उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा क्रान्ति हुँदैन : कृषिविज्ञहरु

काठमाडाैँ । कृषि विज्ञहरुले नेपालमा उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन् ।

उनीहरुले देशमा सेन्टर अफ एक्सलेन्सको रुपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताए । विश्वमा कुनैपनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाइ कृषिमा क्रान्ति गर्न नसकेको उनीहरुको दाबी छ । जुन देशमा कृषि अनुसन्धानको उत्कृष्ट केन्द्र छ त्यो देशले कृषिमा तिब्र रुपमा क्रान्ति गरेको बताए । बुधवार ललितपुरमा भएको नेपाल कृषि अनुसन्धान परिषद् सेवानिवृत्त समाजको चौथो साधारण सभामा बोल्दै समाजका पूर्वकार्यकारी निर्देशक ध्रुव जोशीले नेपालमा उत्कृष्ट कृषि अनुसन्धान केन्द्र आवश्यक रहेको बताए । उनले कृषि अनुसन्धानका लागि उत्कृष्ट अनुसन्धान केन्द्र नभएसम्म र अनुसन्धान केन्द्रले आफ्ना काम गर्न नपाएसम्म देशमा कृषिको विकास हुन नसक्ने बताए ।

उनले भने, ‘कृषि इन्स्टिट्यसशन हरेक देशमा मैले देखेको छु । सेन्टर अफ एक्सलेन्सको रुपमा इन्स्टिट्युशनहरु जहाँ छन्, त्यहाँ उनीहरुले कृषिमा कसरी प्रगति गरेको छ, त्यो कुरा मैले देखेको छु । नेपालमा एउटा कृषि अनुसन्धानको सेन्टर फर एक्सलेन्स जस्तै एउटा इन्स्टिट्युट हुनुपर्छ । त्यो नभएसम्म र त्यसले फंग्शन गर्न नपाएसम्म देशको कृषिको विकास हुन सक्दैन । सेन्टर फर एक्सलेन्स इन एग्रिकल्चर रिसर्च भन्नेकुरा चाहिन्छ । त्यो हुँदैन भने त्यो देशको कृषिमा वाञ्छनीय प्रगति हुन सक्दैन । आत्मरतिको लागि मात्रै भन्नेकुरा हुन्छ ।’

उनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा भ्रष्टाचार व्याप्त भएको गुनासो गरे । उनले नार्कमा आर्थिक चलखेलका साथै सरुवा, बढुवा र नियुक्तिमा पनि भ्रष्टाचार मौलाएको बताए ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष डा. आनन्दकुमार गौतमले नेपालमा कृषि अनुसन्धानको अवस्था चिन्ताजनक रहेको बताए । उनले यही अवस्था रहने हो भने नेपालको कृषि अनुसन्धान मर्नसक्ने स्थिति रहेको बताए ।

अध्यक्ष गौतमले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) नीति, नियमबाट सञ्चालन हुन नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *