लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय, व्यवसायी हर्षित

पोखरा । कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरू खुसी भएका छन् । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुन सके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरूको बुझाइ छ । व्यवसायीहरू सरकारले कोरोना महामारीपछि पर्यटन प्रवर्द्धनमा विशेष चासो दिनुपर्ने भए पनि सरकारी तवरबाट चासो दिएको महसुस आफूले गर्न नसकेको बताउँछन् । उनीहरुले देशको आर्थिक अवस्थालाई सुदृढ पार्न पनि पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायीहरू खुसी भएको बताए । उनले व्यवसायीहरूले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवर्द्धनमा जोड दिएकाले पनि पर्यटकहरूको आगमन बढेको बताए । ड्रागन बोट फेस्टिभल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय र चिनियाँ नागरिकहरू पोखरामा आएको र उनीहरूबाट अन्य पर्यटकहरू पनि आउने वातावरण बनेको बताए । उनले पोखरा विमानस्थल नियमित सञ्चालन हुन सके पोखरामा पर्यटन व्यवसाय फस्टाउने बताए ।

होटेल एसोसिएसन अफ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकहरू बढ्दा व्यवसायीहरूमा आशा थपिएको बताए । उनले पोखरामा पर्यटकहरू बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेहरूका लागि पोखरा प्रशिक्षण स्थल बन्ने गरेको बताए । उनले पोखरामा कोरोना महामारीपछि दक्ष जनशक्तिको अभाव भएको बताए । उनले पोखरा विमानस्थल नियमित सञ्चालनमा आउन सके पर्यटकहरूको कमी नहुने बताए ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूले पर्यटकहरूको आवागमन बढे पनि स्थायी हुन नसकेको गुनासो गरे । उनले कोरोनापछि पर्यटकहरू बढेको भए पनि उल्लेख्य मात्रमा अझै बढ्न नसकेको बताए । उनले पोखरामा विदेशी पर्यटकहरूको आगमन अझै कम रहेको बताए ।

व्यवसायी सुवेदीले सरकारले पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिन सके व्यवसायीहरूको मनोबल बढ्ने र पर्यटकहरू पनि वृद्धि हुने बताए । उनले पर्यटक वृद्धिका लागि पोखरा विमानस्थलबाट नेपाल एयरलाइन्सले नियमित रूपमा अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *