कास्कीको रुपाले घरघरै मौरीको घार वितरण गर्ने, सय रोपनीमा सिप्लिगान लगाउने

पोखरा । कास्कीको रुपा गाउँपालिकाले आगामी वर्ष मह उत्पादन वर्षको रुपमा मनाउने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम अनुसार ८ हजार लिटर मह उत्पादन गर्ने लक्ष्य लिएको छ ।

किसानको हात, गाउँपालिकाको साथ भन्ने नाराका साथ पालिका भित्र एक घर–एक घार कार्यक्रम लागू गरिने अध्यक्ष नवराज ओझाले बताए । उनका अनुसार मह उत्पादन बृहत्तर कार्यक्रमका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम र लघु उद्यम विकास कार्यक्रमबाट कम्तिमा १ हजार ५ सय युवालाई रोजगारी दिने योजना पालिकाको छ । यसका लागि युवा स्वरोजगार कार्यक्रममा ३० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रममा ७१ लाख र लघु उद्यम विकास कार्यक्रमका लागि १७ लाख विनियोजन भएको छ ।

कृषि क्षेत्रको व्यावसायिकीकरण गर्न २ करोड १० लाख, पालिकाको प्रशासकीय भवन निर्माण गर्न १ करोड, वडा नम्बर २ को भवन बनाउन १ करोड १० लाख विनियोजन भएको छ । गाउँपालिकाको अन्य पूर्वाधार विकास कार्यक्रममा १ करोड १५ लाख छुट्याइएको छ ।

यस्तै, बाँदर नियन्त्रण गर्न सिप्लिगान उत्पादन गर्ने कार्यक्रम अघि सारिएको छ । १ सय रोपनी क्षेत्रमा सिप्लिगान उत्पादन गर्ने अध्यक्ष ओझाको भनाई छ । आगामी वर्ष पालिकाले ४३ करोड २९ लाखको बजेट सार्वजनिक गरेको छ । यसमध्ये ३३ करोड ८५ लाख चालू र ९ करोड ४४ लाख पुँजीगत बजेट छ । रुपालाई नेपाल सरकारले ७ करोड ८० लाख वित्तीय समानीकरण, राजश्व बाँडफाँटमा ६ करोड ७३ लाख, सशर्त अनुदान २० करोड १९ लाख, समपुरकमा ८० लाख, विशेष अनुदान १ करोड २० लाख दिएको छ ।

गण्डकी सरकारले राजश्व बाँडफाँट शीर्षकमा ४८ लाख, समपुरक ५० लाख, वित्तीय समानीकरण ९४ लाख, सशर्त ५० लाख दिनेछ । २ करोड ९० लाख रुपैयाँ चालू वर्ष खर्च नभएको रकम मौज्दात रहने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले जानकारी दिए । आगामी वर्ष १ करोड २५ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरिएको छ । नीति तथा कार्यक्रम अध्यक्ष ओझाले प्रस्तुत गरेका थिए भने बजेट उपाध्यक्ष लाल सुब्बा गुरुङले प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *