दृष्टिविहीनता भएतापनि कला हेर्न नछोड्नेहरू

सन्जिया श्रेष्ठलाई टिभी हेर्न असाध्यै मन पर्थ्यो । 

उनी आफ्नी दिदीबाहेक घरका सबै सदस्य सुतिसकेपछि लुसुलुसु बैठक कोठा आउँथिन् । टिभीको आवाज एकदम सानो पार्थिन । अनि कान टँसाएर एकत्रित ध्यान दिएर दिदीसँग टिभी हेर्थिन् । त्यसरी हेर्दै गर्दा दिदीलाई अनेकौँ जिज्ञासा पोख्दै प्रश्न गर्थिन् । 

‘नायिकाले कस्तो लुगा लगाएकी छिन् ?’

‘रिसाएका कलाकारको आँखाको भाव कस्तो छ ?’

‘झापड हानेको दृश्य नजिकबाट खिचेको छ कि टाढाबाट ?’ 

आदि आदि । 

उनी जन्मँदै दृष्टिविहीन हुन् । आँखा अगाडि कालो धमिलो पानी भएको बोतल राख्दा जति देख्न सकिन्छ सन्जिया त्यतिमात्र देख्न सक्छिन् । तर आँखा नदेखेपनि कलाका अनेक विधाको रसमा घुल्न उनलाई केहीले रोकेको छैन । उनी चित्रकला, नृत्यकला, साहित्य, सङ्गीत जस्ता हरेक प्रकारका कलामा असाध्यै रुचि राख्छिन् । चित्रकला हेर्दा भने उनलाई अरू विधामा जस्तो सजिलो हुँदैन । अरू कलाकारले प्रस्तुत गरेका नृत्य र नाटक देख्न नसके पनि आफैँ नृत्य र नाटकमा भाग लिएर ती कलाको भरपुर आनन्द भने लिने गरेकी छन् । 

‘कला अभिव्यक्तिको माध्यम भएकोले म चित्र कोर्दा, नृत्य गर्दा, अभिनय गर्दा मेरा भावनाहरूलाई अविरल बगिरहने खोला झैँ बहन दिन्छु’ उनी भन्छिन् ।

उनी आफूले कल्पना गरेको तस्बिरको चित्र उतार्न सक्छिन् । फोटोग्राफीमा “रुल अफ थर्ड” को नक्कल गरी पानालाई छ वा चार भागमा भाग लगाउँछिन् । अनि चित्र बनाउँछिन् । 

‘अस्ति मैले सुन्दर आकाश र बगैँचाको चित्र बनाउँदा पानालाई चार भाग लगाएकी थिए । माथिको दुई भाग आकाश भएकोले निलो रङ र तलको दुई भाग बगैँचा भएकोले हरियो रङ लगाएको थिएँ ।’ उनी उत्साहित हुँदै सम्झिन्छिन् ।

सन्जिया जस्तै अभिषेक शाही कला भनेपछि उत्साहित भइहाल्छन् । आँखा नदेखे पनि उनी चलचित्र हेर्न गइरहेका हुन्छन् । बोलिएका संवाद सुनेर अनि छेउमा बस्ने साथीले छिनछिनमा गरेको व्याख्याबाट चलचित्रलाई आफ्नो तरिकाले बुझ्न सफल हुन्छन् । आँखा नदेख्ने भएर पनि किन चलचित्र हेर्न आएको भनेर मुखमै कसैले त भनेका छैनन् उनलाई ।

तर कहिलेकाहीँ साथीहरूसँग चलचित्र हेर्न जाँदा उनका साथीलाई अरू व्यक्तिहरूले यी भाइले कसरी हेर्छन् भनेर एकदम आश्चर्यचकित भई सोध्छन् ।म्युजियम र आर्ट ग्यालेरि जाँदाको अनुभव राम्रो र फलदायी हुनुको श्रेय उनी आफूसँग गएको साथीलाई दिन्छन् । तर त्यसले सँधैभरी सन्तुष्टि भने दिँदैन । कहिलेकाहीँ दिक्क पनि लगाउँछ । ‘साथीले हजारौँ शब्द बोल्ने तस्बिर र हजारौँ भावना व्यक्त गर्ने कलाको स्पष्ट व्याख्या गर्न नसक्दा त्यहाँ बेकार गएछु झैँ महसुस पनि हुन्छ’ अभिषेक भन्छन् ।

सन्जियाका लागि पनि म्युजियम र आर्ट ग्यालरी जाँदाको सबै भन्दा नरमाइलो पक्ष भनेको कला र सङ्ग्रह गरेर राखेका वस्तुहरू छोएर बुझ्न त परै जाओस् नजिक पनि जान नपाउनु हो । छेउको साथीले मज्जाले वर्णन गरे पनि अझै कस्तो देखिन्छ होला भन्ने कौतुहलता सन्जियामा पनि मेटिँदै मटिँदैन । अझै धेरै कुराहरू बुझ्ने र जान्ने जिज्ञासा रहँदा रहँदै पनि साथीले बयान गरेका कुरामै चित्त बुझाउनु पर्छ । छोएर बुझ्न सकिने खाले प्रदर्शनीहरू पनि भइदिए हुन्थ्यो जस्तो उनलाई लाग्छ ।

गायक तथा सङ्गीतकार उज्ज्वल सागर पनि जन्मँदै दृष्टिविहीन हुन् । उज्ज्वल को घरमा रेडियो घन्किरहन्थ्यो ।  तीन चार वर्षको उमेर हुँदाबाट त्यही घरको रेडियोमा बजिरहने धुन, गीत र सङ्गीत सुनेदेखि उनको सङ्गीत प्रतिको रुचि र लगाव सुरु हुन थाल्यो । अहिले उनी गितार, हार्मोनियम, किबोर्ड जस्ता वाद्यवादन मज्जाले बजाउँछन् । गीत आफैँ एरेन्ज गर्छन् । गाउँछन् । आफ्नो च्यानलमा गीतहरू अपलोड गर्छन् ।

कहिलेकाहीँ उज्ज्वल साथीसँग सिनेमा र नाटक हेर्न पनि गइरहेका हुन्छन् । उनलाई चलचित्रमा के भइरहेको छ त्यो सँग सरोकार हुँदैन । त्यसमा भएका गीत र सङ्गीत, धुन, गीतका शब्द र लय आदिले उनलाई सन्तुष्टि दिन्छ । सुन्ने र जान्ने कौतुहलता अझै बढी हुन्छ ।

पछिल्लो समय पोखरामा भएको नेपाल साहित्य महोत्सवमा सातै दिन हाजिर भएका उज्ज्वल सङ्गीत मात्र हैन साहित्य प्रेमी पनि हुन् । उनले त्यहाँ गोपाल योञ्जनको गीत पनि गाएका थिए । उनी अडियोमार्फत किताबहरू सुन्छन् । अहिले किताब पढिदिने धेरै एप आएका छन् । त्यसैको माध्यमबाट किताब पढ्छन् । दिनभरि बसेर अडियो पुस्तक पढ्न पाएको दिन उनका लागि सबैभन्दा आनन्ददायी हुन्छ ।

जन्मँदै दृष्टिविहीन जलसा सापकोटाका लागि सानो छँदा आमाले मिठो बोलिले एक किसिमको लयका साथ दिएका आज्ञा जस्तै “नानु सुत, नानु नाना लगाऊ, नानु खाना खाऊ” आदि सङ्गीत झैँ लाग्थ्यो  । यही आफ्नी आमाका मधुर स्वरबाट निस्किएका सङ्गीतकला झैँ आज्ञा नै जलसाका लागि कला सङ्गको सर्वप्रथम परिचय थियो ।


ठुली हुँदै गर्दा साहित्य, चलचित्र, नाटक, आदि जस्ता कलाका अन्य रूपसँग पनि जलसाको परिचय भयो । तर उनलाई सबैभन्दा बढी मन पर्ने कला भनेको नाटक हो ।
नाटकमा पनि पाकिस्तानी/उर्दु नाटक हेर्न जलसा अत्यन्तै रुचाउँछिन् । संवाद सुनेरै नाटक राम्ररी बुझेपछि त्यस नाटकको समीक्षा लेख्न उनलाई एकदम रमाइलो लाग्छ ।

जलसाका भाइ जलदिप सापकोटा आफू आँखा नदेख्ने हो भनेर चलचित्र र नाटक हेर्न बाट आफूलाई रोक्दैनन् । तर कहिलेकाहीँ भने चलचित्र वा नाटकमा आवाज नभाको बेला र संवाद नराखिइको बेला कुराहरू बुझ्न मुस्किल भएको बताउँछन् । 

यी सबैका कथाले एउटै कुरा भन्छन् । फेरी पनि कला भनेको दृष्टिकोण हो । एउटै कलालाई हेर्ने फरक फरक तरिकाहरू हुन्छन् । र त्यसको रस लिने लहरमा हरेक खाले क्षमता भएका मानिसहरू अटाउन सक्छन् । र पक्कै पनि माथि उल्लेख भएका कथाहरूले कलालाई अझै समावेशी बन्न अनि फरक क्षमता भएका मानिसहरूले परख गर्न पाउनेगरि बनाउन मिठो दबाब पनि दिन्छन् । र यदि हरेक कला क्षेत्रले हाम्रो दर्शक, पाठक वा श्रोता दृष्टिविहीन पनि हुन् भन्ने कुरा सोच्ने हो भने धेरै पक्षमा काम गर्न सकिन्छ ।

साहित्यका किताबहरू सफ्ट कपीमा अनिवार्य बन्न सक्छन् । अहिले हेर्ने मात्र चित्रकला भइरहेका होलान्, छोएर महसुस गर्न सकिने खाले पनि हुन सक्छन् जसलाई आँखा देख्नेहरूले पनि छोएर नै हेर्नुपरोस् । ‘अडियो डिस्क्रिप्सन’ हेडफोनमा सुन्न मिल्ने गरी फिल्म हल र वा थिएटरले काम गर्न सक्छन् । आर्ट ग्यालरीमा राखिएका तस्बिर बुझ्नका लागि पनि ‘अडियो डिस्क्रिप्सन’ राख्न सकिन्छ ।

कलाको क्षेत्र यति विशाल छ कि यसलाई परख गर्न आँखा मात्र एउटा माध्यम पक्का पनि हैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *