के पोखरा एयरपोर्ट बीआरआई परियोजना हो ?

पोखरा । चीनले बुधबार पोखरा विमानस्थल बीआरआई (बेल्ट रोड इनिसियटिभ) अन्तर्गतको परियोजना भएको दोहोर्‍यायो । चिनियाँ पक्षकै कारण भारतले हवाई रुट दिन आनाकानी गरेको गुनासो बढिरहेको बेला चिनियाँ राजदूतको वक्तव्यले त्यसलाई आशंकालाई बल पुगेको छ ।

चिनियाँ राजदूत छन् सोङले पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड विमान अवतरणपछि बोल्दै भने, ‘विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ । जुन कुरा चीन नेपालबीचको कनेक्सन र बिआरआई सहकार्यको नयाँ अध्याय हो ।’

सन् २०१७ मे १२ मा नेपाल र चीनबीच बिआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको थियो । जबकि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०१६ अप्रिलदेखि नै थालिएको थियो । बिआरआईको सम्झौता र विमानस्थल निर्माणको सुरुआत हेर्दा पोखरा विमानस्थल बिआरआईअन्तर्गत पर्ने सम्भावना देखिँदैन । त्यसमाथि हालसम्म दुवै देशका कुनै पनि उच्चस्तरीय भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बिआरआई परियोजनामा उल्लेख गरिएको छैन । त्यसो त बिआरआईको परियोजना सम्झौता नै हालसम्म गोप्य छ, सार्वजनिक भएको छैन ।

२०७३ साउनदेखि यो विमानस्थल निर्माण सुरु भएको थियो । इपिसी मोडलअन्तर्गत भ्याटसहित २४ करोड ४० लाख ४० अमेरिकी डलरमा निर्माण कम्पनीले काम सकेको हो । विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । दातृ निकायसँग ऋण लिएर निर्माण गरिएको परियोजनालाई चीनले एकतर्फी रूपमा बीआरआई परियोजना भनिरहँदा नेपाली पक्षले अहिलेसम्म त्यसको खण्डन गरेको छैन ।

अंग्रेजी नयाँ वर्षमा उद्घाटन भएको विमानस्थलमा ६ महिनापछि बुधबार पहिलो चार्टर्ड फ्लाइट भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य कार्यक्रम सहित विमानस्थल उद्घाटन गरेका हुन् । अझै अन्तर्राष्ट्रिय नियमित उडानको टुंगो छैन । भारतीय पक्षले रुट नदिएको र अन्तर्राष्ट्रिय जहाज कम्पनी उडान भर्न तयार नभएपछि पोखरा विमानस्थल देशलाई नै ‘गलपासो’ बन्ने आशंका पोखरेलीको छ ।

यो पनि
पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतको हो : चिनियाँ राजदूत सोङ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *