अध्यक्ष नेपाललाई उपाध्यक्ष पाण्डेकाे चेतावनी– तपाईं बजेटको समर्थन गर्नुस्, हामी गर्दैनौँ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिएका छन् ।
आइतबार गाउँपालिका राष्ट्रिय महासङ्घले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरू त्यसमा समर्थन गर्न नसक्ने स्पष्ट पारे ।
उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने स्पष्ट पारे । उनले सांसद र मन्त्रीहरूले आफूलाई अस्थायी ठान्दा विकास निर्माणमा समस्या भइरहेको बताए ।
उनले भने ‘हामी सबै सांसद र मन्त्रीहरूले आफूलाई अस्थायी ठान्यौँ । बरु गाउँपालिका, नगरपालिकामा जित्ने साथीले ५ वर्षको लागि केही हुँदैन भनेर ढुक्क हुनुहुन्छ तर मन्त्रीहरू सबैले आफूलाई अस्थायी ठान्यौँ । हामीले जस मात्रै खोज्यौँ । राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजनालाई के गर्नुपर्छ भन्नेमा हाम्रो विचार भएन । यही वर्ष पनि सरकारले हामीसँग पैसा छैन, पुँजीगत खर्च कम छ, साथी हो तपाईँहरू चुप लाग्नुस्, राष्ट्रिय गौरवका आयोजनामा पैसा हाल्ने उत्तर दक्षिण जोड्ने केही महत्त्वपूर्ण आयोजनाहरुलदाई पैसा हाल्ने, राष्ट्रिय खानेपानी अयोजना, पुलहरूमा पैसा हाल्ने अरूमा पैसा प्रयोग नगर्ने भनेर सुरु गरेको भए हामीले दुई दिनमा संसदमा छलफल सक्दथ्यौँ । यही अवस्थामा यो बजेट पास हुँदैन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईँ एक्लै हाल्नुस्, हामी हाल्दैनौँ भनेको छु ।’
उपाध्यक्ष पाण्डेले केन्द्र सरकार राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएको भए बजेटमा यस किसिमका समस्या नै नआउने दाबी गरे ।








