‘सर्भाइभर’ बाँच्न सजिलो समाज कहिले हुन्छ ?

नोट: यो लेखमा बलात्कारमा परेकी एक युवतीको कथा समेटिएको छ । यदि तपाईँलाई ट्रिगर हुन्छ भने नपढ्न सुझाव दिन्छौँ । – सम्पादक

बिहानको ५ः३० बजेको थियो। निता (नाम परिवर्तन) विद्यालय जाँदै थिइन् । उनी बलात्कारमा परेको ठ्याक्कै एक महिना बितिसकेको थियो ।

अचानक उनको आँखा एक पुरुषमाथि पुग्यो । त्यो पुरुष उनलाई ठ्याक्कै आफ्नो बलात्कारी जस्तो नै लाग्यो । उनका पाइला रोकिए । हिँड्न नसकेर भुईँमा लडिन् । एक घण्टासम्म त्यही बसेर रुन थालिन् ।

मानिसहरू आए । के भयो भनेर सोधे । उनको मुखबाट एउटा शब्द पनि निस्किएन ।

उनी त्यो पुरुषलाई यसरी नै धेरै ठाउँमा देख्छिन् । वरपरका मान्छेमा देख्छिन् । कहिलेकाहीँ त आफैमा पनि देख्छिन् । ‘ऐना अगाडि आफ्नो शरीर नियालेर हेर्दा त्यस पुरुषको आकृति देख्छु । आफ्नो छाला भतभत पोलेको झैँ महसुस हुन्छ । आफ्नै शरीरदेखि घिन लागेर आउँछ ।’

निताको यो घाउ बलात्कार हुनुभन्दा पहिलादेखिनै सुरु भएको थियो ।

सम्झनाअनुसार तीनदेखि पाँच वर्षको उमेरमा निताले आफ्नै आफन्तबाट धेरै पटक यौन दुर्व्यवहार सहिन् । १२ वर्षको छँदा पहिलो पटक बलात्कारमा परिन् । त्यो उमेरमा उनलाई आफूमाथि जे भएको हो त्यो प्राकृतिक र स्वाभाविक कुरा नै हो जस्तो लाग्थ्यो । जे भयो केही दिनमा हराइहाल्छ जस्तो हुन्थ्यो । तर त्यो हराएन ।

त्यो डरलाग्दो घटना भएको १० वर्ष बितिसक्दा पनि नितालाई त्यो व्यक्ति, त्यो बेड सिट, त्यो भित्ताको सम्झना दिलाउने रङ देख्दा मुटु काँप्न थालिहाल्छ ।

अहिले समाज परिवर्तन भइरहेको छ भन्ने सुनिन्छ । पक्कै पनि धेरै कुरामा परिवर्तन पनि भएको छ । तर यो समाजमा पनि ‘सर्भाइभर’ भएर बाँच्न उनलाई असाध्यै पीडादायी अनुभव भइरहन्छ । आफूमाथि भएको घटनाको बारेमा उनले सामाजिक सञ्जालमा नलेखेकी हैनन् । त्यसरी आवाज उठाउँदा आफ्नै आमाबाबुको साथ पाउने कुरा त परकै भयो, उल्टै गाली खानु परेको थियो उनले ।

‘दुनियाँलाई किन थाहा दिएकी ? तेरो बिहे हुनै छ, भविष्यमा नराम्रो दाग लाग्ला ।’ आमाबुबाले उल्टै यस्तो भन्नुभएको थियो । उनलाई लाग्छ आमाबाबुले उनलाई बुझ्न नै सक्नुभएन । समाजले के भन्ला भन्ने डरले कुराहरू लुकाउन खोज्नुभयो ।

उनलाई पक्का थाहा छ केही अपवादलाई छोडेर अरू धेरै सर्भाइभरहरूको आमाबाबुले पनि यस्तै सोच्नुहुन्छ ।

बाल्यकालमा पटक-पटक आफ्नै नातेदार र परिवारभित्रका पुरुषहरूबाट दुर्व्यवहार सहेकी निताले अन्य पुरुष त परै जाओस् आफ्नै परिवारभित्रका पुरुषहरूमाथि पनि भरोसा गर्ने आँट गर्दिनन् । त्यतिमात्र हैन उनलाई कुनै पुरुषसँग नजिक हुन पनि डर लाग्छ । सामान्य कुराकानी नै गर्न पनि सङ्घर्ष गर्नुपर्छ । ‘कसैसँग शारीरिक र भावनात्मक रूपमा सम्बन्ध जोड्न निकै लामो समय लाग्दोरहेछ । नजिक भइहालेर कसैले मायाले छुँदा पनि अरूले अनुचित रूपमा छोएको र बलात्कारमा परेको दृश्य आँखामा आउने रहेछ,’ उनी भन्छिन् ।

पारिवारिक जमघटमा पनि आफूलाई आफन्तहरूले दया र घृणाको भावले हेर्नेगरेको उनको अनुभव छ । तीनले बाहिरबाट कठैबरा र बिचरा भन्दै सहानुभूति देखाएझैँ गर्छन् र भित्र-भित्रै उनको चरित्रमाथि सवाल उठाइरहेका हुन्छन् । ‘उल्टै मलाई नै दोष दिँदै छोरी मान्छे भएपछि यस्तै हो, बचेर हिँड्नुपर्छ भनेर भनिरहेका हुन्छन्,’ उनी भन्छिन् । सबैले त्यस्तो भन्दा उनलाई बेलाबेला आफूलाई सबै थोक हुनुको दोषी आफैँ नै हुँ कि जस्तो पनि लाग्छ ।

सर्भाइभरको दिमागमा आफूमाथि दुर्व्यवहार भएको छाप सदैव रहिरहने उनी बताउँछिन् । ‘यही मस्तिष्कमा बसेका छापले अनेक मानसिक अस्वस्थता निम्त्याउँदो रहेछ र मानसिक रोगबाटसमेत पीडित बनाउँदो रहेछ ।’ त्यसले गर्दा भावनात्मक प्रभावहरू छोड्ने अनि पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर सँगै, चिन्ता लाग्ने, आफूलाई नै चोट पुर्‍याउन मन लाग्ने, निन्द्रा नलाग्ने, जस्ता कुराहरू पनि हुने गरेको उनको अनुभव छ ।

लगभग एक वर्ष अगाडि सार्वजनिक बसमा कलेज जाँदै गर्दा नितामाथि फेरी दुर्व्यवहार भयो । आफूमाथि त्यसरी दुर्व्यवहार भइराख्दा पनि उनले केही गर्न सकिनन् । केवल मूर्ति जस्तै स्थिर भइरहिन्, मानौँ कि उनले केही थाहा पाएकी छैनन् । त्यस दिनदेखि नितालाई सार्वजनिक बसमा चढ्ने हिम्मत आएको छैन ।

गाडीको भिडमा उभिइरहँदा यदि कसैको शरीर आफ्नो शरीरसँग अलिकति पनि छोइएमा उनलाई अत्यन्तै असहज महसुस हुन्छ । चिन्ता बढ्छ । ‘बसमा चढ्न खोज्दा मलाई अनुचित रूपमा छुन खोजिरहेका र दुर्व्यवहार गर्न पर्खिरहेका मानिसहरूको हुलमा पस्न लागेको जस्तो महसुस हुन्छ,’ निता थप्छिन् ।

‘साँझ परेपछि उनलाई अहिले पनि आफ्नो घरबाट बाहिर निस्किन डर लाग्छ । बाटोमा गुन्जिएका हरेक पाइलाको आवाजले आफूलाई नै पछ्याएको झैँ लाग्छ । टाडानै भएनि कोही मानिसको आकृति देख्दा जिउ सिरिङ्ग भएर आउँछ र खुट्टा थरथर काँप्छन् ।’

नितालाई सामान्य मान्छेजसरी नै जीवन बिताउन मन छ । कसैले हेर्ने गलत नर बिना नै । कसैले केही गरिहाल्छ कि भनेर लाग्ने डर बिना नै । भन्छिन्, ‘म सामान्य मानिस झैँ आगामी दिनहरू बिताउन चाहन्छु । म सामाजिक रूपमा स्वीकार्य हुन चाहन्छु । मेरो नियन्त्रणमा नभएका विगतका घटनाहरू बाहेक अन्य चीजहरू बाट समाजमा चिनिन चाहन्छु ।’

त्यसको लागि उनलाई समाजले यौन हिंस बाट बाँचेकी पीडितको रूपमा हैन एक ‘सर्भाइभर’को रूपमा चिन्न थाल्नुपर्छ । उनको विगतलाई सम्झाउने बाटो छोडेर उनको वर्तमान र भविष्यलाई सुन्दर बनाउने बाटो खन्न थाल्नुपर्छ ।

उनलाई दोष दिन । उनलाई कमजोर बनाउन । उनलाई पत्याउन । उनको पीडामा सहानुभूति हैन समानुभूतिले मह्लम लगाउन थाल्नुपर्छ ।

के हाम्रो समाजले यति गर्न सक्छ ?

प्रतिक्रिया

One thought on “‘सर्भाइभर’ बाँच्न सजिलो समाज कहिले हुन्छ ?

  1. धेरै राम्रो लेखाइ ।दुखमा परेका मान्छेहरूको आवाज यसरी नै लेख्नुपर्छ ।लेखाइ उज्यालो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *