भन्सार एजेन्ट प्रतिनिधि संघद्वारा दुई दिनदेखि भन्सार विभागमा धर्ना

काठमाडौँ । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा दुई दिनदेखि भन्सार विभागमा धर्ना गरेको छ ।
आईतवारदेखि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था नै खारेज गरेको भन्दै धर्नामा बसेका हुन् ।
भन्सार एजेन्ट प्रतिनिधि संघका प्रतिनिधिहरूले भन्सार एजेन्ट प्रतिनिधिहरुलाइ राज्यले उचित व्यवस्थापन गर्नु पर्नेमा उल्टो व्यवस्था खारेज गरेको भन्दै आन्दोलन तथा धर्ना दिनुपरेको बताए । देशभर कार्यरत ३०० भन्दा बढी  भन्सार प्रतिनिधिहरू जेठ १५ गतेबाट बेरोजगार भएको भन्दै भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था कायम गर्न माग गरेका हुन् ।
भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा आयोजित धर्नाका संयोजक खड्गबहादुर कार्कीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा भन्सार ऐन संशोधन गर्दा ३०० जनाको रोजगारी खोसिएको बताए । उनले ३०० जनाको रोजगारीको ग्यारेन्टी गर्नको लागि सरकारलाई दबाब दिन धर्ना बसेको बताए । उनले आन्दोलनमा व्यवसायी संस्थाहरू सबैको साथ सहयोग रहेको बताए । उनले सरकारले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।
धर्नामा मेची भन्सार एजेन्टका प्रतिनिधि शंकर थापाले सरकारले बजेटमार्फत षड्यन्त्रपूर्वक भन्सार एजेन्टका रूपमा काम गर्ने पाउने व्यवस्था खारेज गरेको बताए । उनले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था नै खारेज गरेर सरकारले ३०० जनालाई सडकमा ल्याएको बताए । त्यस्तै धर्नामा रहेका राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले सरकारले आर्थिक ऐनमार्फत भन्सार एजेन्टहरू हटाएर भन्सार प्रतिनिधिहरूको रोजगारी माथि लात हानेको बताए । उनले २५ देखि ३० वर्षदेखि भन्सार एजेन्ट बनेर सरकारको राजश्व सङ्कलनमा महत्वपूर्ण योगदान दिएको बताए ।
भन्सार प्रतिनिधिहरूले पटक पटक भन्सार विभाग,अर्थ मन्त्रालयलाई ध्यानाकर्षण, ज्ञापनपत्र बुझाउँदा पनि केही सुनुवाइ गर्दा बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । राज्यको यस्तो नीतिले गर्दा विगत २३ दिनदेखि नै भन्सार प्रतिनिधिहरूले कामकाज गर्नबाट वञ्चित भएको बताए । धर्नामा हाम्रो रोजगारीको सुनिश्चित गर,संविधान प्रदत्त अधिकार कायम गर्,हान्यो वाण प्रतिनिधि जत्थामा,अन्धो सरकार बस्या छ सत्तामा,विभेदकारी ऐन संशोधन गर् भन्ने नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =