पोखरा महानगरद्वारा चिनियाँ नागरिकलाई पोखरा भ्रमणकाे निम्तो

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले नेपाल— चीन जोड्ने मुस्ताबको कोरला नाका तत्काल खुलाउनसके नेपालमा पर्यटकहरूको वृद्धि हुने बताएका छन् ।
बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुस्ताबको कोरला नाका खुलिसकेपछि सडक मार्ग हुँदै चिनियाँ पर्यटकहरू पोखरा आउने सम्भावना उच्च रहेको बताए । उनले नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभल जस्तै समयसमयमा विभिन्न फेस्टिबलहरुको आयोजना भइरहेको खण्डमा पनि चिनियाँ पर्यटकहरू वृद्धि गर्न सकिने बताए ।
उनले भने ‘हामीलाई सबै पक्षबाट साथ सहयोग रह्यो र यहाँ चिनियाँ पक्षबाट पनि सहयोग भयो र साथै पर्यटकीय गतिविधिहरू पनि यहाँबाट बढाइँदै लैजान सकियो भने विमानस्थल नियमित सुचारु हुनसक्छ । यहाँ हामीले विभिन्न फेस्टिबलहरु बारम्बार गरिरहनुपर्छ । दोस्रो मुस्ताबबाट नाका खोल्न सक्यौँ भने धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई सडकबाटै पोखरा ल्याउन सकिन्छ । यो मुख्य आकर्षणको केन्द्र हुन्छ ।’
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडानसँगै नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बन्ने बताए । उनले चीनका विभिन्न नगरहरूसँग पोखराको भगिनी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको पनि बताए । उनले चीनले आगामी दिनमा पनि विभिन्न मुख्य सहरहरूबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको बताए ।
उनले भने ‘यस सुखद् विमान अवतरणसँगै १५ सय वर्ष पुरानो नेपाल र चीनबीचको सम्बन्ध झनै प्रगाढ बन्ने अपेक्षा राखेको छु । चीनका विभिन्न नगरहरूसँग पोखराको भगिनी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको छु । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको मित्र राष्ट्र चीनले बाँकी दिनहरूमा पनि त्यहाँका विभिन्न मुख्य सहरहरूबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको छु । म यसै मञ्चबाट सुन्दर नगरी पोखरा भ्रमणका लागि चिनियाँ नागरिकहरूलाई आग्रह गर्दछु । अब दुई देशबीचको भावनात्मक र पर्यटनको लागि सम्बन्ध बिस्तार हुने अपेक्षा राखेको छु ।’
प्रमुख आचार्यले चिनियाँ नागरिकहरूलाई पोखरा भ्रमणका लागि निम्तोसमेत दिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *