गण्डकीमा ठेउलाको प्रकोप

पोखरा । गण्डकीमा लामो समयपछि ठेउलाको प्रकोप देखिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका, वालिङ र पुतलीबजार नगरपालिकाका ३ वटा विद्यालयका विद्यार्थीमा ठेउला प्रकोप देखिएपछि विद्यालय बन्द गरिएका छन् ।

यी विद्यालयका ५२ भन्दा बढी विद्यार्थीमा ठेउला पुष्टि भएको छ । कास्कीको लेखनाथ स्थित एक संस्थागत विद्यालयमा पनि २० भन्दा बढी विद्यार्थीमा ठेउला देखिएको छ । विद्यार्थीमा ठेउला देखिएपछि ४ वटै विद्यालय अहिले बन्द छन् ।

झण्डै डेढ दशकयता प्रकोपको रूपमा ठेउला देखिएको थिएन । जेठको दोस्रो सातादेखि गण्डकीमा ठेउला प्रकोप देखिएको हो । ठेउला भएपछि हुनसक्ने जटिलतालाई पूर्वानुमान गर्दै तयारी अवस्थामा रहेको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डा. विकास गौचनले बताए । ‘आज हामी बैठक बस्दैछौं । त्यसपछि नियन्त्रणका लागि के योजना बनाउने भन्ने निर्णय हुनेछ,’ उनले भने, ‘तत्कालका लागि बिरामी देखिएपछि आइसोलेट गर्ने नै बुद्धिमानी हुन्छ । त्यसबाहेक उपचारको प्रबन्धबारे पनि छलफल गर्छौँ ।’

सरुवा तथा सङ्क्रामक अस्पतालमा ठेउलाको उपचारका लागि ४ जना आएकामा १ जनालाई भर्ना गरेर राखिएको छ । स्याङ्जामा ठेउला हुनेहरूको रगतको नमुना प्रादेशिक प्रयोगशाला र राष्ट्रिय प्रयोगशालामा समेत पठाइएको छ । छोटो समयमा धेरै बिरामीहरू भेटिएपछि तीव्र फैलिन नदिन गण्डकी स्वास्थ्य मन्त्रालयले स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिसँग समन्वय गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *