नेपाल सुपर सिक्समा पुग्न कस्तो नतिजा चाहिन्छ ?

काठमाडौँ । जिम्बाब्वेमा जारी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले शनिवार लीग चरणको अन्तिम खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । नेपालले उक्त खेल जित्नैपर्छ ।

हारसँगै नेपालको सुपर सिक्स सम्भावना समाप्त हुनेछ। तर जितले पनि नेपालको यात्रा सुनिश्चित भने हुने छैन । त्यो कसरी? त्यसका लागि बाँकी खेलको नतिजाको हिसाबकिताब हेर्नुपर्ने हुन्छ ।

समूह विभाजन
विश्वकप छनोटमा प्रतिस्पर्धा गरिरहेका १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ए मा नेपालसँगै टेस्ट खेल्ने दुई राष्ट्र वेस्ट इन्डीज र जिम्बाब्वे तथा नेदरल्यान्ड्स र संयुक्त राज्य अमेरिका छन् भने समूह बी मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन् ।

प्रत्येक समूहबाट तीन टोली सुपर सिक्समा प्रवेश गर्ने छन् । समुह ए को अहिलेसम्मको खेलको नतिजा हेर्दा दुई खेलमा दुवै जितेका राष्ट्रहरू वेस्ट इन्डीज र जिब्बाब्वे सुपर सिक्समा पुग्ने लगभग निश्चित छ । तीनवटै खेल हारेको अमेरिका भने प्रतियोगिताबाट बाहिरिइसकेको छ । अब बाँकी रहे नेपाल र नेदरल्यान्ड्स । यी दुईमध्ये एउटा टोली शीर्ष तीनमा रहने पक्का छ ।

अङ्क अवस्था
नेपाल र नेदरल्यान्ड्स दुवैले एक-एक खेल जितेर समान २ अङ्क प्राप्त गरेका छन्। तर नेदरल्यान्ड्सले एक खेल कम खेलेको छ । नेपाल जिम्बाब्वेसँग ८ विकेट तथा वेस्ट इन्डीजसँग १०१ रनले पराजित भएको थियो भने अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

नेदरल्यान्ड्सले पनि अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने जिम्बाब्वेसँग ६ विकेटले पराजित भएको थियो । यस्तो अवस्थामा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेमा टोलीको शीर्ष तीनमा रहने सम्भावना निक्कै उच्च रहने छ । त्यसपछि नेपालले नेदरल्यान्ड्स र वेस्ट इन्डीजबीचको लीगको अन्तिम खेलको नतिजा पर्खिनु पर्नेछ । त्यहाँ यदि नेदरल्यान्ड्सले हार बेहोरेमा नेपाल ४ अङ्कका साथ शीर्ष तीनमा रहेर सुपर सिक्समा पुग्ने छ ।

तर यदि नेदरल्यान्ड्सले वेस्ट इन्डीजलाई हराएको खण्डमा नेपाल र नेदरल्यान्ड्सबीच समान ४ अङ्क हुनेछ । यस्तो अवस्थामा जुन टोलीको रन रेट उच्च हुनेछ। त्यही टोली शीर्ष ३ मा रहनेछ । तर यदि नेपाल नेदरल्यान्ड्ससँग हारेमा भने नेदरल्यान्ड्स अन्तिम खेल खेल्नुअगावै सुपर सिक्समा पुग्नेछ ।

बलियो प्रतिद्वन्द्वी
सन् २०१८ मा जब नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) राष्ट्रको मान्यता पायो। लगत्तै नेपालले नेदरल्यान्ड्समा गएर पहिलो ओडीआई प्रतिस्पर्धा गरेको थियो ।

दुई एकदिवसीय सो प्रतिस्पर्धाको पहिलो खेलमा नेदरल्यान्ड्स ५५ रनले विजयी भएको थियो भने दोस्रो ओडीआई नेपालले १ रनले जितेर शृङ्खला बराबरी गरेको थियो । त्यसपछि यी दुई टोलीबीच अहिले नै भेट हुन लागेको हो । इतिहास हेर्दा नेपालभन्दा नेदरल्यान्ड्सको अनुभव एकदिवसीयमा बढी छ ।

नेपालले सन् १९९६ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चाल्दा सोही वर्ष नेदरल्यान्ड्सले भने एकदिवसीय विश्वकप खेलिसकेको थियो । नेदरल्यान्ड्सले सन् १९९६, २००३, २००७ र २०११ गरी चारवटा विश्वकप खेलिसकेको छ । त्यसमा २० खेल खेलेको टोलीले १८ मा हार र २ मा जित हात पारेको छ । नेदरल्यान्ड्सले विश्वकपको सुपर लीग खेलेको थियो जसमा उक्त टोली १३ औँ राष्ट्रमध्ये १३औँ स्थानमा रहेर विश्वकप छनोटमा झरेको थियो ।

नेपाल भने विश्वकप लीग २ को शीर्ष ३ भित्र स्थान बनाएर पहिलो पटक विश्वकप छनोटमा पुगेको हो । यद्यपि वर्तमान अवस्था हेर्दा नेपाल र नेदरल्यान्ड्सको स्तर भने समान मान्न सकिने बताइन्छ । विश्वकप लीग २ र एसीसी प्रिमियर कपमा राम्रो प्रदर्शन गरेको नेपाल उच्च मनोबलमा छ । नेपाल- नेदरल्यान्ड्सको खेल हरारेको ताकासिंगे स्पोर्टस् क्लबमा हुनेछ जहाँ नेपालले अमेरिकालाई पराजित गरेको थियो ।

हरारे स्पोर्टस् क्लबको ब्याटिङ पिचको दाँजोमा ताकासिंगेको पिचमा स्पिनरहरूलाई मद्दत पुग्ने भनिएको छ । अर्कोतर्फ नेदरल्यान्ड्सले पनि अमेरिकालाई यही मैदानमा हराएको हो । त्यसैले शनिवार हुने यी दुई टोलीको भिडन्त भने साँच्चै नै रोचक हुने देखिन्छ । -बीबीसी

यो पनि : नेदरल्याण्डसको सामना गर्दै नेपाल, सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =