सवारी लाइसेन्सको राजस्व अब अनलाइनबाटै भुक्तानी सेवा शुभारम्भ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रको सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मन्त्री ज्वालाले सेवा प्रवाहको कामलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउँदै सुशासनको प्रवर्धन गर्न सरकारले विज्ञहरूसहित यातायात क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको र त्यसले दिएको सुझावलाई छिट्टै कार्यान्वयनमा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे । बुधवार मन्त्रालयमा आयोजित ‘सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाह शुभारम्भ कार्यक्रम’ मा बोल्दै उनले सार्वजनिक यातायातको उचित व्यवस्थापन, चालक अनुमति पत्र लिनका लागि महिनौँ कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने आश्वासन समेत दिए ।
यसका लागि प्रदेश सरकारलाई समेत चालक अनुमति पत्र प्रिन्टिङ गर्ने व्यवस्थाका लागि बजेटको समेत व्यवस्था गरिएको मन्त्री ज्वालाको भनाई थियो । उनले भने ‘वर्तमान सरकार सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउँदै सुशासन प्रवर्धन गर्न प्रतिबद्ध छ । यसका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न यातायात क्षेत्रका विज्ञहरूसहित यातायात क्षेत्र सुधार सुझाव कार्यदल गठन गरिसकिएको छ । र, त्यो कार्यदलले सुझाव लिने काम चाहिँ अन्तिम चरणमा पुर्याएको छ ।
सुशासन समितिले हामीलाई प्रतिवेदन बुझाइसकेको छ । हामी केही दिन भित्रै त्यो प्रतिवेदन पनि सार्वजनिक गर्दैछौं । त्यसलाई हामी अव कार्यान्वयनमा लैजान्छौँ । यातायात क्षेत्र सुधार सम्बन्धी जुन कार्य दल छ । त्यो कार्यदलले पनि आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ । त्यो सुझावसमेत लिएर हामीले त्यसलाई कार्यान्वयन गर्नेगरी अगाडि बढछौं । सार्वजनिक यातायात व्यवस्था, सवारी चालक अनुमति पत्रको सहज उपलब्धता, सो अनुमति पत्र लिनका लागि महिनौँ कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नेगरी बजेटको व्यवस्था पनि गरिएको छ ।’
मन्त्री ज्वालाले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गर्ने कामलाई अन्तिम चरणमा पुर्याएको पनि दोहोर्याए । उनले चालक अनुमति पत्रका लागि लिने परीक्षा प्रणालीलाई पनि सुधार गर्दै लैजाने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *