विश्वकप छनोट

बलर नचल्दा नेपाल जिम्बावेसँग पराजित

कप्तान क्रेग एर्विन र सेन विलियम्सको शतकमा जिम्बावेले आइसिसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाललाई ८ विकेटले हराएको छ। जितको लागी २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

टेष्ट राष्ट्रविरुद्ध नेपाली बलर नचल्दा विश्वकप छनौटमा नेपाल पराजय व्यहोर्न बाध्य भयो।

जिम्बावेको जितमा क्रेग इर्विनले १ सय २८ बलमा १५ चौका र १ छक्कासहित १ सय २१ रनमा अविजित रहे । सेन विलियम्स ७० बलमा १३ चौका र १ छक्कासहित १ सय २ रनमा नट आउट रहे । तेस्रो विकेटका लागि एर्विन र विलियम्सले १सय २५ बलमा १ सय ६४ रनको अविजित साझेदारी गर्दै सहज जित दिलाए ।

सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा जोयलोर्ड गुम्बीलाई २५ रनमा एलबीडब्लू आउट गरे । उनले २९ बलमा ५ चौका प्रहार गरे । गुलशन झाको १७ औं ओभरको पहिलो बलमा करण केसीले वेस्लीको २० रनमा क्याच छाड्न पुगेका थिए । गुलशनको २४ औं ओभरको दोस्रो बलमा वेस्ली ३२ रनमा क्याच आउट भए ।

ठूलो सट खेलका उनी दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । दोस्रो विकेटका लागि वेस्ली र क्रेग इर्विनले ९२ बलमा ८२ रनको साझेदारी गरेका थिए । नेपालका सन्दीप लामिछानेले १० ओभरमा ७७ रन खर्चेर विकेट लिन सकेनन् । गुलशन झा र सोमपाल कामीले समान एक एक विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । नेपालका ओपनर कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्कासहित सर्वाधिक ९९ रनको योगदान दिएपनि टोलीको जित दिलाउन सकेनन् । उनी स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा योर्कर बलमा बोल्ड आउट भएपछि शतक बनाउन एक रनले चुकेका थिए ।

अर्का ओपनर आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट भए । मसाकाड्जाको बलमा ठूलो सट खेल्ने धुनमा रायन बर्लबाट क्याच आउट हुन पुगे । नेपाललाई पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१।५ ओभरमा १ सय ७१ रनको कीर्तिमानी साझेदारी गर्दै सानदार सुरुवात दिलाए । उनीहरु आउट भएपछि नेपालले बाँकी १८।१ ओभरमा ७ विकेट गुमाउँदै १ सय १९ रन मात्रै बनाउन सक्यो । त्यो नै हारको एक कारण बन्यो ।

उक्त साझेदारी नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च हो । यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए ।

एक रनले शतक बनाउन चुकेका कुशल भुर्तेलले एक रनमै जीवनदान पाएका थिए । तीव्र गतिका बलर रिचर्डको चौथो ओभरको चौथो बलमा कुशल भुर्तेलले ब्यक्तिगत एक रनमा जीवनदान पाएका थिए । फस्ट स्लिपमा सिकन्दर राजाले सहज क्याच छाड्न पुगेका थिए । उक्त क्याच जिम्बावेलाई ठूलो भारी पर्यो । सूर्यको कारण चताराले कुशल मल्लको क्याच शून्यमा छाड्न पुगेका थिए ।

कुशल ४२ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । कुशल चताराको बलमा मिडअनमा क्रेग इर्विनबाट क्याच आउट भए । कप्तान रोहित पौडेल २९ बलमा ५ चौकासहित ३१ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ७२ रनको साझेदारी गरेका थिए ।

भीम सार्की गोल्डेन डक आउट भए । नेपालले पाँच रन पेनाल्टी समेत पाएको थियो । नेपालका गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ६र आरिफ शेख १० रनमा आउट भए । करण केसी २ रनमा नट आउट रहे ।

जिम्बावेका रिचर्ड न्गारावाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ४ विकेट लिए । वेलिंग्टन मसाकाड्जाले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ब्लेसिङ मुर्जाबानी र टेन्डाई चताराले समान एक एक विकेट लिए । नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *