पर्यटन बोर्डका कर्मचारीलाई कारबाही माग गर्दै पोखराका डेढ दर्जन संस्था प्रमुखले दिए उजुरी

पोखरा । नेपाल पर्यटन बोर्डको पोखरा कार्यालयका कर्मचारीले काम नगरेका भन्दै गण्डकीमा क्रियाशील डेढ दर्जन संस्थाका प्रमुखहरूले कारबाहीको माग गरेका छन् । बोर्डको केन्द्रीय कार्यालयमा उजुरी दिँदै उनीहरूले कर्मचारीहरूले पर्यटन विकासमा कुनै काम नगरेका र बोर्डलाई नै निष्क्रिय राखेको आरोप लगाएका छन् ।

कार्यालय प्रमुख काशीराज भण्डारी, कर्मचारीहरू नवीन पोखरेल र कुन्दन शर्मालाई तत्काल विभागीय कारबाही गरी नयाँ कर्मचारी पठाउन संघ संस्थाको माग छ । अधिकांश संघ संस्थालाई दिनुपर्ने रकम बोर्डले विना कारण रोकेर राखेको आरोप उनीहरूको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले नयाँ कर्मचारी पठाएर भुक्तानी बाँकी रकम निकासा दिनुपर्ने बताए । कर्मचारीले नियतवश बोर्डलाई निष्क्रिय बनाउन खोजेको, राज्यको सुविधा लिए पनि आफ्नो दायित्व पूरा नगरेको श्रेष्ठको आरोप छ ।

‘काम गर्नुस् भन्ने तर कार्यक्रम सम्पन्न भएपछि विभिन्न बाहनामा भुक्तानी नदिने र प्रक्रिया नै अगाडि बढाएको पाइएन,’ उनले भने, ‘यसमा कर्मचारीको बदनियत छ ।’ व्यवसायीको हितमा काम गर्न खोलिएको संस्थाले कसरी व्यवहार गर्ने र गरिएका कामका बारेमा समेत अख्तियारमा उजुरी हाल्छु भनेर धम्की दिने गरेको आरोप व्यवसायीको छ ।

कर्मचारीले बोर्ड सदस्य, कार्यकारी प्रमुखको बारेमा जथाभाबी गाली गर्ने र बोर्डले गरेको निर्णय गल्ती रहेको भन्दै जथाभाबी बोल्ने गरेको आरोप उनीहरूले लगाएका छन् । श्रेष्ठसँगै पोखरा उद्योग वाणिज्य संघ, होटल संघ पोखरा, रेवान पोखरा, टान, नाट्टालगायत १७ संस्थाले उजुरी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *