प्रचण्डको राजीनामाबाट ‘ब्याक’ भएन एमाले, सदनको अवरोध जारी राख्ने

काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शुक्रवारको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक -२०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक -२०८० पेस गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक-२०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
र, आजै सो विधेयकमाथि संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद् सचिवालयले मुलुकी संहिता सम्बन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
तर, संसद् बैठक सुचारु हुने सम्भावना भने छैन । किनकि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटा अभिव्यक्तिका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ । प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको एमालेले आज पनि सदन चल्न नदिने बताएको छ ।
प्रमुख सचेतक पदम गिरीले आजको संसद् बैठकमा पनि विरोध जारी राख्ने बताए । ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान कायमै छ, त्यसैले आज पनि हाम्रो विरोध जारी रहन्छ,’ उनले भने ।
आजै राष्ट्रियसभाको बैठक बोलाइएको छ । बिहान ११ः३१ बजे बैठक बस्नेछ । एमालेकै अवरोधका कारण राष्ट्रियसभा पनि अवरुद्ध हुँदै आएको छ ।








