सरकार सत्ता टिकाउने काममा लागि परेको छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन् ।
सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दल भित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, यथार्थमा उपलब्धीविहीन भारत भ्रमणलाई ठूलो उपलब्धिको रूपमा चित्रण गर्न प्रयास गरेको उनको बुझाई थियो ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरूमा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अलमलिएको आरोप लगाए ।
सभापति लामिछानेले राज्यका संयन्त्रहरूले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेपनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।
उनले भने ‘सरकार जनतालाई राहत दिने, मुलुकका महत्वपूर्ण मुद्दाहरूमा केन्द्रित रहनेभन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी बढी भएका कारणले सरकार कता–कता अलमलिएको हो कि ? भन्ने कुरा म सम्माननीय सभामुख महोदयमार्फत सदनलाई जानकारी गराउन चाहन्छु । नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही सदनमा हाम्रो दलको तर्फबाट विशेष समितिको माग गरेको थिए । कारण के थियो भने–जुन ढङ्गले यसको इन्भेष्टिगेशन भइरहेको थियो । त्यहाँ इन्भेष्टिगेशन गर्ने इन्टिच्यूटहरुको बारेमा प्रश्नहरू आए । अनेक कुराहरू आए । तर, त्यस विषयमा छानबिन अगाडि बढ्न सकेन । र, अहिले जुन ढङ्गले छानबिन सकिएको त छैन । तर, जुन परिणामहरू आइरहेको छ । त्यसले हाम्रा प्रश्नहरूको उत्तर नै दिन सकेन । त्यसैले यो अगाडि बढ्ने वातावरण देखिएन । सरकार अलमलियो । सरकार गठबन्धन भित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो । सरकारमै सहभागी भएका दलहरूले अर्को गठबन्धन बनाएको हामीले थाहा पायौँ । यो चाहिँ मोर्चा बनाएको थाहा पायौँ । मोर्चामा सरकारमै सहभागी दलहरू छन् । अब यो के हो ? बुझ्न जरुरी भयो । त्यही गठबन्धन भित्र भएको ठूलो दलको नेता देशमै नभएको बेलामा सरकार भित्रै सहभागी दलहरू मिलेर अर्को मोर्चा बनाउनु अनि यी महत्वपूर्ण विषयहरू ओझेलमा पर्नु यसलाई अलि ध्यानमा राख्नुपर्छ कि भनेर मैले आज यो विषयमा जोड दिए । सरकार अलमलिएको त भारत भ्रमणका पनि केही विषय थियो । हामीले केही प्रश्नहरू राखेका थियौँ । ती पनि अनुत्ततरित भए । प्रधानमन्त्री धेरै कुरामा अल्झिनु भयो । गठबन्धन भित्र मिलाउने कुरामा, गठबन्धन भित्रै अझ केही तलमाथि पर्न लागेको हो कि भन्ने कुरामा प्रधानमन्त्रीको ध्यान गएको हो कि ? भारत भ्रमणलाई पनि एकदमै उपलब्धिमूलक भनियो । ’
सभापति लामिछानेले राष्ट्रको महत्वपूर्ण मुद्दाहरूलाई छाडेर सरकार किन अलमलिएको छ ? भनी प्रश्न समेत गरे ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =