गएरातीकाे बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

काठमाडौँ । पूर्वी नेपालमा गएराती आएको भीषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्याउदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै  भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराएका हुन् ।
‘ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा गएराति आएको ठूलो बाढी पहिरोले जनधनको क्षति भएको, केही व्यक्तिको ज्यान गएको र केही बेपत्ता भएका छन्’ उनले भने । ‘म ज्यान गुमाउनेप्रति म र सरकारका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’
मन्त्री ज्वालाले उद्धार र पीडितको राहत र सहयोगका लागि तीव्ररुपमा काम अघि बढाएको जानकारी दिए । ‘त्यस क्षेत्रमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी कर्मचारीहरू खोजी, उद्धार र राहतमा सक्रियताका साथ लाग्नुभएको छ ।’
मन्त्री ज्वालाले भने ‘ताप्लेजुङको हुवाखोलामा पुल बगाएपछि सो जिल्ला अन्य जिल्लासँगको पहुँच विच्छेद भएको छ । विद्युत् सम्पर्क पनि टुटेको छ । अरुण करिडोरमा पाँच सय मिटर सडक क्षति भएको छ’ उनले भने ।
मध्यपहाडी राजमार्गको पनि केही क्षेत्रमा क्षति पुगेको छ । सम्बन्धित कार्यालयमा कुरा गरी तत्काल बेलिब्रिज जडान गर्न उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको उनले जानकारी दिए । बेलिब्रिज जडान नभएसम्मका लागि सतहबाट नै डाइभर्सन बनाएर यातायात सञ्चालन गर्न लागिपरेको उनको भनाइ छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *