काठमाडौँ उपत्यकाकाे फोहोर व्यवस्थापनमा वैकल्पिक उपाय कार्यान्वयनमा ल्याइने

काठमाडौँ । सहरी विकासमन्त्री सिता गुरुङले काठमाडौँ उपत्यकाको फोहोरमैलाको दिगो व्यवस्थापनका लागि वैकल्पिक आधारहरू खोजिगरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सहरी विकास मन्त्रालय अन्तरगतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
मन्त्री गुरुङले बञ्चरेडाँडामा निर्माण गरिएको स्यानिटरी ल्याण्डफिल्ड साइट सबै महिनामा विना अवरोध सञ्चालन हुने गरी वैकल्पिक मार्गको निर्माण गरिने घोषणा समेत गरे । उनले फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहलाई जिम्मेवार र अग्रणी निकायको रूपमा सबल बनाउनु पर्छ भन्ने सरकारको धारणा रहेको समेत बताए । मन्त्री गुरुङले वीरगन्ज, नेपालगंजलगायतका देशका मुख्य मुख्य सहरमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भई सञ्चालनमा आएको स्मरण गराउँदै अन्य सहरहरूमा पनि सो कामलाई तीव्रता दिने गरी बजेटको व्यवस्था गरिएको बताए ।
उनले भने ‘नेपालको संविधान अनुसार फोहोरमैला सङ्कलन, व्यवस्थापनको लागि स्थानीय तहलाई जिम्मेवार तथा अग्रणी निकायको रूपमा सक्षम तथा सबल बनाउनु पर्दछ भन्ने मन्त्रालयको धारणा रहेको छ । सहकारिता, समन्वय र सहअस्तित्व नै तीन वटै तहको सरकारको अन्तरसम्बन्धको प्रमुख आधार रहेको र नेपाल सरकार कार्य विभाजन नियमावलीले फोहोरमैला व्यवस्थापन र समन्वयको जिम्मेवारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तोकेतापनि सहरी विकास मन्त्रालयले मिति २०७८ फागुन २६ गतेको नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार मन्त्रालय अन्तरगत फोहोरमैला व्यवस्थापन प्राविधिक सहायता केन्द्र स्थापना भई स्थानीय तहहरूलाई सहयोग, समन्वय तथा सहजीकरण गरिरहेको छ । सहरी विकास मन्त्रालयबाट नै वीरगन्ज, नेपालगञ्जमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भई सञ्चालनमा आइसकेको छ । त्यस्तै धनगढी, गोदावरी र शुक्लाफाँट नगरपालिकाहरूमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणाधीन रहेका छन् । काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइटको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको छ । १२ महिना विना अवरोध ल्याण्डफिल्ड साइटसम्मको पहुँच सुनिश्चित गर्न वैकल्पिक मार्ग निर्माण गरिनेछ । साथै उपत्यकाको दिगो फोहोरमैला व्यवस्थापनका लागि वैकल्पिक आधारहरू खोजी कार्यान्वयनमा ल्याइनेछ ।’
मन्त्री गुरुङले फोहोरमैला व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँगको छलफललाई जोड दिइएको पनि बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *