सरकारी सञ्चार माध्यम सत्तारुढ दलका मुखपत्र भए : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले सरकारी सञ्चार माध्यमहरूलाई सत्तारुढ दलहरूको मुखपत्र बनाएको आरोप लगाए ।
सोमबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सञ्चारमन्त्री रेखा शर्माले सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यमहरू गोरखा पत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकार र मन्त्रीहरूको मात्रै प्रचार गर्न निर्देशन दिएको भन्दै आक्रोश समेत व्यक्त गरे ।
सांसद सुवालले खुमलटारस्थित रेडियो नेपालको ५० औँ रोपनी जग्गा विक्री गरेर करोडौँ कमिसन खाने काम भएको जिकिर गर्दै त्यस्ता गतिविधिमा संलग्नहरूलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरे । उनले भने ‘सरकारी स्वामित्वको सञ्चार माध्यम गोरखा पत्र, रेडियो नेपाल, नेपाल टेलिभिजनलाई सरकारी पार्टीको मुखपत्र बनाउनु भएन । खाली सरकारी पार्टीको, मन्त्रीहरूको मात्रै आउने अरू कोही छैन यहाँ ? १३ वटा दल छन् संसदमा । अरूको केही सुन्नै नपाउने । सञ्चारमन्त्रीज्यूले सबै चिज सरकारको मात्रै प्रचार गर्नु भनेर निर्देशन दिन मिल्छ ? जनताको संस्था हो नि । अर्को, रेडियो नेपालको खुमलटारस्थित ५० औँ रोपनी जग्गा बिक्री गरेर करोडौँ. कमिसन खाने को–को हो ? कारबाही हुनु पर्याे ।’
सांसद सुवालले विज्ञापनहरूको प्रकाशन तथा प्रसारण अनिवार्य रूपमा नेपाली भाषामा हुनुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *