प्रधानमन्त्री प्रचण्डको आरोप– मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध गरिँदैछ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताएका छन् ।
आज दिउँसो नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा महिलाको भेलालाई सम्बोधन गर्दै उनले सरकारले गरेका राम्रा कामबाट तर्सिएर प्रतिपक्षीले संसद् अवरोध गरेको बताए ।
‘मैले एउटा पुस्तक विमोचनमा सन्दर्भवश भनेको कुरालाई बङ्ग्याएर संसद् अवरुद्ध गर्ने कोसिस हुँदैछ । खासमा यसको अर्थ अर्कै छ । मिटरबाजीहरूलाई कारबाही गर्ने ऐन आज संसद्बाट पास हुने कार्यसूची थियो । कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छ । भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन । यसलाई रोक्न संसद् अवरुद्ध गरिँदैछ ।’
सरकारले भ्रष्टाचारविरुद्ध लडाइँ थालेको उल्लेख गर्दै उनले सुशासनको लडाइँमा आफूहरूले जित्ने दाबी गरे । ‘हामी सुशासनको पक्षमा, भ्रष्टाचारविरुद्धको लडाइँ लडिरहेको छौँ, यो लडाइँमा हामी जित्छौँ’ प्रधानमन्त्री दाहालले भने ‘विगतमा हामी विभाजित भयौँ, त्यसले कमजोर पनि भयौँ । तर अहिले परिस्थिति फेरिएको छ । माओवादी धाराका सबै शक्ति एकताबद्ध हुँदैछौँ । वि.सं २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ ।’
उनले युवा तथा महिलालाई सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लाग्न निर्देशन दिए । आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको जनाउँदै उनले भ्रमणका क्रममा भएको सम्झौताबाट नेपालले ठूलो लाभ लिने बताए ।
‘विद्युत् व्यापार सम्झौता सामान्य कुरा होइन । १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ । सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ । यो अत्यन्तै महत्त्वपूर्ण छ’ प्रधानमन्त्री दाहालले भने ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *