विश्वकप छनोटको प्लेअफमा नेपालले युएईलाई हरायो, धरासायी नेपालका लागि दीपेन्द्रको विजयी इनिङ

दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफमा युएईलाई तीन विकेटले पराजित गरेको छ। यो जितसँगै नेपालले विश्वकप छनोटको सातौं स्थानका लागि हुने अन्तिम खेलमा मंगलबार टेस्ट टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।

जितको लागि १ सय ८२ रनको लक्ष्य पछ्याएको नेपालले ४३।२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रनमा अविजित रहे।

सन्दीप लामिछाने ३७ बलमा २ चौकासहित २३ रनमा नट आउट रहे । आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले १५ ओभरमा ७९ रनको अविजित साझेदारी गर्दा धरासायी बनेको नेपालको जित सम्भव बन्यो।

६३ रन बनाउँदा ६ विकेट गुमाइसकेको नेपालका लागि दीपेन्द्रले गुलशन झासँग ४३ रनको महत्वपूर्ण साझेदारी गरे। गुलशन २४ बलमा १ चौकासहित १२ रनमा आउट भए। उनले टोलीलाई आवश्यक साझेदारी गर्न तथा टिक्न सकेनन्।

दोस्रो ओभरको पहिलो बलमै ओपनर तथा विकेटकिपर अर्जुन साउदलाई एक रनमा गुमाएको नेपालले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई पनि सस्तैमा गुमाउन पुग्यो।
साता महिनापछि टोलीमा मौका पाएका अर्जुनले अवसर सदुपयोग गर्न सकेनन्। विश्वकप छनोटमा पहिलो पटक मौका पाएका ज्ञानेन्द्र पनि त्यसमा चुके।

आसिफ शेखलाई विश्राम दिँदै अर्जुनलाई मौका दिएको थियो । ज्ञानेन्द्र मल्ल १३ रनमा क्याच आउट हुन पुगे ।

कप्तान रोहित पौडेल ४ रनमा समातिन पुगेका थिए । आरिफ शेख एक रनमा एलबीडब्लू धरापमा पर्दा कुशल भुर्तेलले पनि लय गुमाए। कुशल भुर्तेल ५९ बलमा ४ चौकासहित ३५ रनमा आउट भए ।

नेपाल २०।५ ओभरमा ६३ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो। त्यसपछि दीपेन्द्रले गुल्सन र सन्दीपसँग उत्कृष्ठ साझेदारी गर्दै नेपाललाई जिताएका हुन्।

त्यसअघि जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४६।५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो । युएईका कार्यवाहक कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाएका थिए । तर त्यो रन जितको लागि पर्याप्त हुन सकेन ।

आयरल्यान्डविरुद्ध घाइते भएका कप्तान मोहम्मद वासिम नहुँदा युएईले आसिफ खानलाई ओपनिङ पठाएको थियो । मध्यक्रमका ब्याटर आसिफ नेपालविरुद्ध पहिलो ओभरको दोस्रो बलमै शून्यमा आउट हुन पुगेका थिए ।

उनी तीव्र गतिका बलर करण केसीको बलमा एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच हुन पुगेका थिए । ओपनरलाई दोस्रो बलमै गुमाएपनि युएईका दुई युवा ब्याटर अर्यांश शर्मा र वृत्यले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै उक्त साझेदारी तोडेका थिए । सन्दीपको १५ औं ओभरको अन्तिम बलमा अर्यांश शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे ।

सन्दीपले मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गर्दै दबाब बढाएका थिए । तीव्र गतिका बलर गुलशन झाले कार्यवाहक कप्तान वृत्य अरविन्दलाई बोल्ड आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । पाँचौं विकेटका लागि रोहन मुस्तफा र बासिल हामिदले ५८ रनको साझेदारी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *