‘महानगर भएपछि न्यूनतम सुविधा त हुनुपर्छ नि । हिजो लेखनाथ नगरपालिका हुँदा भन्दा पनि भद्रगोल अवस्था बन्यो,’ उनले भने, ‘पोखराले लेखनाथलाई हेर्ने दृष्टिकोण फेरिएन । महानगर भनेको हिजोको पोखरा मात्रै हो भन्ने भ्रम अहिलेसम्म कायम छ ।’

आफूहरूले हेपिएको महसुस गरेको उनले सुनाए । ‘महानगर भन्दैमा विकास र सुविधा नहुँदो रहेछ । हामीले त हेपिएको महसुस गरेका छौँ,’ उनी भन्छन्, ‘अब पुरानो लेखनाथ कायम गरेमात्रै हाम्रो सम्मान हुन्छ । लेखनाथवासीले निरन्तर यसैको आवाज उठाइरहेका छन् ।’ बुधबारदेखि लेखनाथका नागरिकले नगरपालिका टुक्र्याउने अभियानमा हस्ताक्षर गरिरहेका छन् । पहिलो दिन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकै अगाडी हस्ताक्षर अभियान थालिएको हो ।

पालिका छुट्याउने अभियान स्वः स्फूर्त आएको बताइएको छ । यसमा सबै क्षेत्रका व्यक्तिहरू सक्रिय छन् । कूल जनसङ्ख्यामध्ये दुई तिहाइले छुट्टिन चाहेको खण्डमा स्थानीय संरचना फेरबदल गर्न सकिनेछ । यसको लागि सम्बन्धित पालिकाले सिफारिस गर्नुपर्छ । ‘हेपिएपछि विद्रोह हुन्छ । हामी हेपियौँ र विद्रोह गरेका छौँ,’ पत्रकार समेत रहेका लेखनाथका बासिन्दा कमल सुवेदीले भने, ‘अब यसले एउटा टुंगो दिन्छ । हामी पोखरामा रहन सक्दैनौँ । अलगिन चाहन्छौँ ।’

वि. सं. २०१६ सालमा तत्कालीन नगर पञ्चायत स्थापना भएको हो । २०५२ मा उक्त नगर पञ्चायत उपमहानगरपालिका बन्यो । त्यसपछि केही गाविसहरू गाभियो । पछि स्थानीय तह बन्ने बेलामा धेरै गाविस र सिंगो नगरपालिका नै गाभिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *