जिम्बावेलाई हराउँदै श्रीलंका विश्वकपमा

श्रीलंकाले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा घरेलु टोली जिम्बावेलाई ९ विकेटले हराउँदै एक खेल अगावै विश्वकपमा पुगेको छ । सुपर सिक्समा आठ अंक भएपछि श्रीलंकाले यसै वर्ष अन्तिममा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने पक्का भएको हो ।

जितको लागि १ सय ६६ रनको मध्यम लक्ष्य श्रीलंकाले ३३।१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा पाथुम निसांकाले १ सय २ बलमा १४ चौकासहित १ सय १ रनको सानदार शतकीय इनिङ खेले ।

दिमुथ करुणारत्ने ५६ बलमा २ चौकासहित ३० रनमा आउट भए । पहिलो विकेटका लागि दिमुथर पाथुम निसांकाले १ सय ३ रनको शतकीय साझेदारी गर्दै सहज जित पक्का गराएका थिए।

त्यसअघि क्विन्स स्पोर्ट्स क्लबम टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे ३२।२ ओभरमा १ सय ६५ रनमा अल आउट भएको थियो । जिम्बावेका अनुभवी ब्याटर सन विलियम्सले ५७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५६ रन बनाए । तर त्यो रन जितको लागि पर्याप्त हुन सकेन ।

श्रीलंकाको उत्कृष्ट बलिङसामु प्रमुख ब्याटर चल्न नसकेपछि सस्तैमा अल आउट भएको हो ।

श्रीलंकाकाको जितमा स्पिनर महेश थिक्सेनाले ८।२ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिलशान मदुशानकाले ५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । पथिसा पाथिरानाले दुई र दाशुन शानकाले समान एक विकेट लिए ।

श्रीलंका सुपर सिक्समा ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहँदै आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो । श्रीलंकाले आफ्नो अन्तिम खेल शुक्रबार वेस्टइन्डिजसँग खेल्नेछ । उक्त खेलमा पराजित भएपनि अन्तिम दुईमा रहेर श्रीलंका विश्वकप खेल्ने पक्का भएको हो ।

जिम्बावे ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । जिम्बावेले अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेलमा जिम्बावे विजयी भएमा विश्वकपमा पुग्नेछ।

स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ। स्कटल्यान्डले अव मंगलबार जिम्बावे र विहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

यी दुबै खेलमा विजयी भएमा स्कटल्यान्ड विश्वकपमा पुग्नेछ । वेस्टइन्डिज र ओमान जित विहीन हुँदै विश्वकप दौडबाट बाहिरिएका छन्। नेदरल्यान्ड्स भने ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ चौथो स्थानमा छ । नेदरल्यान्ड्सको विश्वकप सम्भावना अंक गणीतिय मात्रै बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *