सभामुखसहित शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

काठमाडौँ । सभामुख देवराज घिमिरेको पहलमा शीर्ष नेताहरूको बैठक बसिरहेको छ । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा शीर्ष नेताहरूको बैठक सुरु भएको हो ।

बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता सहभागी भएका छन् । सभामुख घिमिरेको आह्वानमा बसेको बैठकमा सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।

गत १५ वैशाखमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि २ जेठमा एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरूले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *