राजमार्ग सुधार्न एडीबीकाे ऋण स्वीकार्ने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौँ । सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रूपमा तीस करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
यही असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भन्सार तथा लजिष्टिक सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकबाट बजेट सहायताको रूपमा प्राप्त हुने पाँच करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बैठकले एमसिए–नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि–२०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।
सरकारले पुष्पपाल (मध्यपहाडी) राजमार्ग आयोजनाअन्तर्गत सडक सीमा रेखाभित्र पर्ने कास्कीको रुढीखोला–भैँसे सडक खण्डका घररटहरा हटाउन स्वीकृति दिएको छ । त्यस्तै, बैठकले थाइल्याण्डको बैंककमा हुने शिक्षासम्बन्धी उच्चस्तरीय कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलाई सहभागी हुन स्वीकृति दिएको छ । यस्तै बैठकले निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने तथा नेपाल न्याय सेवा, कानुन समूहको राजपत्राङ्कित प्रथम श्रेणीका सात अधिकृतको सरुवा गर्ने निर्णय गरेको छ ।
बैठकले हुलाक बचत बैंकमा रहेका बचतकर्ताको खाताहरू राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिइन् ।
यस्ता छन् निर्णयहरु
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =