वेस्ट इन्डिजले नेपाललाई दियो ३४०रनको लक्ष्य, ललितले लिए तीन विकेट

काठमाडौं । वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको लक्ष्य दिएको छ ।

एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले ३ सय ४० रनको लक्ष्य पाएको हो । हरारे स्पोर्टस् क्लबमा वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनायो ।

वेस्ट इन्डिजका लागि शाई होप र निकोलस पुरनले शतकीय ईनिङ खेले । कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १ सय ३२ रन बनाए । उनी ललित नारायण राजवंशीको बलमा आउट भए ।

नेपालका लागि करण केसीले ओपनर कायल मेयर्सलाई १ रनमा आउट गराएका थिए । पाँचौं ओभरको पहिलो बलमा गुलसन झाले जोनसन चाल्र्सलाई आउट गराएका थिए । तेस्रो विकेटका लागि ब्रेन्डन किंग र कप्तान शाई होपले ६८ बलमा ४६ रनको साझेदारी गरेका थिए । यस साझेदारीको सहयोगमा वेस्ट इन्डिज खेलमा फर्कने कोशिश गरेको थियो ।

तर, ब्रान्डन किंग सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो । किंगले ४२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए ।

चौथो विकेटका लागि कप्तान शाई होप र निकोलस पुरनले १ सय ७२ बलमा २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । पुरन ९४ बलमा १० चौका र ४ छक्काको सहयोगमा १ सय १५ रन बनाउँदै दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए ।

पुरनले दुई पटक जीवनदान पाएका थिए । पहिलो पटक ललितको बलमा विकेटकिपर आसिफ शेखले एज लागेको बल क्याच मिस गरेका थिए । दोस्रो पटक पनि आसिफले नै करण केसीको बलमा क्याच मिस गरेका थिए ।

पहिलो पटक जीवनदान पाउँदा पुरन ३ रनमा खेलिरहेका थिए । दोस्रो जीवनदानमा भने पुरन ५४ रनमा खेलिरहेका थिए ।

पुरन आउट भए लगत्तै क्रिजमा आएका रोभमन पावलले कप्तान होपसँग मिलेर १९ बलमा ३९ रनको साझदारी गरे । १४ बलमा २९ रन बनाउँदै पावेल ललितनारायण राजवंशीको बलमा आउट भएका थिए ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १/१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fifteen =