मकालु रिभ्यु

अस्कर जित्ने भारतको रघु, सुँड काटिने नेपालकी चञ्चलकली

त्यो दिन एउटा मान्छे चञ्चलकलीको छेउमा आयो । 

रात परिसकेको थियो । ऊ आएको थाहा पाएर चञ्चलकली ब्युँझिई । ‘उसले पक्का पनि केही खानेकुरा ल्याएको होला’ सोचेर मुख मिठ्याई । ‘खानेकुरा नल्याए पनि ऊ पक्का म सँग खेल्न आएको हो,’ उसले सोची । 

‘तर यति राति कोही मान्छे किन आउँछ ?’ 

चञ्चलकली पक्कै पनि मिलनसार र सामाजिक थिई । उसलाई मान्छे आफूतिर आएको मनपर्थ्यो । त्यो मान्छे जे कारणले आएको भए पनि ऊ मान्छे आएकोमा खुसी भई । यस्सो सुँड बटारेर ऊ तिर लम्किँदै खेल्न खोजी । 

‘खाने कुरा खै त’ भनेजसरी हाततिर हेरी । 

भीमकाय शरीर भए पनि उसको मन त मान्छेको जस्तै त हो । सानो बच्चाको जस्तै । खेल्न मनपराउने जनावर र केटाकेटी त उस्तै त हुन् नि । त्यो दिन चञ्चलकली चञ्चले केटाकेटी भइसकेकी थिई । 

तर ऊ केटाकेटी भएको थाहा पाएर पनि त्यो मान्छे केटाकेटी भएन । त्यो मान्छेले उसलाई खेलाएन । उसको जिउ चलाएन । कन्याइदिएन । 

बरु उसको हातमा भएको धारिलो हतियार निकाल्यो । अनि कुन रिस पोख्नलाई हो उसको सुँड काट्यो । 

चञ्चलकलीले सुरुमा त के भयो थाहा पाइन । कहाँ दुख्यो थाहा पाइन । रन्थनिएर ब्युँझिँदा उसको मुखबाट रगत बगिरहेको थियो । उसलाई असाध्यै पीडा भयो । ऊ चिच्याई । 

त्यसको भोलिपल्ट समाचार आयो ‘सौराहामा हात्तीको सूँड काटियो ।’

चञ्चलकली कहिल्यै बन्न नचाहेको समाचारको शीर्षक भई । 

ऊ यता नेपालमा चोट पाएर शीर्षक भएको केही समयअगाडि भारतको ‘एलिफेन्ट विस्परर’ डकुमेन्ट्रीले अस्कर जितिरहेको थियो । 

 कार्तिकी गन्साल्भेस निर्देशित ‘एलिफेन्ट विस्परर’ हात्तीको स्याहार सुसार गर्ने एकजोडीको कथा हो । बोमन र बेली पति–पत्नी हुन् । उनीहरू तमिलनाडुको मुधुमलाई टाइगर रिजर्भमा बस्छन् । जङ्गलको बिचमा सानो गाउँजस्तो ठाउँ छ । बाँसले बारिएका घर छन् । त्यस्तै घरमध्येको एउटा ठुलो घरमा रघु नामको हात्ती बस्छ ।

ऊ बसेको ठाउँमा चिहाउन मिल्ने सानो झ्याल छ । त्यो झ्यालबाट बोमनले बोलाउँदा रघु भाउ खाएजसरी निक्कैबेर लगाएर

सुँड निकाल्छ । भाउ खोज्दै खोज्दै पनि केटाकेटीहरू नजिक आएको जस्तै । उसको सुँडलाई डकुमेन्ट्रीमा धेरैपल्ट नजिकैबाट खिचिएको छ । लाग्छ उसले स्क्रिनबाट निक्लिएर मलाई पनि चलाइहाल्छ ।

त्यहाँ बोमन र बेलीले जङ्गल अतिक्रमण गरेका छैनन् । बरु त्यसकै हिस्सा भएर बसेका छन् । त्यसकै संरक्षणमा लागेका छन् । यस्तो लाग्छ बनले नै एक काख ठाउँ उनीहरूको लागि छोडिदिएको हो । उनीहरू त्यहाँ हिँडेका दृश्यहरूमा कतै पनि जङ्गललाई कुल्चिएको जस्तो लाग्दैन । 

उनीहरूले रघुलाई सानोमा भेटेका थिए । बेसहारा जस्तै बनेको त्यही हात्तीलाई घर ल्याएर पाल्न थालेका थिए । त्यसपछि त त्यो परिवारको हिस्सा जस्तै भइदियो । उसलाई उनीहरू छोराछोरीलाई बोलाए जसरी बोलाउँछन् । ऊ छोराछोरी आएजसरी आउँछ । उनीहरू एक अर्कामा बोल्दैनन् । तर भाषा सबै बुझ्छन् । 

मान्छे र जनावर खासमा भावनात्मक रूपमा टाढा छैनन् । मान्छेलाई जस्तो हुन्छ जनावरलाई पनि त्यस्तै नै हुन्छ । फरक यही हो जनावरले त्यो कुरा भएको बोलेर बताउन सक्दैन । त्यो देखाउँदै डकुमेन्ट्रीले भन्छ, ‘यदि जनावरलाई संरक्षण गर्ने हो भने उनीहरूले मनपराउने जस्तै हुनुपर्छ । उनीहरूको भाषा बुझ्ने जस्तै हुनुपर्छ ।’ 

यसमा भएका धेरै दृश्यहरू हात्तीको पक्षतिरबाट खिचिएका छन् । रघुले देख्नेतिरबाट । यस्तो लाग्छ बेलाबेला मान्छेले हात्तीतिर हैन हात्तीले मान्छेतिर हेरिरहेको छ । 

‘यदि हात्तीको संरक्षण गर्ने हो भने ऊ भएर उसलाई बुझ्नुपर्छ ।’

रघु उनीहरूसँग फुर्किन्छ । पानीमा खेल्न मनपराउँछ । उनीहरू साबुन लगाएर हात्तीलाई नुहाइदिन्छन् । ऊ आमाले नुहाइदिएको बेलामा आनन्द मानेको बच्चा जस्तै ऊ मज्जा मान्छ ।  उनीहरू हात्तीलाई नजिकैबाट खुवाइदिन्छन् । ऊ उनीहरूको हात चाटुँला जस्तो गर्छ । कुनै खाना मन लागेन भने खान्न भनेर घुर्क्याउँला जस्तो गर्छ । 

यस्ता धेरै दृश्यहरूले मन मिठो पारिदिन्छन् । हात्तीले कति माया चाहन्छ बुझाइदिन्छन् । 

डकुमेन्ट्रीभर उनीहरू एक अर्कासँग सँगै हुँदा सहज महसुस गर्छन् । एकअर्काको ख्याल राख्छन् । थाहा नै नपाई उनीहरूको बिचमा आत्मीयता हुर्किएको छ । रघु उनीहरूको दैनिकी मात्र हैन त्यो क्षेत्रको धार्मिक विश्वासको पर्याय पनि बनेको छ ।  उनीहरू जनावर र मान्छे बिचको परिभाषाबाट टाढा पुगेका छन् । बरु एक अर्कामा घुलेका छन् । एउटा दृश्यमा बोमन हात्तीको नजिकै हिँडिरहेका छन् । हात्ती उनी भन्दा ठुलो छ । उनी छाता ओढिरहेका छन् । उनी भन्छन् ‘रघु यता आऊ छातामुनी आऊ ।’ ठ्याक्कै मान्छेलाई भनेको जस्तै । 

यो डकुमेन्ट्रीले हात्ती र मान्छेको सम्बन्धको कुरा केलाएर जनावरलाई मानवीय रूपमा कसरी हेर्नुपर्छ र उनीहरूलाई कसरी माया गर्नुपर्छ भन्ने बारेमा धेरै कुरा भनेको छ । अनि शरीरको बनावटमा मान्छेभन्दा ठुलो भए पनि उसलाई जोगाउने र माया गर्ने जिम्मा मान्छेकै हो भन्ने पनि बताएको छ । 

मानव र जनावरको बिचमा सम्बन्धमा उतारचढाव पक्कै छन् । धेरै मानिसले प्रकृतिको विनाश गरेका छन् । धेरै जनावरहरूले मान्छेहरूलाई पनि मारेका छन् । तर यति हुँदाहुँदै पनि यो सम्बन्ध बदलाको सम्बन्ध बन्नुहुँदैन भन्ने कुरामा पनि डकुमेन्ट्रीको जोड छ । बेलीको हिलो पतिलाई बाघले मारेको हो । तर पनि उनलाई बाघसँग दुस्मनी छैन । उनी त्यो ठाउँबाट टाढा छैनन् । उनले प्रकृतिको सन्तुलनलाई बुझेकी छन् । प्रकृतिसँगको प्रेममा परेकाहरू हत्तपत्ति टाढा हुँदैनन् । अझ उनी त यो सम्बन्धको सीमितताबारे कुरा गर्दै भन्छिन्, ‘केही हामीले सिकाउन सक्ने कुरा छन् । केही उनीहरू आफूजस्ताबाट मात्र सिक्न सक्छन् ।’ 

एउटा दृश्यमा हात्ती काँडा खान्छ अनि कुनै बच्चाले पहिलोपल्ट काँडाले घोच्छ भन्ने थाहा पाएजसरी ओकल्छ । उसले त्यसो गरेको देख्दा फेरि पनि उसलाई आफ्नो नजिकको कुनै बच्चाजस्तो सोचिन्छ । उनी हात्तीलाई आफ्नै बच्चालाई माया गरेजसरी गर्छिन् । भन्छिन्, ‘मलाई त म उसको आमा हुँ जस्तो लाग्छ । उसको हरेक कुरा मान्छेको जस्तै छ ।’ 

यो डकुमेन्ट्रीले हात्तीलाई धेरै कोणबाट असाध्यै नजिकैबाट देखाएको छ । धेरै दृश्यहरू क्लोज सटमा खिचिएका छन् । तीनले उसको भीमकाय शरीरको मन पक्षलाई देखाएको छ । त्यसले यस्तो भन्न खोजेझैँ लाग्छ ‘हामीले उनीहरूलाई संरक्षण गर्नु छ भने जतिसक्दो नजिकैबाट हेर्नुपर्छ ।’

डकुमेन्ट्रीमा धेरै महत्त्वपूर्ण संवादहरू छन् । सामान्य रूपमा भनिएका ती संवादले गहिरो अर्थ राख्छन् । भिरमौरीको मह काड्न गएको एउटा दृश्यपछि एक व्यक्ति भन्छन्, ‘हामी जङ्गलमा निर्भर छौँ तर हामी यसलाई संरक्षण पनि गर्छौँ । तर हामी त्यतिमात्र लिन्छौँ जति हामीलाई चाहिन्छ ।’

जङ्गललाई चाहिने भन्दा धेरै मास्ने वा जङ्गल मास्नलाई नै अनेकौँ विकास आयोजनाहरू बनाउन पछि नपर्ने गरी बढिरहेको हाम्रो समाजलाई यो कथाले टक्क अडिएर सोच्ने बनाउँछ । पर्यावरण, वन्यजन्तु संरक्षण अनि आपसी मेलमिलाप कति गहिरोसम्म जानसक्छ पनि देखाइदिन्छ । 

उनीहरू ठुलो स्वार्थले जोडिएका हैनन् । उनीहरू त विशुद्ध प्रेमको कारणले जोडिएका हुन् । कारणविशेषले सँगै हुनुपर्दा पनि उनीहरूको बिचमा मानिस मानिसबिचमा बरु टाढा पुग्दै गरेको सम्बन्धभन्दा मिठो आत्मीयता भरिएको छ । त्यो आत्मीयता हेरुन्जेल खुसीले आँखा हाँसिरहन्छन् । उनीहरू छुट्ने बेलामा थाहै नपाई आँखामा आँसु भरिइसक्छन् । 

एउटा संवादमा आफ्नो छोरी मरेको प्रसङ्ग आउँछ । त्यो बेला रघुले आफ्नो आँसु पुछिदिएको बेली सुनाउँछिन् । भन्छिन् ‘उसको त्यो सानो व्यवहारले पनि मलाई धेरै सहज बनायो । त्यसैले उसको स्याहार गर्नु मलाई आफ्नो छोरीको स्याहार गर्नु हो जस्तै लाग्छ ।’

उसलाई बिदा गर्ने बेलामा दुइजनाकै आँखामा आँसु भरिन्छ । 

डकुमेन्ट्रीमा देखिएको मानिस र हात्तीबिचको प्रेम हेर्दा एउटा प्रश्न मनमा आइरह्यो, 

चञ्चलकलीको सुँड काट्ने त्यो मान्छेलाई यदि यो डकुमेन्ट्रीका पात्रजस्तै पात्र बनाउनुपर्‍यो भने समय लाग्ला है ?

ट्रेलर: https://www.youtube.com/watch?v=a0J0b_OVa9w&ab_channel=NetflixIndia

@SurajWritesNP

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *