डिभाइडरमा ठोक्किएको स्कुल बसमा आगो लागेपछि…

जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानस्थित डिभाइडरमा एक निजी विद्यालय बसमा ठोक्किएपछि बसमा आगो लागेको छ । विद्यार्थी ल्याउन गइरहेको बेला बा १ क २४४९ नम्बरको स्कुल बस सडक डिभाइडरमा ठोक्किएर आगो लागेको हो ।

आगो लागेर बस क्षतिग्रस्त बनेको छ । आगो लागेका बेला बसमा विद्यार्थी थिएनन् भने चालक कुदेर ज्यान जोगाउन सफल भए । आगोले ध्वस्त बनेको बस लहान नगरपालिकाका ३ स्थित पारागन बोर्डिङ स्कुलको हो । स्कुल सञ्चालक उमेश चौधरीका अनुसार निर्माणाधीन राजमार्गको ठाउँ ठाउँमा डिभाइडर राखिएको छ । उक्त डिभाइडरमा बसको डिजेल ड्यांकर ठोक्किँदा आगो लागेको छ ।

आगो लागेर बस पूर्णरुपमा क्षतिग्रस्त बनेको स्कुल सञ्चालक चौधरीले बताए । राजमार्ग निर्माणको ठेक्का लिएको चाइनिज कम्पनीको लापरबाहीले बसमा आगो लागेको उनको भनाई छ । बसमा एकैछिनमा आगो चारैतिर फैलिएको भिडियोमा देखिएको छ । आगो दनदनी बलिरहेको बेला प्रहरी र स्थानीयको भीड लागेको थियो । तर सबै मूकदर्शक बनिरहे !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *