मकालु फिचर

बेलडाँगी शिविरमा एउटा ब्याण्ड थियो

सन् १९९२ को एकदिन ।

भुटानको सर्भङ्ग बजारमा आइतबारे हटिया लागिरहेको थियो ।

विष्णु रामदमका बाबा सेँधैजस्तो गरी ‘लक्ष्मी रेडियो हाउस’ मा व्यस्त थिए । उनी रेडियो टेलिभिजनहरू मर्मत गर्थे । हटियाको दिन धेरैतिरबाट मान्छे आउने भएकाले पसलमा भिड थियो । कसैले रेडियो बनाउन दिएका, कोही फिर्ता लिने पालो पर्खिरहेका । कसैले भने बजार घुमिसकेर आउँछु भनेर रेडियो छोडेर गएका थिए ।

‘जुनसुकै बेला सहयोग गर्नुपर्ने हुनसक्छ । धेरै परसम्म नजानु ल ।’

त्यो दिन अरू बेलाभन्दा धेरै व्यापार हुने भएकाले बाबाले उनीहरूलाई भनेका थिए । त्यसैले लगभग सबै जना घरमा नै थिए । हप्ता दिनमा भेट भएको मौकामा कतिपय मान्छेहरू एक अर्कासँग गफ गरिरहेका थिए । कति सामानहरूको मोलमोलाइ गरिरहेका थिए ।

नजिकै सर्भङ्ग खोला सुसाइरहेको थियो ।

ठिक त्यही बेला बजारतिरको भिडमा बाख्राको भिडमा कुनै बाघ पसेको जस्तो खैलाबैला भयो । त्यो आवाज उनीहरूको पसल अगाडिसम्म आइपुग्दा अझै स्पष्ट भयो ।

‘जे जति छ सबैथोक लिएर निस्किनु भन्ने आदेश छ । समय एक घण्टा ।’ त्यो पुलिसको आवाज थियो ।

उनका बाबा कुनैबेला सरकारी मान्छे थिए । सर्भङ्गकै सरकारी अस्पतालको एम्बुलेन्स कुटाउँथे । बिरामी भएका मान्छेलाई बोकेर अस्पताल पुर्‍याउँथे । उनीहरू पहिला सरकारी क्वाटरमा नै बस्थे । विष्णु त अझ त्यही क्वाटरमा नै जन्मिएका थिए ।

एम्बुलेन्स ड्राइभरको काम सकाएपछि उनी सरभङ्ग सहित तीन वटा जिल्लाको हेड मेकानिक भए । कतै एम्बुलेन्स बिग्रियो भने मान्छेहरू उनलाई बोलाउँथे । उनी आफ्नै आमालाई अस्पताल लैजाने एम्बुलेन्स बनाउन गएको जसरी दौडिन्थे ।

ती दुवै कामबाट रिटायर भएपछि उनले सर्भङ्ग खोला किनारमा फैलिएको काठको लामो घर बनाएका थिए । हरियो रङ लगाएका थिए । छोरीको नाम राखेर ‘लक्ष्मी रेडियो हाउस’ खोलेका थिए । घरको सुरसुरमा दुई वटा म्युजिक बक्स राखेका थिए । बिहान आरती बजाउँथे । दैनिक रूपमा रेडियो नेपालमा बज्ने ‘घटना र बिचार’ कार्यक्रम सुन्थे । त्यो कार्यक्रम बज्दा कसैलाई पनि बोल्न दिँदैन थिए ।

लामो समय सरकारी काममा बिताएका उनले सोचेका थिए ‘अब बाँकी जीवन यसरी नै बिताउने ।’ तर ठिक त्यही बेला उनको भुटानी जीवनले एक घण्टाको समय पाएको थियो ।

जुन ठाउँमा पुस्तौपुस्तादेखि परिवार बसेको थियो, त्यस्तो ठाउँ एक घण्टामा कसरी छोड्नु ?

एक घण्टामा कति सामान निकाल्नु ?

भाडामा ल्याएको एउटा ट्रकभित्र कति घर हालिभ्याउनु ? के के के हालिभ्याउनु ?

प्रशासनले दिएको आदेशलाई त्यो सबै कुराको मतलब थिएन ।

खैर कसकसो गरेर बाबाले एउटा ट्रक बोलाए । अनि सामान निकाल्न घरभित्र पसे । उनको वरपर धेरै सामान थिए । सबैले याचना गरे जसरी उनीतिर हेरे । ‘मलाई लैजानु मलाई लैजानु’ भनेजसरी हात दिन खोजे । उनको हात सबैतिर पुग्न खोजे । तर कतैतिर पुगेनन् । सामान छान्न रामदमको बाबालाई अलमल भयो ।

झुकेको अनुहार लगाएर आमाले पनि केही सघाउन खोजिन् । उनलाई पनि धेरै होस भएन ।

छिमेकीहरू आए । रेडियो बनाउन आउनेहरू पनि आए । उनीहरूलाई सामान निकाल्न सघाए । उनीहरू जान लागेको अनिश्चयतिर जे चाहिन्छ जस्तो लाग्यो त्यो निकालेर ट्रकमा हालिदिए । 

उनका बाबाले धेरै कुरा समातेनन् । लामो समय सोचेर एउटा चिजमा हात लगाए । त्यो चिज सानो बाकस थियो । उनी त्यही बाकस बोकेर बाहिर आए र ट्रकमा बसे ।

उनीहरू हिँड्ने बेला नहुँदै प्रशासनले पसलमा ताला लगाइदियो । ताला लागिसक्दै उनीहरू देशबाहिर भए । देशबाहिर हुनलाई देशको सिमाना नै कट्नुपर्दैन रहेछ । जसरी देशभित्र हुन देशको सिमानाभित्र नै हुनुपर्दैन । 

ट्रक निस्कियो । 

उनीहरू झापाको बेलडाँगी क्याम्पमा आइपुगे । 

+++++

बेलडाँगीमा आउँदा सबैथोक अन्दाधुन्द भयो । अगाडि के कस्तो हुन्छ भन्ने कल्पना थिएन । 

विष्णुका बाबाआमाले बाँसको घर बनाए । उताको त्यस्तो घर छोडेर यस्तोमा । भर्खरै जङ्गल फाँडेर बनाइएको ठाउँ थियो । आमाबाबा चिन्ता गर्थे । विष्णु आमाबुबाको अनुहारमा देखिने चिन्ता महसुस गर्न सक्थे । 

उनी त्यो बेला ग्रेड फोरमा पढ्थे । 

धन्न क्याम्पमा क्यारिटास नेपाल थियो । उनीहरूले स्कुल खोलिदिएका थिए । बाँसले नै स्कुल बनाइएको थियो । उनी त्यहाँ चार ग्रेडबाट नै पढ्न थाले । उनी कक्षा पाँचमा पढ्न थाल्दै गर्दा म्युजिकको सेन्स बढ्न थाल्यो । जुन गीत सुन्दा पनि यो त बजाउन सक्छु कि क्या हो जस्तो हुन थाल्यो । कसरी त्यस्तो भयो ? 

उनले सम्झिए भुटानको घर । त्यसको दुइपट्टीको स्पिकरमा रेडियो नेपालबाट गीत बजिरहेको । विशेषगरि नारायण गोपालको गीत । त्यो बाहेक उनी नाटक पनि खुब सुन्थे । सरभङ्गकै गायक प्रताप सुब्बाको ‘बन्धनको चिनो’ एल्बम भर्खरै चर्चित भएको थियो । उनका बाबा त्यसको गीत खुब घन्काउँथे । त्यो बाहेक अरू हिन्दी गीत पनि । उनीहरू ती गीतहरूलाई टेबल ठटाएर स्कुलमा गाउँथे । 

‘पापा केहते है बडा नाम करेगा ।’ 

यसरी रिदमिक प्याटर्न वरपर गुञ्जिरहेको सङ्गीत उनी भित्र हुर्किँदै थियो । झापामा आएर त्यो फेरी फैलियो । 

त्यहीक्रममा क्याम्पको स्कुलमा एकजना सरको बिदाइ हुने भयो । त्यो कार्यक्रममा उनीहरूको सरले गितार बजाउँदै गाए । 

उनले गाएको हेरेपछि उनलाई पनि लत बस्यो । त्यसरी बजाउन पाए पनि हुन्थ्यो । 

उनका दुर्ग घले नाम गरेको एकजना साथी थिए । उनीसँग एउटा पुरानो गितार थियो । त्यहाँदेखि उनी उनको घरमा जान थाले । अलि अलि गर्दै बजाउँदा बजाउँदै रिदम प्याटर्न आउन थालिहाल्यो । 

घरको छेउमा नेपाली चर्च पनि थियो । त्यहाँ ड्रम र गितार हुन्थ्यो । उनीहरू त्यहाँ गितार र ड्रम बजाउन पाइन्छ भनेर पनि चर्चमा आइतबार र शनिवार गइरहेका हुन्थे । चर्चको प्रार्थना सकिएपछि बजाउने सामानहरू चलाउन पाइन्थ्यो । उनीहरू त्यसलाई एकछिन भेट्दा पनि बजाइहाल्थे । त्यसरी नै उनीहरूको एकजना र दुइजना गर्दै ग्रुप बन्न थाल्यो । 

उनी बेलाबेला दुर्गको गितार घरमा लिएर आउँथे । उनीसँगै यस्तै राम राई, भीम विश्वा, विक्रम अधिकारी, टिकाराम तिम्सिना, सुभाष सापकोटा, एलबी प्रधान, चन्द्र मगर, दिलचन आचार्य, लगायतका साथीहरू साँझमा भेला हुन्थे । गोलो लागेर मुढामा बस्थे अनि अनि पालैपालो गितार बजाउँदै गाउन थाल्थे । गितार बजाउँदा बाँकीले टेबल ठटाउँथे । कोही हात पड्काउँथे । कोही खुट्टा बजार्थे । 

त्यो बेला इमेज च्यानलमा ‘टप अफ द पप्स’ भन्ने कार्यक्रम आउँथ्यो । त्यो कार्यक्रम हेर्न उनीहरू कहिल्यै पनि छुटाउँदैन थिए । त्यसमा महिनाभरिमा टप आएका गीतहरू बज्थे । ‘डाँडैमा मेला लागेछ’, ‘जोमसोमै बजारमा’, ‘लेककी हे माया’, ‘जिन्दगीको के भरोसा’ जस्ता गीतहरू खुब चल्थे । 

उनीहरूलाई बिस्तारै त्यसरी सँगै गाउन मजा आउन थाल्यो । त्यही माहौलमा उनीहरूलाई एउटा ग्रुप फर्म गर्नुपर्छ भन्ने कुरा उठ्यो । 

सन् १९९७ मा ग्रुप त बन्यो तर उनीहरूसँग बजाउने सामानहरू थिएन । एउटा गितार मात्रको ग्रुप कसरी हुन्छ ? 

+++++

त्यही बेला उनीहरूको स्कुलमा एउटा कार्यक्रम भयो । त्यहाँ किरण रसाइली (हाल अस्ट्रेलिया) आउने भए । 

किरण रसाइली उनीहरूले पछ्याउने नाम थियो । शरणार्थी शिविरको पहिलो ब्याण्ड उनले नै खोलेका थिए जसको नाम ‘युफोरिया’ थियो । क्याम्पमा म्युजिक सुरु गर्ने मान्छे नै उनी नै थिए । उनको ‘आमा’ भन्ने गीत शिव परियारले गाएका थिए । युफोरियाले सबैतिरको शिविरहरूमा घुमिघुमी कार्यक्रम आयोजना गर्थ्यो । 

उनीहरूको स्कुलको चौरमा बाँसले बारेर कार्यक्रम हुने भयो । टिकट सिस्टम थियो । 

कार्यक्रम गर्न आउँदा किरण सबै उनकोमा नै बस्थे । विष्णुका बाबाआमा त्यसरी घरमा मान्छे आएको मनपराउँथे । सङ्गीत बजाएको मनपराउँथे । 

‘ल है केटाहरू हो भोली तिमीहरू प्रोग्राम हेर्न आओ ।’ उनीहरूले पनि बजाउँछन् भन्ने थाहा पाएपछि उनले उत्साह दिँदै भने । समूह नै मिलेर कार्यक्रम गर्न सघाए । कार्यक्रममा किरणको ब्याण्डको इलेक्ट्रिक गितार र किबोर्ड देखेर सबै चकित परे । 

त्यसरी कार्यक्रम सकिएको केही समय मात्र भएको थियो । उनी सातमा पढ्न थालेका थिए । 

एकदिन स्कुलमा पढिरहेको बेलामा उनका छिमेकी उनलाई बोलाउन आए । अनि हतारिएको स्वरमा भने ‘तिम्रो बाबा बाँस बोक्दा बोक्दै ढल्नुभयो ।’ 

उनीहरूलाई घरहरू रिपेयर गर्न युएनएचसिआरले बाँस दिन्थ्यो । उनीहरूको खाने बस्ने व्यवस्था पनि त्यसले नै हेर्थ्यो । घरको भित्तोको टाटी मक्किएको थियो । त्यसैलाई मर्मत गर्न भएर बाबा बाँस लिन गएछन् । बाँस बोकी ल्याएर ग्राउन्डमा बिसाउँदै ‘म गलेँ’ भनेछन् । 

अनि ढलेको ढल्यै भएछन् । 

उनी घर पुग्दा लास मात्र थियो । 

बाबा नेपाल आएपछि पनि निरन्तर ‘घटना र बिचार’ सुनिरहन्थे । भुटान फिर्ती आन्दोलनमा सहभागी पनि थिए । जसरी पनि भुटान जानुपर्छ, उता घरको बिजोक भयो होला भनिबस्थे । त्यसैले पनि भुटानबाट यता आउनेबेलामा बोकेको सानो बाकसमा कागजपत्रहरू मात्र बोकेर आएका थिए । उताको नागरिकतादेखि धनिपुर्जाहरूसम्म पनि बोकेर आएका थिए । त्यो कुरा उनी पटक पटक भनिबस्थे । 

बिहानको साढे सात बजे बज्ने घटना र बिचार कार्यक्रममा ‘भुटान र नेपाल बिचमा द्विपक्षीय वार्ता हुँदै छ’ भन्ने कुरा पनि भन्थ्यो । उनी त्यसलाई सुन्दा आशावादी पनि भइबस्थे । 

उनले यता आएर पनि रेडियो बनाउने पसल घरमै खोलेका थिए । उनी त्यहाँका मान्छेका घडी र रेडियो बनाइदिन्थे ।

त्यसरी यहाँ आएपछिको हरेक दिन भुटान नै फर्किने भनेर अड्डी कसिरहेका उनी एकदिन थाके । क्याम्पको घर मर्मत गर्ने बाँस बोक्दै गर्दा थाके । 

बाबा बितेपछि उनीहरूको घर रानी मौरी हराएको मौरीको घारजस्तै भयो ।

+++++

बाबाको घटनापछि साथीहरू आउने र बस्ने क्रम झन् भयो । उनलाई साथ होस् भनेर साथीहरू पनि नियमित घरमा आउन थाले । बेलुका ज्यामिङ गरेर भोलिपल्ट मात्र जान थाले । 

उनीहरू आएको र जम्मा भएर बजाएको आमाले मनपराउनुहुन्थ्यो । बाबालाई पनि गीत सुन्न मनपर्थ्यो । एकहिसाबले उनलाई नै गीत सुनाइरहेको जस्तो पनि भयो । 

‘अब हामी ब्याण्ड नै बनाऊँ । इलेक्ट्रिक गितार पनि किन्न जाऊँ ।’

त्यसैबेला फेरी पनि ब्याण्ड फर्म गर्नुपर्छ भन्ने कुरा निस्कियो । 

‘त्यो त ठिक छ कि तर पैसा चाहिँ कति लाग्छ ?’

ब्याण्ड बनाउने कुरा जति रोमाञ्चक थियो त्यसको लागि पैसा जुटाउनु उति नै गाह्रो । उनीहरू कसैसँग पनि पैसा थिएन । अझ सबै सामान जुटाउन कति पैसा लाग्छ भन्ने पनि थाहा थिएन । 

‘एउटा इलेक्ट्रिक गितार, ड्रम, र बेस गितार चाहिन्छ’ युफोरियालाई देखेको भरमा उनीहरूले अन्दाज गरे । 

किन्नलाई सिलगुडी जाने कुरा भयो । उनीहरूले अनुमानित हिसाब गरे । भागमा २५० पर्‍यो । 

क्यारिटास नेपालले स्कुलमा कपी दिन्थ्यो । कतिले त्यो कपी बेचेर पैसा निकाले । केही साथीहरूको पसल थियो । उनीहरूले त्यहाँबाट सामान निकालेर पनि बेचे । धेरै साथीहरूले किम्ती सामान पनि बेचे । विष्णुले भने बाबाले किनिदिएको साइकल बेचे । 

रु. २४०० जम्मा भयो । किन्न जाने तयारी सुरु भयो । उनी, विक्रम, र टिका गए । बिहानै सिलिगुडीको पाउल एण्ड कम्पनीमा पुगे । महँगो महँगो गितारहरू पनि थिए । उनीहरूले सस्तोखाले हेरे । रु. ७०० जतिमा इलेक्ट्रिक गितार आयो । बेस पनि किने । ड्रम पनि । सबै किन्दा फर्किँदा लाग्ने भाडा जेनतेन पुग्नेगरि पैसा उब्रियो । 

‘बोर्डरमा ट्याक्सले समात्यो भने कसरी पैसा तिर्ने ?’

नेपाल बोर्डर आउनुभन्दा पहिला भारतमा नै पनि रोक्न सक्थ्यो । त्यसको समाधान सामान बेच्ने कम्पनीले नै बतायो । उसले नै अटो खोजिदियो । सल्लाहअनुसार नै उनीहरूले अटोको पछाडिको सिटमा ड्रम हाले । गितार पनि त्यहीँ नै हाले ।

‘चेकिङ आउने बेलामा पछाडिका केही मान्छे मुख छोपेर सुत्नु है’

ड्राइभरको सल्लाह मानेर उनीहरू लेपास्सिएर ढल्किए । धन्न पुलिसले थाहा पाएन । त्यसरी काँकडभिट्टा आए । बेलुका भइसकेको थियो । खाजा खान नपाएर पेट खाली नै थियो । 

उनीहरूले सामानलाई हुटमा हाले । सामान नेपाल आएकोमा सबैजना खुशी भए । कहिले घर पुग्नु र खोल्नु भइरह्यो । दमकबाट लोकल बसमा हुटमा हालेर बेलडाँगी पुगे । 

साथीहरू कतिबेला सामान आउँछ भनेर कुरिरहेका रहेछन् । सामान पुग्दा मात्र पनि उत्सव लागेको जस्तो भयो । विष्णुको घरमा नै सामान राखियो । साथीहरूले सामान उचालेर मसारेको मसार्यै गरे । त्यो साँझ कसैले केही पनि बजाएन तर खुशीले कोही रातभर सुतेनन् पनि । 

भोलिपल्ट सबेरै उठेर सामान जोडे । केही कुरा कम्पनीले सिकाएको थियो । साथै चर्चमा गएर बजाइरहेको भएर ड्रम बजाउने साथीलाई पनि धेरै कुरा थाहा थियो । गितार भने सबैको हातमा परिरह्यो । उनले एकछिन बजाउन नपाई अर्कोले मागिहाल्ने ।  सबैलाई ‘हाम्रो सामान हो यो भन्ने भयो । हाम्रो पैसाले किनेको’ भन्ने भाव आएको थियो । 

उनीहरूले त्यसमा अभ्यास गर्न थाले । मुढामा बसेर गोलो लागेर बजाउने क्रमबाट अब बिस्तारै मुक्ति मिल्यो । ती बाजा बाहेक बाँकी अरू बाजा बजाउनेहरूले पनि आफ्नो आफ्नो बाजा जोड्न थाले । 

विष्णु गितार बजाउँथे । बेस गितारमा भीम विश्वा (हाल न्युयोर्क), सुभाष सापकोटा ड्रम, विक्रम अधिकारी किबोर्ड  बजाउँथे । यस्तै राम राई रिदम गितार बजाउँथे । दुर्ग घलेले गितार र किबोर्ड बजाउँथे । मनोरम खनाल उद्घोषक थिए । टिकाराम तिम्सिना दाइले म्यानेज गर्थे । पदम लुङ्गेली गीत गाउँथे । चन्द्र मगर जो अस्ट्रेलियामा छन् उनी तबला बजाउँथे । देव राई बाँसुरी बजाउँथे । कति पछि पछि पनि जोडिए । 

यसरी उनीहरूको ब्याण्डले नियमित अभ्यास गर्दै गयो । 

त्यही बेला बिचमा तिहार आयो । 

‘हामी तिहारमा कार्यक्रम गरौँ । थोरै पैसा पनि जुट्छ । सामान किन्नुपर्छ ।’ म्यानेजर दाइले भने । 

उनीहरूले साउण्ड सिस्टम भाडामा लिए । खेल्दै खेल्दै दमकसम्म पुग्ने भन्ने कुरा भयो । सबै जाने तयारीमा लागे । तर विष्णु भने जान नमिल्ने भयो । 

‘बरखी बारेको मान्छे चाडबाडमा हिँड्नु हुँदैन ।’ आमाले भन्नुभयो । 

उनलाई बाबा खसेको भन्दा पनि कहिले गएर बजाउने भन्ने कुरा भयो । उनीहरूले लुकेर अभ्यास गरिसकेका थिए । उनले आमालाई म जान्न म जान्न भनिरहे । तर बजाउने दिन भागिदिए । साइकल लिएर बस्तीमा पुगे । रातभर खेले । जाडो भयो । भोलिपल्ट भिमलाई घर गएर आफ्नो सर्ट ल्याइदिन भने । उनी घर गएको त आमाको झन्डै कुटाइ खाएछन् । 

‘तेरो आमाले मलाई झन्डै मार्‍यो ।’ भिमले भोलिपल्ट भने । 

उनी केहीदिन घर गएनन् । भोलिपल्ट पनि गएनन् । उनलाई पैसा उठ्यो भने अझै केही सामान जोड्न सकिन्छ भन्ने थियो । 

पर्सि आउँदा आमाको गाली खाए । उनी केही बेर त रिसाइन् । तर सँगै उनको लत भनेको सङ्गीतमा छ भनेर थाहा पाइसकेकी थिइन् । 

तिहारमा उठेको पैसाले उनीहरूले माइकहरू जोडे ।

+++++

अब ब्याण्डको नाम राख्ने कुरा आयो । 

साङ्ग्रिला, कुलाकाङ्ग्री लगायत नामहरू आए । ती सबै नामहरू भुटानका नामहरू थिए । उनीहरूको बिचमा नाम के हुन्छ थाहा नहुँदै एउटा कुरा थाहा भइसकेको थियो । ‘नाम चाहिँ भुटानकै हुनुपर्छ । किनकि हामी भुटानमा जन्मिएका हौँ ।’ 

ब्याण्डका सबै सदस्यहरू भुटानबाट नै आएका थिए । सबैजना केही वर्ष यताउता भएकाहरू थिए । स्कुलमा भेट भएका थिए । तर बेलाबेला भुटानको बारेमा कुरा हुन्थ्यो । उनीहरू फरक फरक ठाउँका थिए । आफू आएको ठाउँको बारेमा सुनाउँथे । सबैसँग लगभग उस्तै उस्तै मेमोरी थियो । कति राती भागेर आएका थिए । कति दिउँसै आएका थिए ।

सबैले भोगेको बाल्यकाल उस्तै थियो । भुटानले दिएको पीडा नै थियो । तर त्यति हुँदा हुँदै पनि मनभित्र भुटानप्रतिको प्रेम घटेको थिएन ।  

भुटानको नाम राख्ने भन्ने कुरा हुँदै गर्दा त्यहाँसँग सम्बन्धित शब्द खोज्दै गर्दा शब्द आयो ‘ड्रुक’ । 

सबैलाई त्यो मनपर्यो । त्यसमा थपियो ‘युथ ।’ अनि ब्याण्ड । डिवाइबी । त्यसको उद्घाटन गर्ने भन्ने कुरा भयो । उनीहरूले कार्यक्रम गर्ने योजना बनाए । ब्याण्डको नाम अनावरण गर्नलाई सेतो कपडा किनेर ल्याए । 

विष्णुको दाजु दिलीप पेन्टर थिए । उनले नै त्यसमा अक्षरमा ब्याण्डको नाम लेखिदिने भए । ‘ड्रुक युथ ब्याण्ड’ । स्थापना १९९७ । 

उनको दाजु भुटानमा हुँदादेखि नै पेन्टिङ बनाउँथे । सर्भङ्ग हाइस्कुलमा पढेका थिए । उनले उ बेला नै स्कुलको भित्तामा मुरलहरू बनाएका थिए । त्यहाँ भुटानको सिम्बोलहरू बनाएका थिए । उनको अक्षर पनि एकदमै राम्रो थियो । उनी पनि त्यसलाई छोडेर आएका थिए । 

भुटानमा रहँदा उताको सिम्बोल बनाएका उनी नेपालमा बसेर भुटानको सिम्बोललाई नै चलाइरहेका थिए । 

लेखिसकियो । नाम कतै डिस्क्लोज गर्नहुँदैन भनेर उनले पोको पारेर राखे । उद्घाटनको दिनसम्म त्यसलाई त्यसरी नै राखे । 

अब साउण्ड सिस्टम ल्याउनु थियो । 

एक घण्टाको बाटोमा साइकल दौडाएर उनीहरू दमक पुगे । त्यहाँबाट इको सिस्टमको दुइतिर हर्न भएको साउण्ड सिस्टम ल्याउने कन्फर्म गरे । सँगै स्यानो इक्युलाइजर पनि थियो । अलबेला साउण्ड सिस्टमबाट ल्याए । दुई वटा माइक । दुई वटा हर्न । दुई बक्स । एउटा डेक एउटा इको । 

साउण्डवालाले भने ‘लिन तपाईँहरू नै आउनुपर्छ ।’ 

आफ्नै साइकलमा बाह्र भोल्टको ब्याट्री राखेर डोर्‍याउँदै ल्याए । एउटा रिक्सामात्र भाडामा लिए । कोही डोर्‍याउने, कोही ठेल्ने । 

साउण्ड लिन जाने बाहेक स्टेज बनाउने काम साथीहरूलाई छुट्ट्याइएको थियो । सेक्टर बिको ग्राउण्डमा माटो उठाएको ठिस्को थियो । त्यहाँ कार्यक्रम गर्न मन छ भनेर क्याम्प म्यानेजमेन्ट कमिटीलाई रिक्वेस्ट गरे । कार्यक्रम गर्ने भनेपछि कमिटीले बाँस र त्रिपाल दिन्थे । स्टेजको वरिपरि छेक्ने सामान चाहियो । सबै साथीहरूको घरबाट तन्ना ल्याएका राखे । 

सबै थोकको तयारी सकिइसकेको थियो । तर बेलुका ठुलो पानी आयो । उनीहरू स्टेजमा पुग्दा पानीको थैलो थैलो भइरहेको रहेछ । त्यसलाई उचाले । भोलीको कार्यक्रम छ अगिल्लो दिन त्यस्तो । भोलिपल्ट बिहान पनि पानी आयो । कार्यक्रम नहुने भयो भनेर उनीहरू दुखी भए । 

११ बजेतिर भने पानी रह्यो । अल्बेला साउण्ड सिस्टमले जोड्यो । जाँच गर्दा स्पिकरबाट बज्यो ‘हेल्लो’ अनि इको फैलियो ‘हेल्लो हेल्लो हेल्लो हेल्लो’ । ब्यानर माथि डल्लो पारेर राखे । त्यसमा फूल पनि राखिएको थियो । 

कार्यक्रम सुरु हुन लाग्यो । उद्घोषक मनोरम खनालले भने ‘अब हाम्रो ब्याण्डको नामकरण हुँदैछ ।’

माथिको तान्ने बेलामा स्कुलको हेडटिचर र क्याम्पको सचिवलाई बोलाए । फूलको पोका स्वाट्टै तानियो । सबैले ताली बजाए । ‘ड्रुकयुथ ब्याण्ड’ लेखिएको सेतो ब्यानर माथि हल्लियो । 

ओपनिङमा स्वदेश गान बज्यो । त्यो बेला गरिने सबै कार्यक्रमको सुरुवातमा प्राय राष्ट्रिय गीत बज्थ्यो । त्यो बेला तेस्रो मुलुक जाने कुरा आइसकेको थिएन । उनीहरू सबैलाई भुटान फर्किन पाइन्छ भन्ने नै थियो । उनीहरूले त्यहाँ बजाएको भुटानी गीत मणिकमल मगरले लेखेका थिए । जसको स्थायी यस्तो थियो: 

‘हामीलाई भुटानी आमाको माया लाग्दछ 

कहिले फिर्ता हुने हो 

यही नै आशामा छौँ ।’ 

त्यसपछि ब्याण्डका धेरैजना भोकलिस्टहरूले बजाएका अरू गीतहरू पनि घन्किरहे ।

‘डाँडामा मेला लागेछ ।’

‘चन्चले कान्छीको यो मन हावासँगै उडिसकेछ’ 

कार्यक्रम सकियो । ब्याण्ड जहाँबाट ल्याएको त्यहाँ नै पुर्‍याए । तन्नाहरू फेरी पनि फर्काए । दिलीपले उनीहरूले दिएको प्रस्तुति रेकर्ड गरेछन् । उनीसँग क्यासेट चक्का बजाउने टेप थियो । रेकर्ड र प्ले थिचेर उनले गरेको रेकर्ड गरेछन् । उनीहरूले बेलुका घर ल्याएर चक्का सुनेँ । साउण्ड खासै गतिलो त थिएन तर आफूले गाएको सुन्दा उनीहरूलाई धेरै रमाइलो लाग्यो । केही गर्न सकियो भनेजस्तो भयो । 

+++++

नौ र दश पढुन्जेल उनीहरूले धेरै कार्यक्रम गरे । तिहार आउनासाथ देउसी खेल्नेदेखि लिएर क्याम्पभित्र पनि अनेक कार्यक्रम भइरह्यो । सबैतिर उनीहरूको ब्याण्डले प्रस्तुति दिइरह्यो । 

यस्ता कार्यक्रमको बाहेक सुभाष सापकोटाले पुरानो ड्रमलाई लिएर कक्षा पनि दिन थालेका थिए । त्यसको स्नेयर पनि फुटिसकेको थियो । उनले त्यसलाई लगेर वरिपरिका केटाकेटीहरूलाई सिकाउँदै थिए । क्याम्पमा सङ्गीत सिक्न चाहनेहरूलाई उनीहरूको प्रस्तुति उदाहरण जस्तो हुन्थ्यो । उनीहरूले बजाएको हेरेरै धेरै सिक्न आए । कति सिक्न रहर गर्नेलाई उनीहरूले बजाएको देखेर नै बजाउन सकिँदो रहेछ भन्ने विश्वास पनि भयो । 

उनीहरूले धेरै कार्यक्रमहरू गरे । क्याम्प बाहिर तिहारमा जान्थे । तर क्याम्प भित्र उनीहरूमात्र थिए । उनीहरूले अभ्यास गर्दा पनि मान्छेहरूको कुँडुलो लाग्थ्यो । उनीहरूले एकदिन एउटा इङ्लिस गाना कभर गरे । राम भन्ने साथीले गीत गाए । मधुमल्लाको एउटा सुमन कोयो भन्ने मान्छे पनि आएका रहेछन् । उनी पुरानो गायक रहेछन् । उनीहरूले बजाएको इगल्सको ‘होटल क्यालिफोर्निया’ भन्ने गीत सुनेछन् । त्यसलाई सुनेर यिनीहरू खतरा रहेछन् भन्ने भएछ । कार्यक्रम सकिएपछि गितार मिलाउँदै गर्दा उनी नजिकै आए । 

कोयो उनीहरूको घरमा नै बसे । उनले उनीहरूको ब्याण्ड मनपराएछन् ।

उनीसँग सहकार्य गरेर मधुमल्लामा पनि कार्यक्रम भयो । त्यहाँ कार्यक्रम हुँदा हेर्नलाई क्याम्पको कति धेरै मान्छेहरू हिँड्दै हिँड्दै गए । 

यसरी नै बिस्तारै ब्याण्डको नाम अन्ततिर पनि फैलिँदै गयो । सँगै किरण रसाइलीसँग पनि विभिन्न कार्यक्रमहरूमा बजाए । उनीसँग बजाउन भने विष्णु सहित ब्याण्डका केही सदस्यहरू जान्थे । गितार, बेस गितार, बाँसुरी बजाउने लगायत चारजना साथीलाई लिएर गए । 

१० कक्षासम्म पढुन्जेल त उनीहरू क्याम्पमा नै थिए । त्यसपछि बिस्तारै बाहिर जानुपर्ने भयो । बिस्तारै साथीहरू बाँडिँदै गए । कोही काठमाडौँ देखि कोही कता । पढाउँदै र पढ्दै गर्नेबाहेक कुनै उपाय थिएन । साथीहरू लाखापाखा लाग्न थाले । 

उनले दमकको ग्लोबल हायर सेकेण्डरी कलेजमा प्लस टु पढे । ब्याण्डका दुइजना साथी सँगै पढे । उनी राम र भीम । त्यही मौकामा फेरी कार्यक्रम गरे । 

१२ सकेपछि उनी विराटनगर महेन्द्र मोरङमा पढे । उनी अझै पर गएसँगै फेरी ब्याण्ड बाँडियो । एकैपल्ट दसैँ तिहारमा मात्र भेट हुन थाल्यो । बोर्डिङमा पढाउँदै पढेको फी तिर्नुपर्थ्यो । 

त्यहीबेला उनी १० सम्म पढेको त्रि रत्न सेकेण्डरी स्कुलमा भ्याकेन्सी खुलेको रहेछ । क्यारिटास नेपालले नै अन्तर्वार्ता लियो । उनी पास भए । आफू जुन स्कुलबाट छुटेको त्यही स्कुलमा पढाउन पाए । त्यहाँ तीन वर्ष पढाए । त्यहाँ पढाउँदै विराटनगरमा ब्याचलर पनि सकाए । 

त्यो बिचमा भुटान फिर्तीको आन्दोलन शिथिल हुँदै गएको थियो । मानिसहरूलाई ‘अब फर्किन नपाइने रहेछ’ जस्तो हुन थालेको थियो । त्यो निराशा थियो तर उनीहरूलाई अमेरिका गइहाल्ने रहर पनि थिएन । उनलाई अमेरिका जाने भन्ने पनि थिएन । उनीहरूलाई एउटै कुरा मात्र थियो ‘पढ्नु चाहिँ पर्छ है ।’

अनि भविष्य सोचेका थिए ‘बोर्डिङ पढाउने, आफू पनि पढ्ने र परिवार पाल्ने ।’

२००३ र २००५ सम्म उनले त्यसरी स्कुलमा पढाए ।

उनी त्यसपछि धुलाबारी गए । त्यहाँ पनि शारदा शिशु सदनमा पढाउन थाले । त्यहाँ पढाउँदै गर्दा इन्स्टिच्युटमा पनि पढाए । सन् २००८ सम्म त्यहाँ बसे । बिहान बेलुका ल्याङ्गवेज पढाए । दिउँसो स्कुल । त्यही क्रममा उनको भेट भयो । देविकासँग । उनीहरू प्रेममा परे । 

नेपाल र भुटान भेट भयो । उनी ल्याबमा काम गर्ने । उनीहरूले खाजा खाने ठाउँ एउटै । त्यही क्रममा भेट भयो । नेपाल र भुटानको प्रेम भयो । 

उनले तीन वर्ष त्यहाँ पढाए । त्यहाँ आएसँगै ब्याण्ड अझै छुट्यो । स्मृतिमा पनि रहन पाएन । 

सन् २००८ देखि उनी पोखरामा जाने भए । उनको साथी त्यहाँ थियो । उसले नै बोलायो । धुलाबारीमा पैसा नियमित थिएन । फी उठेपछि दिने भन्ने कुरा हुन्थ्यो ।

उनले पोखरामा पढाएनन् मात्र स्कुलहरूमा काम पनि गरे । त्यहाँ आएका विदेशीहरूलाई अन्तर्वार्ता गर्ने कार्यक्रम पनि चलाए । 

पोखरा एफएमले बालगीत कार्यक्रम गर्दो रहेछ । उनको स्कुलको सरले गीत लेखेका थिए । उनले त्यसमा सङ्गीत भरे । त्यो गीतले जित्यो । बालअधिकार सम्बन्धी गीत थियो । उनले विद्यार्थी छानेर ट्रेनिङ दिएका थिए ।

एफएममा भित्रै पसेर आफैँले गितार बजाए । त्यहाँ बोल्ने कुराले उनलाई तान्यो । पोखरा एफएमले ट्रेनिङ लियो । ‘टुरिजम रिभाइभल’ भन्ने कार्यक्रम पनि चलाए। अङ्ग्रेजीमा । बिहान कार्यक्रम चलाएर स्कुल । बेलुका पनि कार्यक्रम चलाए ‘फेन्टासी फ्याक्ट’ । उनकै ‘खुलामञ्च’ भन्ने कार्यक्रममा फोन गर्ने मान्छेलाई गाउन लगाउँथे । उनी गितार बजाउँथे । चारहप्ताबाट चारजना गाउनेलाई छान्थे । अनि स्टुडियोमा बोलाएर सँगै गाउन लगाउँथे । 

उनी पोखरामा हुँदै गर्दा आमा र दाइहरू अमेरिका जाने प्रोसेस सुरु भयो । उहाँहरू गएर घर एक्लिनेभएपछि उनी सन् २०१० मा झापा फर्किए । दाइसँग जान लागेकी आमालाई बिदा गरे । 

घरमा उनको परिवार मात्र भयो । 

ब्याण्डका सामानहरू पुराना भइसकेका थिए । घरको माथि सिलिङमा थन्क्याएर राखेका थिए । त्यसलाई बजाउने मान्छे कोही पनि थिएनन् । उनी बेलाबेला माथि चढेर हेर्थे । गितार निकालेर बजाउन खोज्थे । स्टृिङगमा खिया लागिसकेको हुन्थ्यो । विरक्त लाग्थ्यो ।

केहीपल्ट त्यसो गरेपछि उनलाई ती सामानको माया लाग्यो । 

केही गाउँका भाइहरू आएर सामान बेच्नु न दाइ भने । उनले सानो हुँदाको आफूहरूलाई सम्झिए । त्यो ब्याण्डको निशानी थियो । तर नयाँ पुस्तामा पुगे जतनै हुन्छ भन्ने सोचे । 

ती भाइहरूलाई सस्तैमा सामान बेचिदिए । सोचे ‘कम्तीमा तीनले बजाउने मान्छे त पाए ।’ 

ब्याण्डको सानो ऋण अझै बाँकी नै रहेछ । त्यसरी बेचेको पैसाले त्यो ऋण पनि तिरिदिए । 

ब्याण्डका साथीहरू तेस्रो मुलुकमा पुगिसकेका थिए । कोही अमेरिका, कोही अस्ट्रेलिया, कोही न्युजिल्याण्ड । उता पुगेर उनीहरू  ‘ल है यता आऊ । यता राम्रो छ । त्यहाँ बसेर काम छैन’ भन्थे ।  

‘त्यहाँ बसेर काम छैन ।’ 

‘जिन्दगी त्यसरी चल्दैन ।’ 

उनलाई आतेश हुन्थ्यो । 

पोखरामा लागेको एफएमको लत दमकमा पनि सर्‍यो । त्यहाँको पाथीभरा एफएममा उनले कार्यक्रम चलाए । पोखराका सबै कार्यक्रम उनले पेनड्राइभमा राखेका थिए । त्यो सुनाएपछि कार्यक्रम चलाउन पाएका थिए । 

आफूले उ बेला चलाएका कार्यक्रमहरू अहिले पनि उनीसँग छन् । गाडीमा बेलाबेला सुनिरहेका हुन्छन् ।

त्यही माहौलको बेला भुटानकै कथामा आधारित भएर बनाइएको ‘पर्खाइ’ भन्ने फिल्म उनीसँग ठोक्कियो । क्याम्पका साथीहरूले नै मिलेर त्यसलाई बनाएका रहेछन् । त्यहाँ एउटा गानाको सिक्वेन्स रहेछ । केटी अमेरिका पुगिसकेको । केटा स्वदेश फिर्ता हुन खोजिरहेको । 

मुभीको टिम उनको घरमा आयो । बेलुका शब्द छोडेर गयो । भोलीसम्म गीत बनाउनुपर्ने भयो ।  

उनले गोपाल लोहारले लेखेका शब्द हेरे । दोहोर्‍याए ।

फर्किने आशा थियो 

मन अन्तै बेगियो

तै पनि माया जन्मभूमिको  

कताकता बाबाको याद त्यसमा आएको जस्तो भयो । कताकता बाबाले भन्न खोजिरहेको कुरा भनिरहेको छु जस्तो भयो । कता कता छोयो छोयो । उनी पनि भुटानमा नै जन्मिएको । उताको ठाउँको याद पनि आएको जस्तो भयो । 

गीत मोबाइलमा रेकर्ड गरे । उनीहरू आएपछि सुनाए । सबैले मनपराए । 

दमकमा चियाबगान छेउमा सानो स्टुडियो थियो । त्यहाँ नै रेकर्ड भयो । मनोरथ तिवारीलाई गाउन दिएर उनकै एरेन्जमेन्टमा सुटिङ भयो । 

उनको श्रीमती बाहिरको थिइन् । उनी भित्रको । उनीहरूको मिक्स म्यारिज थियो । त्यसको अमेरिका जाने प्रक्रिया ढिलो भयो । 

मनोरथ तिवारी भोकल दिएर अमेरिका उडिसकेका थिए । फिल्म बन्दासम्म फिल्मको प्रोड्युसरहरू पनि अमेरिका पुगिसकेका थिए । त्यसैले त्यसको अर्को भर्सन बनाउने कुरा आयो ।  

उनीहरूले विदेशबाटै उनलाई पैसा पठाइदिए । काठमाडौँ गएर गीत रेकर्ड गर्न भने । स्वरूपराज आचार्यको स्वरमा रेकर्ड भयो । 

उनी पछि अमेरिका पुगेपछि मात्र त्यो फिल्म रिलिज भयो । 

२०१४ को मे लाग्यो । 

उनी क्याम्पमा लगभग एक्लिए । त्यो त्यही ठाउँ थियो जहाँ उनीहरूले गोलो लागेर सँगै बजाएका थिए । सँगै बसेको त्यही चौतारो । कार्यक्रम गरेको त्यही स्थल । बेलाबेला उनी त्यहाँ जान्थे । यादले भरिन्थे । 

भित्र कतै आतेस हुन्थ्यो । आफू पनि छोडिने हो कि भन्ने भइरहेको थियो । 

+++++

उनको परिवारको पनि मेडिकल भयो । अर्को महिना जाने भन्ने कुरा आयो । उनलाई बिदा गर्न भुटानबाट दिदी आइन् । उनको जेठी आमापट्टिकी दिदी । उनी बेलाबेला आइरहन्थिन् । 

अमेरिका जाने बेलामा के के सामान लाने भनेर उनी छटपटिए । त्यति बेला कसैले ‘यति घण्टामा हिँड्नु’ भनेर समय तोकेको थिएन । तर जाने ठाउँ कल्पनाभन्दा टाढा थियो । कति टाढा थियो ठ्याक्कै अनुमान थिएन । 

कति टाढा छ भनेर अनुमान नभएको ठाउँमा जानलाई के के सामान बोक्नु ? उनले बाबालाई सम्झिए । उनलाई हिँड्ने बेलामा सामान छान्न किन गाह्रो भएको रहेछ सम्झिए ।  

बाबाले हिँड्नेबेलामा भुटानमा हेरेको बाकस खोले । त्यहाँ के के रहेछन् भन्ने पहिलोपल्ट नियाले ।  

बाबा सरकारी सेवामा काम गर्दाको परिचयपत्रहरू थियो । सरकारले उनलाई प्रशंसा गरेर दिएका कागजातहरू पनि थिए । उनी जिउँदो हुँदा उनलाई नचिनेको कागजात । भुटानको नागरिकता थियो । बाबालाई देशको कति माया थियो । उनलाई फर्किने आस दिइरहेको धनीपूर्जा थियो । रिटायर भएको कागज । 

ट्याक्स तिरेको कागज थियो ।

‘त्यति धेरै कागजात भएको मान्छेलाई पनि भुटानले धपायो ?’

त्यो सबै काजग थियो जसलाई उनले जहिल्यै माया गरे । हिँड्ने बेला पनि बोकेर ल्याइरहे । नेपालमा पनि त्यसलाई जोगाइरहे । 

उनको आँखा भरियो । केही कागजपत्र सम्झना हुन्छ भनेर आफ्नो पासपोर्ट बोक्ने ह्याण्डब्यागमा हाले । उनको बुबा कागजपत्र भएर उनीसँग अमेरिका जाने भए । 

उतैबाट ल्याएको खाट र कुर्सी थियो । कसले हालिदिएको थाहा थिएन । सायद गाउँलेहरूले हालिदिएका थिए । बाबाआमा त्यसैमा सुत्नुहुन्थ्यो । 

आमा गइसक्नुभएको थियो । त्यो सामान ससुरालीमा छोड्ने भए । 

‘आउँदा तपाईँहरू सुत्न हुन्छ ।’ ससुरावाले भने । 

भुटानबाट आएको एउटा भुटान नेपालमा नै छुट्ने भयो ।

‘तिमीहरू थियौ र म आइरहन पाउँथे । अब मेरो कोही नहुने भयो ।’ हिँड्ने बेलामा फुपू दिदी सुँकसुँकाइन् । 

‘यो बाकस दाजुको चिनो हुन्छ । यसलाई म लान्छु ।’ आँसु मिसिएको आवाजमा नै भनिन् । 

उनी बुबाको कागजपत्र बोकेर अमेरिका उडे । फुपू दिदी बुबाको बाकस लिएर भुटान फर्किइन् । बाबा आमा सुतेको खाट र कुर्सी नेपालमा नै बस्यो ।

उनको बाबा जो बाँचुन्जेल भुटान फर्किन चाहिरहे । उनी जान पाएनन् । 

उनको बाकस मात्र भुटान फर्कियो । 

+++++

ब्याण्ड सदस्यहरू यताउता भएसँगै ‘ड्रुकयुथ ब्याण्ड’ त अहिले छैन । 

तर विष्णुकै नेतृत्वमा अहिले अमेरिकामा ‘ड्रुक फ्युजन ब्याण्ड’ बनेको छ । उनको छोरा जोसन रामदम ड्रम बजाउँछन् । धन घताने र सुवास घताने पनि सदस्य छन् । पहिला ब्याण्डमा बेस बजाउने भीम विजुवा का भाइ राम विश्वा बेस गितार बजाउँछन् । भोकलिस्ट निमा छन् । 

उनीहरू नेपाली सङ्गीतलाई फ्युजन गरेर बजाउँछन् । उता गएर पनि लगातार सङ्गीतमा नै छन् । नेपाली गीतहरू गाईनैरहेका छन् । अहिले पनि बेलाबेला पुनर्वासमा गएका भुटानी शरणार्थीहरूले कार्यक्रम गर्छन् । त्यहाँ पनि कसोकसो स्वदेश गान बज्छन् । भुटानको राष्ट्रिय गीत पनि बज्छन् । 

अनि पहिलोपल्ट कार्यक्रम गरेको पल सम्झिन्छन् । उनी बाबालाई सम्झिन्छन् । 

अनि सोच्छन् ‘बाबाले पहिलो कार्यक्रम हेर्न पाएको भए के भन्नुहुन्थ्यो होला है ?’

@SurajWritesNP

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *