काठमाडौंमा ४ दिने कफी सम्मेलन तथा प्रदर्शनी २०८० शुरु

काठमाडौं । शनिवारबाट काठमाडौंमा ४ दिने कफी सम्मेलन तथा प्रदर्शनी २०८० शुरु भएको छ ।
काठमाडौंको नयाँ बजारमा नेपालमा पहिलो पटक ४ दिने कफी सम्मेलन तथा प्रदर्शनी २०८० शुरु भएको हो । मेलाले कफीको क्षेत्रमा लगानी कसरी भित्र्याउने र नेपाली कफी कसरी बिस्तार गर्ने गर्ने भन्नेबारेमा छलफल गर्नेछ ।
मेलाका क्रममा बोल्दै नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले आजबाट शुरु भएको कफी सम्मेलन नेपालमै पहिलो पटक भएको बताए । उनले सम्मेलनमा विभिन्न जिल्लामा उत्पादित कफीहरुको प्रतिष्पर्धा हुने र विजेता घोषणा गर्ने पनि बताए । साथै मेलामा कफीका बारेमा लगानी र बजार बिस्तारका बारेमा र नीतिगत छलफल हुने बताए ।
उनले भने, ‘आजबाट शुरु भएको पहिलो नेशनल कफी च्याम्पियन हो । यसको एग्जिबिशन पनि छ । यसमा देशका विभिन्न जिल्लामा उत्पादन भएका कफीहरु छन् । त्यसको एएटा च्याम्पियनसीप हो । र वारियस्ता च्याम्पियनसिप, कला देखाउने च्याम्पियनसिप पनि छ । यसले युवाहरुलाई यस क्षेत्रमा लाग्न प्रेरित गर्छ । यसले आन्तरिक बजारलाई प्रवद्र्धन गरेको छ । उत्पादनमा जोड दिन र उत्पादनमा रहेका कमजोरीलाई समाधान गर्न पनि छलफल गर्नेछौँ ।’
मेलाका क्रममा बोल्दै नेपाल कफी व्यवसायी महासंघको महासचिव सन्तोष पोखरेलले देशभरका कफी उत्पादकहरुलाई एकै ठाउँमा जम्मा गर्ने उद्देश्यले मेला सञ्चालन गरिएको बताए । उनले कफी मेलाले देशमा कफीको क्षेत्रमा रहेको समस्या समाधान र यसमा रहेका नीतिगत समस्याहरुको गाँठो फुकाउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘एक ठाउँमा ल्याउने गरी हामीले यो मेला आयोजना गरेका हौँ । लगानी कसरी भित्र्याउने, प्रविधिहरु कस्ता र कसरी भित्र्याउने भनेर आजबाट असार ५ गतेसम्म ४ दिनसम्म काठमाडौंको नयाँ बजारस्थित सासा बैंक्वेटमा सञ्चालनमा छ । तीन दिन नीति पैरवीको कार्यक्रम रहनेछ । नेपालका विभिन्न ३० लगभग जिल्लाबाट उत्पादित नमूना कफीलाई हामीले परीक्षण गरी त्यसको सर्वोत्कृष्ट कफी उत्पादन गर्ने जिल्ला घोषणा गर्दैछौँ ।’
मेलामा सहभागी व्यवसायी तथा कफी उत्पादकहरुले मेलाले आफ्ना ग्राहकहरुसमक्ष पुग्न सहज माध्यम बनेको बताए । उनीहरुले यस्ता सम्मेलनले उपभोक्तासम्म आफूलाई जोड्न र बजार व्यवस्थापनमा टेवा पुग्ने विश्वास आफ्नो रहेको बताए ।
आजबाट शुरु भएको मेला असार ५ गतेसम्म सञ्चालन हुनेछ । मेलामा देशभरबाट ३० वटा जिल्लाका कफी उत्पादकहरु सहभागी छन् । कफीको प्रवद्र्धनका लागि आयोजकले विभिन्न विधामा प्रतिष्पर्धा गराउने बताएको छ ।
प्रतिष्पर्धाबाट उत्कृष्ट चुनिएकाहरुले स्वदेशमा मात्र नभइ विदेशमा पनि आफ्नो कला प्रश्तुत गर्न मद्दत पुग्ने आयोजकको भनाइ छ ।








